चट्याङ लागेर ३९ भेडा मरे
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ वटा भेडा मरेका छन्। अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्।
अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले शुक्रबार राति १ बजेतिर परेको चट्याङले लागेर ३९ वटा भेडा मरेका जानकारी दिए।
बिहानै कृषकले भेडा मरेको जानकारी गराएपछि जनप्रतिनिधि, दाना प्रहरी चौकीका प्रतिनिधि, प्राविधिक र स्थानीयवासी घटनास्थल गएका थिए। चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन्।
घटनास्थल पुगेका अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले चट्याङले लाखौको पशुधनको क्षति भएको बताए। ११ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !