किसानको उत्पादन नगरपालिकाले खरिद बिक्री गर्दै

किसानको उत्पादन नगरपालिकाले खरिद बिक्री गर्दै

सिन्धुपाल्चोक : किसान दिलबाहादुर विकले बिहान सबेरै २ मुठा फर्सीको मुन्टा, ११ मुठा धनियाँ, ४ किलो फर्सी, १८ मुठा साग, साँढे २ किला काँक्रो बोकेर सदरमुकामको स्थानमा तरकारी संकलन केन्द्र आइपुगे। उनले ल्याएको तरकारी जोखियो, मुठा गनियो। बिक्री गरिएको तरकारीको दैनिक हिसाब खातामा हस्ताक्षर गरे र उनी घरतर्फ लागे।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ५ छेकाथोकका कृषक विक दैनिक आफूले उत्पादन गरेको तरकारी बोकेर बिहानै तरकारी संकलन केन्द्रमा बेच्न ल्याउँछन्। ‘पहिला पहिला बारीका उत्पादन गरेको तरकारी आफैंले प्रयोग गथ्यौं, बाँकी बसे छिमेकीलाई बाढिन्थ्यो’, कृषक विक भन्छन्– ‘नगरपालिकाले सञ्चालन गरेको तरकारी संकलन केन्द्रमा जे–जति उत्पादन भएको छ त्यो किन्न थालेपछि अहिले दिनको २ मुठा साग भएपनि ल्याएर बेच्ने गरेको छु।’

उनीजस्तै चौतारा साँगाचोकगढी नगरपालिका– ७ कल्लेरीकी सीता दुलाल पनि आफ्नो बारीमा उत्पादन भएको तरकारी संकलन केन्द्रमा बेच्न ल्याउँछिन्। ‘अहिले बारीमा गोलभेडा, भेडेखुर्सानी, सीमी फलिरहेका छन्’, उनले भनिन्- ‘संकलन केन्द्र सञ्चालन भएपछि तरकारी बारीमै कुहिएला भन्ने पीर छैन।’ २३ किलो भेडेखुर्सानी संकलन केन्द्रमा बेचेर फर्किएको उनले सुनाइन्।  

किसानहरूलाई प्रोत्साहित गर्दै उत्पादनमा बढोत्तरी गर्ने उद्देश्यले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरूद्वारा उत्पादित सामग्री खरिद गर्ने प्रबन्ध मिलाएपछि कृषकमा हौसला बढेको छ। कृषकहरूले उत्पादन गरेको जतिसुकै परिमाणको तरकारी पनि नगरपालिकाले खरिद गर्न सुरु गरेपछि कृषकहरू उत्साहित बनेका छन्। 

चौतारा साँगाचोकगढी नगरपालिका-५ चौतारा बजारको मूख्य स्थानमा तरकारी संकलन तथा चिस्यान केन्द्रको स्थापनासँगै नगरमार्फत किसानहरूसँग खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्धसमेत मिलाइएको छ। 

संकलन केन्द्रमा किसानहरूद्वारा उत्पादित गोलभेँडा, काँक्रो, साग, करेला सीमीजस्ता तरकारी दैनिक आउने गरेको तरकारी संकलन केन्द्र सञ्चालनको जिम्मेवारी पाएका व्यवसायी कृष्णबहादुर श्रेष्ठले बताए।

‘मौसमी उत्पादनको हिसाबले अहिले कृषकहरू बढी जस्तो गोलभेँडा बेच्च आउँछन्’, उनले भने– ‘दैनिक २ सय किलो गोलभेँडा संकलन हुँदै आएको छ।’ अन्य तरकारी पनि संकलन केन्द्रले दैनिक खरिद गरिरहेको उनले बताए। स्थानीय बजारमा खपत नभएको तरकारी चिस्यान केन्द्रमा राखिने र राजधानी काठमाडौंको बजारमा बिक्री गर्ने गरेको उनले बताए। ‘अहिले गोलभेडा काठमाडौंको कालिमाटीमा पठाइरहेका छौं’, उनले भने।

किसानले तरकारीको मूल्य भने बजार भाउ अनुसार नै पाउँछन्। त्यसका लागि बिक्रेता किसानको कुनै पनि बैंकमा अनिवार्य खाता सञ्चालन भएको हुनुपर्ने छ। किसानबाट खरिद गरेको तरकारी लगायतका उत्पादनको मूल्य हरेक १५ दिनमा किसानको खातामा नगरपालिकाले जम्मा गरिदिने छ।

किसानको भएभरको उत्पादन नगरमार्फत कृष्णबहादुर श्रेष्ठले खरिद गर्ने र बिक्री वितरण गरी किसानको खातामा नगरबाट प्राप्त अनुदानसहितको थप रकम पनि जम्मा गरिदिने जिम्मेवारी श्रेष्ठले निर्वाह गर्दै आएका छन्। यसबाट किसानले कुनै पनि उत्पादन बिक्री भएन भनेर फाल्नुपर्ने अवस्था नआउने नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताए।

किसानका सबै उत्पादन खरिद गरी स्थानीय बजारमा खपत नभए राजधानीसम्म लैजाने प्रबन्ध मिलाइएको नगर प्रमुख सापकोटाको भनाइ छ। त्यसका लागि चाँडै नै नगरपालिकाले कृषि एम्बुलेन्सको पनि प्रबन्ध मिलाउन लागेको नगर प्रमुख सापकोटाले जानकारी दिए।

संकलन केन्द्रलाई थप व्यवस्थित र किसानहरूको उत्पादनलाई भण्डारण गर्दै प्रोत्साहित गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ मा अर्को एक चिस्यान केन्द्रको पनि निर्माण हुँदैछ। 

नगरपालिकाको २ करोड र संघीय सरकारको ५० लाख अनुदानमा निर्माण हुँदै गरेको यो आयोजनालाई नगरले आफ्नो गौरवको आयोजनाको रुपमा लिइएको छ। निर्माणाधीन चिस्यान केन्द्र आगामी माघसम्म सम्पन्न हुने नगरपालिकाले जनाएको छ।

तरकारीमा नगरपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ संकलन केन्द्रको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी बताउँछन्। असार १ गतेबाट सुरु गरिएको संकलन केन्द्रमा दैनिक रूपमा तरकारी संकलनमा वृद्धि भइरहेको उनले बताए। ‘सुरुमा ४०/४५ किलो तरकारी संकलन भएको थियो, अहिले झण्डै १ सय किलोको हाराहारीमा तरकारी संकलन भइरहेको छ’, केसीले भने।

तरकारी संकलन केन्द्रमा कृषकले बिक्री गरेको मौसमी तथा बेमैसमी तरकारीहरूको परिमाणका आधारमा नगरपालिकाले वितरण गर्ने उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने नगरपालिकाले जनाएपछि कृषकहरू थप उत्साहित बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.