बेपत्ता नागरिकको खोजी र राहतका कार्यलाई तीव्र बनाइएको छ : मन्त्री ज्वाला
काठमाडौं : सरकारले पूर्वी नेपालमा आएको बाढी र पहिरोका कारण बेपत्ता नागरिकको खोजीका साथै राहतका कार्यलाई तीव्र रुपमा अघि बढाएको जनाएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको र केहिको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको भन्दै बेपत्ता नागरिकको खोजीका साथै राहतका कार्यलाई तीव्र रुपमा अघि बढाएको जानकारी दिए।
त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरु खोजी, उद्धार र राहतमा सक्रियताका साथ लागेको उनले बताए। उनले पाँचथर र ताप्लेजुङ जोड्ने पुल बगाएको, अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको, मेची राजमार्गको पाङ्गेभिरमा सडक अवरुद्ध भएको जानकारी दिए। बाढी र पहिरोका कारण अवरुद्ध सडकहरुलाई सूचारु गर्नका लागि प्रयास भइरहेको उनको भनाई छ।
मन्त्री ज्वालाले भिषण बाढी पहिरोले सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको प्रारम्भीक अनुमान रहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !