अहिले पनि अधिकांश हिमाल, पहाड र तराईका नदी किनारमा धेरै बस्ती छन्। जुन अन्य बस्तीको तुलनामा अत्यन्त जोखिमपूर्ण हो।
भनाइ नै छ, ‘विपद् बाजा बजाएर आउँदैन।’ त्यसैले सधैं सजक हुनै पर्छ। तर, जतिबेला प्राकृतिक वा मानवीय विपद् आउँछ केही समय चर्चा हुन्छ। समस्या केलाइन्छ र सेलाएर जान्छ। अहिले वर्षाको समय छ, बाढी–पहिरोको जोखिम सबैतिर उत्तिकै छ। केही दिनयता मनसुन सक्रिय भएपछि कोसी पहाडी जिल्ला बाढी–पहिरोको चपेटामा परेको छ। दर्जनौंले ज्यान गुमाए केही बेपत्ता छन्। जनधनको क्षति बढ्दो छ। तर, यो समस्या नयाँ होइन। र, पनि तीनै तहका सरकारले क्षति र विपद् रोक्ने दूरगामी निर्णय गरेका छैनन्। जब बाढी–पहिरो जान्छ राहत र उद्धारमा मात्रै सक्रिय हुने चलन छ।
अहिले पनि अधिकांश हिमाल, पहाड र तराईका नदी किनारमा धेरै बस्ती छन्। जुन अन्य बस्तीको तुलनामा अत्यन्त जोखिमपूर्ण हो। नदी कटान हुँदा र माथिबाट पहिरो झर्दा सबैभन्दा बढी जोखिममा यिनै बस्ती पर्छन्। अनि, जनधनको क्षति पनि त्यहीँ हुन्छ। यसको दीर्घकालीन समाधान समयमा खोज्नुपर्छ।
कर्णालीको कटान, छैन दीर्घकालीन समाधान
कैलालीको टीकापुर नगरपालिका–८ का डंग्ला चौधरी वर्षा लागेपछि कर्णाली नदीको कटानबारे चिन्तित हुन्छन्। कर्णाली नदीले टीकापुर नगरपालिका–८ श्रीलंकामा रहेको आफ्नो उब्जाउ भूमि बर्सेनि कटान गर्न थालेपछि उनी चिन्तित बनेका हुन्।
टीकापुर नगरपालिका ५ पार्कपछाडि कर्णाली नदीले गरेको कटान। तस्बिर : परमानन्द पाण्डे
चौधरीको जमिन कर्णाली नदीले २०६० सालबाट कटान सुरु गरेको हो। त्यहाँका अधिकांश किसानहरूको जमिन कर्णाली नदीले कटान गर्न थालेपछि उनीहरू तटबन्धका लागि जिल्ला प्रशासन, प्रदेश सरकार र स्थानीय तह धेरैपटक धाए। पटक–पटकको संघर्षपछि यसै वर्षदेखि कर्णाली नदी नियन्त्रण आयोजनाले ठूला बोल्डर (ढुंगा) नदीमा खसाल्यो। कर्णाली र मोहना नदीको संगम स्थल रहेको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जग्गाहरू अधिकांश नदीले कटान गरेको छ। कर्णाली मावि सत्तीका शिक्षक भीमबहादुर महरले नदीले नेपालीको जमिन सबै कटान भइसकेको बताए।
केही वर्ष पहिलेसम्म स्थानीय दीपेन्द्र भण्डारी, खड्क साउद, कालु साउद, गोपाल साउद, बलबीरे टमट्टा, डंग्ला चौधरीसहित दर्जनौं किसानको सयौं बिघा जमिनमा कर्णाली बगिरहेको छ। ‘सत्ती कर्णाली सामुदायिक वन क्षेत्रदेखि वनगाउँसम्मको धेरै जमिन नदीले कटान गरिसकेको छ’, वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने। टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले कर्णाली नदीको कटान नियन्त्रणका लागि आयोजनाले तटबन्धको स्वरूप नै परिवर्तन गर्नुपर्ने जिकिर गरे।
तारजाली बर्सेनि बगाउँछ
वर्षायाम सुरु भएसँगै बूढीगंगा नदी आसपासका बस्ती र खेतीयोग्य जमिन उच्च जोखिममा परेका छन्। यसले बस्ती डुबानमा पार्नुका साथै खेतीयोग्य जमिन कटान गर्दै आएको छ। बाढीको क्षति संघ, प्रदेशका मन्त्रीहरूले अनुगमन गर्ने, आश्वासन र राहत बाँड्ने गरे पनि समस्या समाधानका लागि पूर्वतयारी भने गरेको देखिँदैन।
