समाजवाद भित्र मोर्चा कि चरित्र ?
प्रधानमन्त्रीज्यू समाजवादी मोर्चा हैन, चरित्र निर्माणको मार्गचित्र बनाउनुहोस्।
देशको सर्वपक्षीय विकास र नागरिक जीवनलाई गुणस्तरीय बनाउने समाजवादी कार्ययोजनामा ठोस प्रष्टता र निश्चित योजनासमेत छैन। तसर्थ समाजवादी आचरण र कार्यसम्पादन चाहिँ आजको प्रधान आवश्यकता हो।
केही दिनदेखि सत्तासीन माओवादी केन्द्रलगायत एक, दुई साना कम्युनिस्ट पार्टीहरूसहितको समाजवादी मोर्चा निर्माणको भजन गाउनेहरू सक्रिय भएका छन्। वर्तमान प्रधानमन्त्रीसमेतले यसका लागि निकै ठूलो जोडबल लगाएको देखिन्छ। संसद्मा बलियो शक्तिको रूपमा रहन यस्तो मोर्चा निर्माणको प्रयास गरेको भनिन्छ। सबै वामशक्तिलाई एकताको सूत्रमा बाँध्ने भन्ने स्वप्नदर्शी भाषणहरू पनि सुनिने गर्छन्।
नेपालमा प्रजातन्त्रको अद्भुदयको समय २००७ सालको आसपास स्व.पुष्पलालको अगुवाइमा कम्युनिस्ट पार्टीको निर्माण भयो। तर विराट विरासत बन्नुसट्टा कम्युनिस्टहरूमा उराठ लाग्ने दलदलको कमजोर धरातलमात्र बन्यो। परिणाम आज मसाल, मार्सल, एकीकृत, विकेन्द्रित, क्यास, ड्यास, नेकपा, नेकपा डबल, एकीकृत समाजवादीजस्ता नाममा लगभग दुई दर्जन वाम पार्टी छन्। वामशक्तिहरूको अवस्था दिनदिनै दयनीय बन्दैछ। कम्युनिस्ट आन्दोलनलाई कुनै कालखण्ड सशक्त नेतृत्व गरेका बाबुराम भट्टराई, मोहन वैद्य, विप्लप, सीपी मैनाली, मोहनविक्रमजस्ता नेता दूर गुमराहमा देखिन्छन्। चोइटिएर तितरबितर छन्, कम्युनिस्टको नाममा विभिन्न खालका कचहरीहरूमा केन्द्रित छन्।
माओवादी पनि बहुदलीय राजनीतिमा पर्दापण भएपछि निरन्तर ओरालो यात्रा र लगभग अन्तिम उत्तराद्र्धमा छ। अर्को निर्वाचनमा माओवादीको अवस्था सायदै एकल संख्यामा सीमित रहने विश्लेषण आएका छन्। चोइटिएर बनेको पार्टीले नाम चाहिँ एकीकृत राखे पनि राष्ट्रिय पार्टीसमेत बन्न नसकेर शरमलाग्दो अवस्था छ नेपाली राजनीतिको मैदानमा। अर्को निर्वाचनमा यो दल पनि इतिहासका पुस्तकको फुटनोटमा सीमित नहोला भन्न सकिँदैन। आफूलाई ठूलो भन्ने कम्युनिस्ट पार्टी पनि लोकप्रियता निरन्तर गुमाउँदै छ। पहिलेभन्दा झन्डै १२ लाख बढी मतदान भएको अघिल्लो निर्वाचनमा उसले पाएको लोकप्रिय मत पहिलेभन्दा सात लाख कम छ।
लोपोन्मुख वामपार्टीका कथित कचहरीमा यस्ता मोर्चाको चर्चाले त्यसै पार्टीका नेता र कार्यकर्तालाई मनोवैज्ञानिक सन्तोष चाहिँ देला। तर समाजवादी मोर्चा नै बने वा नबने पनि नागरिकले केही तात्त्विक भिन्नता पाउने अवस्था हँुदैन। गुलाब नाम राख्दैमा गोबरमा सुवास आउँदैन। नाम समाजवादी राखे पनि यी नेताहरूको सोच, चरित्र र आचरणमा स्खलन भइसकेको छ। कार्य सम्पादन त झन् रुग्ण र दयनीय छ। समाजवादी भनिने अधिकांश नेताको जीवन तथा आचरण समाजवादी चरित्र अनुरूप छैन। सर्वहाराका नेता भएको भ्रम छरेर हिँड्नेलाई सर्वभोगी र विलासी जीवन प्रिय बन्दैछ।
बुर्जुवा शिक्षा भनेर अरूलाई विद्यालयबाट बाहिर निकालेर आफू चाहिँ निजी शिक्षाको व्यापारमा व्यस्त छन्। अत्तर छर्केर हिँड्ने, उच्च कोटीका विदेशी राजषी ढाँटको चौरासी व्यञ्जन उनीहरूको प्रमुख दिनचर्या बन्दैछ। गोडा भएका कम्युनिस्टहरूलाई घोडा चाहिँदैन भन्नेहरू महँगा गाडी र हेलिकप्टरमा सवार हुन्छन्। अधिकांश कम्युनिस्ट नेता व्यापारीभन्दा धनी छन्, रवाफिलो र भड्किलो जीवन शैली छ। अधिकांशमा आडम्बर, अहंकार, अनियन्त्रित दम्भ तथा अविवेकी आचरण चुलिँदो छ। सादा जीवन भन्ने कुरा त दस्तावेजमा लेख्नलाई मात्र बनाइएको हो। नेताहरू ‘लिडर’बाट ‘डिलर’मा परिणत भएका छन्। उनीहरू राजनीतिलाई व्यापार ठान्छन्, नाफामा तल्लीन छन्।