नदीले साँफेबगर आसपासका हालसम्म सयौं बिघा खेतीयोग्य जमिन कटान गरिसकेको छ। जालीमा ढुंगा भरेर हालिएका तटबन्ध बाढीले बर्सेनि बगाउने गरेको छ। जहाँ जोखिम छ, त्यहाँ तटबन्ध हँुदैन। बजेट सक्नका लागि सहज र पायक पर्ने तारजाली हालिन्छ। त्यही तारजाली पनि बाढीले बगाउँछ। २०४० सालदेखि नै खेतीयोग्य जमिन कटानको मारमा आफूहरू पर्दै आएको स्थानीय चक्र कुँवरले बताए।
साँफेबगर नगरपालिका नगर उपप्रमुख शिवबहादुर कुँवरले खेती योग्य जमिन, बस्तीसँगै नगरपालिकाको भवन, एयरपोर्ट नै अति जोखिममा रहेकाले यसलाई जोगाउनतर्फ हर सम्भव प्रयास गरिरहेको बताए।
तमोरको बाढीले खेतीयोग्य जमिन कटान
तमोर नदीमा बर्सेनि आउने बाढीले किनारमा रहेका खेतीयोग्य जमिन कटान गर्दै आइरहेको छ। धनकुटाको चौबिसे गाउँपालिकास्थित डिहिटार, भैंसेटार, फलामेटार, हंशमोरङ र सदमटार बर्सेनि बाढीको चपेटामा पर्दै आइरहेका छन्। भैंसेटारको कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत जमिन हालसम्म तमोर नदीले कटान गरिसकेको स्थानीय राजन माझीले बताए। उनका अनुसार १२ वर्षअघिदेखि नदीको बाढीले कटान गर्न थालेको हो।
गत २०७८ साल कात्तिकमा तमोर नदी र नावा खोलामा आएको बाढीले डिहिटारसहित दोभान क्षेत्रको उब्जाउ जमिनलाई बगरमा परिणत गरी दिएको थियो। दुई वर्ष बित्दा पनि अहिले उक्त क्षेत्र बगर नै रहेको छ। उक्त बाढीले ९ सय रोपनी क्षेत्रफललाई क्षति गरेको थियो। अहिले न खेत र नत बाली नै। त्यस क्षेत्रका स्थानीयले तटबन्ध रोक्न सरकारसँग माग गरे पनि कुनै सुनुवाइ भएको छैन।
तराईमा उस्तै त्रास
वर्षायाम सुरु हुनेबित्तिकै सर्लाहीको बागमती र लखनदेही नदी छेउछाउको बासिन्दामा त्रास छाउँछ। यी नदीले सर्लाहीका करिब दर्जनभन्दा बढी बस्तीलाई बर्सेनि दुःख दिँदै आएका छन्। वर्षायाममा कालो बादल देख्नेबित्तिकै डर लाग्ने गरेको चक्रघट्टा गाउँपालिका–१ शिवनगरका चन्द्रशेखर यादवले बताए।
गाउँको दुई तिरबाट नदीले घेरिएको कौडेना गाउँपालिका–७ शिवनगरका बासिन्दाले प्रत्येक वर्ष वर्षायाममा समस्या भोग्दै आएका छन्। नदी किनारमा रहेका ससना फुसको घरलाई कुन बेला बाढीले बगाउँछ, टुंगो नभएको स्थानीयले गुनासो पोखे।
बर्दियामा बाढीकै डर
बर्दियाको पूर्वमा बबई, पश्चिममा कर्णाली नदीले जताततै कटान गर्छ। वरिपरि कर्णाली नदीले घेरिएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बाढीका कारण ठूला–ठूला क्षति बेहोर्ने गरेका छन्। बबई नदीको तटबन्धको काम अधुरो हुँदा गुलरिया नगरपालिकाअन्तर्गत बालापुरलगायत लटकनियाका स्थानीय अझै बाढीको जोखिम मोल्न बाध्य छन्।
कर्णाली नदी तटीय राजापुर र गेरुवा क्षेत्र बर्सेनि बाढीको चपेटामा पर्दै आइरहेको राजापुर नगरपालिका निवासी स्थानीय शिक्षक छप्पुराम चौधरीले बताए। राजापुरको टिउनी, मुर्गहवा, दौलतपुर, तीघ्रा, चख्खापुर र सन्कट्टी बाढीको जोखिम क्षेत्र मानिन्छन्। सरकारले अलिअली नदी नियन्त्रणको प्रयास गरे पनि पूर्णनदी नियन्त्रण तथा समाधानका लागि दीर्घकालीन उपाय नअपनाएको चौधरीले प्रष्ट्याए।
राजापुर तथा गेरुवा क्षेत्रका बाढी आउने जोखिम क्षेत्रमा तटबन्धनको काम भइरहेको कर्णाली नदी व्यवस्थापन आयोजनाबाट भर्खर बबई सिँचाइ आयोजनामा सरुवा भएका आयोजना निर्देशक सुशील चन्द्र देवकोटाले बताए।
सप्तकोसी वितण्डा
३४ वर्षपछि अघिल्लो वर्ष सप्तकोसी पुरानै धारमा फर्किएपछि त्यस क्षेत्रका दुई हजार पाँच सय परिवारका झन्डै सात हजार परिवार तत्कालका लागि विस्थापित भए। पछि नदीको बहाव घटेपछि स्थानीय पुरानै बाँसस्थान फर्किए। र, घर फर्किएका उनीहरूलाई आशा थियो कि यसको दिगो समाधान हुन्छ भन्नेमा। तर, एक वर्ष बितिसक्दासमेत त्यसको समाधान हुन सकेन। बरु टालटुल गरेर बजेट सिध्याइयो।
त्यसो त कटान क्षेत्रका वासीलाई सान्त्वन्ना दिन तत्कालीन गृहमन्त्रीदेखि लिएर संघीय सांसद, मुख्यमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरू हुलका हुल गएर सहयोग गर्ने प्रतिबद्धता जनाए। तर, परिणाममा त्यस्तो देखिएन। समस्या उस्तै रह्यो। भरपर्दो तटबाँध नलगाउँदा पुनः सप्तकोसीले बेलका नगरपालिका–८ डुम्रिबोटको लाहुरखोंज नजिकबाट कटान सुरु गरेको छ। कटान नरोकिने हो भने वडा नम्बर १, २, ३, ८, ९ र सुनसरीको बरहा क्षेत्र नगरपालिका ६ र ९ का झन्डै ६ हजार सर्वसाधरण जोखिमा पर्न सक्ने स्थानीयको भनाइ छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक जनार्दन गौतमले बृहत् किसिमको बजेट ल्याएर तटबाँध नबाँध्ने हो भने दुई/चार करोडले केही हुने अवस्था नरहेको बताए। सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले कोसी बाँध भारतीय सम्झौतासँग पनि जोडिने भएकाले भारतसँग बसेर समाधान खोजिनु पर्ने जनाए।
नारायणीको जोखिममा नवलपरासी
पश्चिम नवलपरासीका दक्षिणभेगमा स्थानीयलाई यस वर्ष पनि डुबान र कटानको जोखिमले त्रास बढाएको छ। गण्डक सम्झौताअनुसार नारायणी नदी छेउमा भारतले ठोकर र बाँधसहितका संरचना निर्माण गरेको छ। संरचना जीर्ण भएका कारण दक्षिण भेगका सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाका करिब २० बढी गाउँ डुबान र कटानको जोखिममा पर्दै आएका हुन्। 
हरेक वर्ष भारतीय पक्षले संरचनाको मर्मत गर्ने भए पनि गुणस्तरहीन काम गर्दा गाउँ जोखिममा पर्ने गरेको स्थानीयको भनाइ छ। तीन वर्षअघि गण्डक बाँधका कारण गाउँ डुबानमा परेपछि स्थानीयले भारतीय नहर नै फुटाई दिएका थिए। अहिले पनि बाँधका कारण नारायणी नदीको सतह बढ्न गई जोखिम हुने भन्दै स्थानीय त्रासमा छन्।
यसवर्ष फेरि भारतीय पक्षले नारायणी नदी छेउमा निर्माण भएका ठोकर र बाँध मर्मत गरिरहेको छ। मर्मतका क्रममा आवश्यक पर्ने नदीजन्य पदार्थ नारायणी नदीबाटै निकालेकाले बस्ती जोखिममा पर्ने देखिएको छ। सुस्ता गाउँपालिकाले तोकिएको स्थानबाट नदीजन्य पदार्थ निकाल्न अनुमति दिए पनि उक्त क्षेत्रबाट नभई जोखिम क्षेत्रबाट जथाभावी निकाल्न थालेपछि थप क्षति हुने संभावना बढेको स्थानीयको भनाइ छ। सुस्ताका रामनरेश गुप्ताले भारतीय पक्षले जथाभावी नदीजन्य पदार्थ निकालेका कारण भएका संरचनामा क्षति पुग्ने र डुबान र कटानको जोखिम बढेको बताए।