विपत्तमा परेकाहरूको खोज र उद्धारका लागि मुलुकभर ११ हजार ६ सय जनशक्ति परिचालन हुनेछन्।
कसैले उनीहरूको विरोध गरे विदेशी दलालको आरोप लाउँछन्। उपभोक्तावाद तथा क्रोनी क्यापिटलिज्मको विस्तारलाई सहज हुनेगरी नियम बनाउँछन्। साम्राज्यवादी आचरण देखाउँछन्, हरेकमा मुनाफा खोज्छन्। सबैको स्रोत र साधन आफ्ना लागि दोहन गर्न चाहन्छन्। परिवारवाद उनीहरूको अन्तिम ध्येय हुन्छ, उनीहरूले शोषक तथा सामन्ती भनेका राजा महाराजाहरूले त्यति राज्यको दोहन गरेनन् होला जति उनीहरू आफ्नो र परिवारका लागि गर्दैछन्। देश बनाउन होइन, आपूm बन्नुमात्र उनीहरूको ध्येय हुन्छ। आर्की ब्राउनको पुस्तक ‘द राइज एन्ड फल अफ कम्युनिज्म’ले समेत संसारभर कम्युनिस्टहरूको आचरण पतनउन्मुख भएको देखाउँछ। अहिलेका हाम्रा कम्युनिस्टहरूको सामाजिक जीवन आचरण कुनै पनि हिसाबले समाजवादी दर्शन तथा आदर्शसँग मिल्ने प्रकारको छैन। कार्यसम्पादन त झनै रुग्ण छ।
कम्युनिस्टहरू पटकपटक सरकारको नेतृत्व गर्दा वा सरकारको महत्त्वपूर्ण साझेदारीमा रहँदा पनि कार्यसम्पादनसमेत खासै उत्साहजनक थिएन। बलात्कार, हत्या तथा हिंसाजस्ता कुराहरू झन् बढिरहे। निर्मला बलात्कार काण्ड, सुन काण्ड, गुठी विधेयक काण्ड, रुकुम काण्ड, बालुवाटार जग्गा काण्ड, सेक्युरिटी मास प्रिन्टर काण्ड, स्वास्थ्य सामग्री खरिद काण्ड, अयोध्या काण्ड, बेसार पानी काण्ड आदिका तरंगहरू कम्युनिस्टहरूकै समयमा आए। ‘ओम्नी’ र ‘यती’ले दरैगरी कब्जा जमाएको देशलाई ‘बतास’ले त उडाउला नै जस्तो पनि देखियो। हरेक ठाउँमा सेटिङसहित साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर सार्वजनिक संस्थान, निगम, विश्वविद्यालय, न्यायलयलगायत अन्य संस्थाहरूमा आना कार्यकर्ता भर्ती गर्छन्।
हरेक ठेक्कापट्टामा कमिसन, हरेक नियुक्तिमा नजराना तथा घुस, अनि निर्णयमा नियोजित सिन्डिकेट स्थापित बनाइयो। मजदुर, किसान, पिछडिएका वर्ग, श्रमिकहरू भोटका लागिमात्र प्रयोग गरिए। अरूबेला त व्यापारी, करछली गर्ने उद्योगी, नजराना चढाउने कमिसनखोर, दलाल तथा समाजलाई तर्साउने डन, देश तथा नागरिकलाई ठग्ने ठेकेदार घरपेटी, सकेसम्म बाँकी समुदायको शोषण गर्ने खलनायकहरूसँग सत्सङ तथा दिव्य मिलनमा रमाए। आफैं नयाँ सामन्तसँगै शोषकको रूपमा उदाएका छन्। नागरिकका लागि सार्वजनिक सेवा प्रवाह र विकास निर्माण चाहिँ झनै खस्कँदो छ।
देशको सर्वपक्षीय विकास, आर्थिक उपार्जन, प्रभावकारी सेवा तथा नागरिक जीवनलाई गुणस्तरीय बनाउने समाजवादी कार्ययोजनामा ठोस प्रष्टता र निश्चित योजनासमेत छैन। तसर्थ समाजवादी आचरण र कार्यसम्पादन चाहिँ आजको प्रधान आवश्यकता हो। अहिलेकै चरित्र, आचरण तथा कार्यसम्पादनलाई कायम राखेर मोर्चाको निर्माण एक चिया गफभन्दा बढी केही सावित हुँदैन। प्रधानमन्त्रीज्यू समाजवादी मोर्चा हैन, चरित्र निर्माणको मार्गचित्र बनाउनुहोस्।