भारतीय पक्षले अहिले सुस्ता गाउँपालिका–४ मा पर्ने ‘बी ग्याब’ को स्पर नं. ६ देखि १७ नम्बर सम्मको लिंक बाँध र स्परको मर्मत एवं निर्माण कार्य सुरु गरिएको छ। त्यस्तै वडा नम्बर ५ अन्तर्गत पर्ने स्पर नम्बर १ देखि ५ सम्मको लिंक बाँध र नेपाल बाँधमा रहेका बाँधको चौडा र स्परको मर्मत एवं निर्माण कार्य गरिरहेको छ।
- कर्णालीको कटान, छैन दीर्घकालीन समाधान
- बूढीगंगाले बर्सेनि बगाउँछ तारजाली, कटान तीव्र
- तमोरको बाढीले धनकुटामा मास्दै खेतीयोग्य जमिन
- सर्लाहीको बागमती र लखनदेही नदी छेउछाउको बासिन्दामा बर्खामा त्रास
- बर्दियाको पूर्वमा बबई र पश्चिममा कर्णाली नदीले जताततै कटान
- सप्तकोसी वितण्डा सधैं उस्तै
- नारायणीको जोखिममा नवलपरासी
- सुनसरीमा बाढीले सधंै क्षति, छैन उच्च सर्तकता
- केशलिया र सिंघियाको जोखिममा विराटनगर
- विपद्बाट बागमतीमा १४७ को मृत्यु
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले आईईई गरेको स्थान (वडा नम्बर ५ को क्षेत्र)बाट निकाल्न अनुमति दिए पनि अन्यत्र निकालि दिँदा समस्या भएको बताए। यसैबीच यसवर्ष वर्षायामबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी थालेको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश अर्यालले जानकारी दिए।
बूढीगंगाको कटानले दर्जनौं बस्ती जोखिममा
बूढीगंगा नगरपालिका–१ अमकोटका स्थानीय ५ वर्षयता वर्षात् सुरु भएपछि कहिलै सुत्न पाउँदैनन्। त्रिवेणी नगरपालिका–९ पैमाको पहिरोले बूढीगंगा नदीलाई बूढीगंगा नगरपालिका तीर धकेलेपछि अमकोट गाउँ पूरै पहिरोको जोखिममा रहेको छ। बूढीगंगा नदीको प्रेसरले पहिरो अमकोट गाउँनजिकै पुगेपछि अमकोटका १ सय ३५ बढी परिवार पहिरोको उच्च जोखिममा रहेका बूढीगंगा नगरपालिका–१ का वडा अध्यक्ष रणबहादुर थापाले बताए।
पहिरोले साँफे मार्तडी सडक भासिँदै गएको छ। ‘खेतीयोग्य जमिन त पूरै सडकले काटेर सुकुमबासी भयौं, अब घरहरू सबै पहिरोले लग्ने भयो’, स्थानीय हिरा पाध्यायले बताए। अमकोट गाउँ नै पहिरोको उच्च जोखिममा रहेको विषय जिल्ला दैविकप्रकोप उद्धार समितिलाई ५ वर्षदेखि जानकारी गराउँदै आए पनि सुनुवाइ नगरेको बूढीगंगा नगरपालिका–२ का वडा अध्यक्ष पदम भण्डारीले बताए।
बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले तत्काल जे समस्या आउँछ, त्यसैगरी समस्या समाधानको तयारीमा जुटेको बताए। नदीले खेतीयोग्य जमिन र बाजुरा र अछाम जिल्लाका दर्जनौं बस्ती जोखिममा हँुदा पनि संघ र प्रदेश सरकारले यसबारे चासो नदिएको स्थानीय बताउँछन्।
सुनसरीमा छैन उच्च सर्तकता
बाढी–पहिरो र डुवानबाट सर्वसाधारणको जिउधनको सुरक्षामा स्थानीय सरकार र प्रशासनले उच्च सर्तकता नअपनाउँदा स्थानीय बासिन्दा सधैं त्रासमा बस्न बाध्य हुनु परेको सप्तकोसी बाढीपीडित संर्घष समितिका सचिव बाबुराम कार्कीले बताए। उनले सप्तकोसी नदीमा पानीको बहाव उच्च हुँदासमेत कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण यस क्षेत्रका बासिन्दा त्रसित हुनु परेको बताए। सप्तकोसी ब्यारेजका ढोका भारत अनुकूल खोल्ने गरेका कारण कोसीको बाढीले स्थानीयको घरजग्गा बगाउने गरेको छ।
त्यस्तै धरानका सेउती, सर्दु, इटहरीको बढीखोला र इनरुवाको सुनसरी खोलामा आएको बाढी बस्तीमा पस्ने गरेको छ। जसका कारण बर्सेनि हजारौं घर परिवार डुवानमा पर्ने गरेका छन्। धरान ४, ५ र २० मा पहिरोले सडक अबरुद्ध पार्ने गरेको छ। बाढीबाट विस्थापित भएकाको जिउधनको सुरक्षामा सरकार गम्भीर नबनेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँले बताए। सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बाढी जुनसुकै बेला मानव बस्तीमा पसेर क्षति गर्न सक्ने भएकाले यस क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको बताएका छन्।
केशलिया र सिंघियाको जोखिममा विराटनगर
विराटनगर महानगरपालिका क्षेत्र केशलिया (बूढी) र सिंघिया खोलाका कारण ठूलो जोखिममा छ। विराटनगरमा यिनै २ वटा खोलाका कारण बर्सेनि डुबान, कटान र भू–क्षयको समस्या निम्तिने गरेको छ। डुबानको प्रमुख कारक हो केशलिया र सिंघिया खोला। अव्यवस्थित बसोबास, निकासको अभाव, ढल तथा नाला निर्माणमा गरिएको बेवास्ता त छँदै छन्। यी खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीमा पस्दा विगतमा ठूलै क्षति बेहोर्नु परेको थियो। बाढीले दर्जनौं परिवारको उठिबास बनायो।
केशलिया र सिंघिया विराटनगरलाई २ तिरबाट घेरेर बग्ने खोला हुन्। जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य समिति मोरङले विराटनगरको प्रमुख जोखिमका रूपमा यी खोलालाई सूचीकृत गरेको छ। सम्भाव्य प्रकोप आंकलन तथा सम्भावित प्रभाव क्षेत्रको नक्सांकनले विराटनगरका १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १९ र १९ नम्बर वडाहरूलाई डुबानबाट सबैभन्दा प्रभावित र जोखिम क्षेत्र मानेको छ।
विराटनगर महानगरका प्रवक्ता सन्तोष न्यौपानेले डुवानबाट बस्तीलाई बचाउन सरसफाइ गरेर ढल तथा नालाहरू ‘क्लियर’ गर्ने काम भइरहेको बताए। उनका अनुसार केशलिया खोलामा तटबन्ध निर्माणका लागि संघीय सरकारले ६८ करोड छुट्याएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्पर्क व्यक्ति परमेश्वर भट्टराईका अनुसार बाढीबाट प्रभावित हुने परिवारलाई तत्कालका लागि अल्पकालीन आश्रयस्थलका रूपमा विभिन्न स्थान तोकिएको छ। मनसुनजन्य विपद्बाट नागरिकको सुरक्षाका लागि पूर्वतयारीको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ। विराटनगरमा ४ हजार ३ सय ५० बढी घर परिवार बाढी र डुबानको जोखिममा रहेको तथ्यांक छ।
आश्वासन मात्रै
पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रको भ्रमण गर्दै मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताए। उनले बाढीले मेलम्ची आसपासका चार सय घर नष्ट भएको र ती क्षेत्रका स्थानीयको भोग्नु परेको समस्यालाई सरकारले सम्बोधन गर्ने आश्वासन दिए।
तर, स्थानीयले भने सरकारको आश्वासनलाई विश्वास गर्न छाडेको छ। बाढीले घरखेत बगाएपछि बेसहारा बनेकी हेलम्बु–२ गणेशेबगरका गोरी तामाङ सरकारले आश्वासन मात्रै दिने गरेको बताउँछिन्। ‘पोहोर पनि सरकारले घर बनाइदिने भनेको थियो’, उनले भनिन्, ‘खै अझै बनेको छैन, हामीले सास्ती खेपिरहनु परेको छ। सरकारले गर्छ कि भन्ने आस मरिसक्यो।’
गत साल केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारविहीनलाई पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ। सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष संकटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो। बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम हुन सकेको छैन।
विपद्बाट बागमतीमा १४७ को मृत्यु
प्राकृतिक विपद्बाट बागमती प्रदेशको १० जिल्लामा तीन आर्थिक वर्षमा १ सय ४७ को ज्यान गएको छ। चालू आर्थिक वर्ष २०७९/८० को असार पहिलो सातासम्म प्राकृतिक विपद्बाट २२ जना, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २६ र २०७७/७८ मा ९९ जनाको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बागमती प्रदेशमा आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० को हालसम्मको अवधिमा बिभिन्न प्राकृतिक बिपत्तिबाट १ सय ३६ जना घाइते र ५२ जना बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक रेग्मीले बताए। यस अवधिमा तीन हजार ६२ परिवार पीडित भएका छन्। तीन आर्थिक वर्षको बीचमा १ अर्ब ५५ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेश सरकारको तथ्यांक छ।
बागमती प्रदेशको १० जिल्लामा बाढीबाट २ सय ५६, डुबानबाट ५६, कटानबाट ७४ र पहिरोबाट ४ सय ६० स्थान जोखिमयुक्त रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यो वर्ष क्षति न्यूनीकरण र पूर्वतयारीका लागि भन्दै बागमती प्रदेश सरकारले विपद्को उच्च जोखिम रहेको १० जिल्लाका १० स्थानीय तहलाई १ करोड रुपैयाँ पठाएको छ। तर, विपद् न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि उक्त रकम पर्याप्त छैन। ‘हामीले १० जिल्लाको १० स्थानीय तहलाई रकम पठाएका छौं, साथै आवश्यकता र मागका आधारमा विपद् उद्धार सामग्रीहरू पनि पठाइरहेका छौं’, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख रविता कार्कीले भनिन्।
विपद् उद्धार तथा व्यवस्थापनका लागि प्रदेशभरका कबिर एक हजार प्रहरीलाई चौबिसै घण्टा उच्च सतकर्ता र तयारी अवस्थामा राखिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कृष्ण सारु मगर/हेटौंडा, किशोर बुढाथोकी/विराटनगर , भरत खड्का/उदयपुर, हरि शर्मा/परासी, रत्नप्रसाद आचार्य/धरान, हरिबहादुर लम्जेल/धनकुटा , परमानन्द पाण्डे/टीकापुर, गीता कुँवर/अछाम, सुनील ठाकुर/मलंगवा, यादव आचार्य/गुलरिया , पदमबहादुर सिंह/बाजुरा , सुन्दर शिरीष/सिन्धुपाल्चोक
प्रतिक्रिया दिनुहोस !