धमाधम निर्माण हुँदै त्रिदेशिय मार्ग
नुवाकोट : नेपाललाई भारत र चीनसँग जोड्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडकको निर्माण कार्य भइरहेको छ। सडक निर्माणका लागि आठौं पटक थपिएको म्यादसमेत २०८० साल असार २५ गते सकिँदैछ। फेरी म्याद थपेर निर्माण कार्य गर्नुपर्ने अवस्था रहेको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नै सडक मार्ग स्तरोन्नती गर्ने नीति अनुसार त्रिदेशीय सडकमार्गको अवधारणा अनुसार विकास र विस्तार भइरहेको छ। पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको विदुर हुँदै रसुवाको वेत्रावति–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी मार्गसम्म जोड्ने सरकारी योजना अनुसार दुई लेनको पक्कि मोटरबाटो निर्माण भइरहेको छ।
हाल विदुर–वेत्रावति सडकखण्डको बीचमा रहेको तिरतिरे भीरको माटो तथा पहिरो सफाई गर्ने कार्य भइरहेको छ। विदुर नगरपालिका- १० मा रहेको तिरतिरे भीरमा स्काभेटरलगायतका आवस्यक उपकरणमार्फत भीर सफाई गर्ने कार्य भइरहेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक योजना प्रमुख ध्रुवकुमार श्रेष्ठको भनाई छ। उनका अनुसार हाल यस सडक अन्तर्गत रहेको विभिन्न स्थानमा सडक निर्माण तथा विस्तार कार्य भइरहेको छ। सो सडकमार्गको काम हाल ५० प्रतिशतभन्दा धेरै निर्माण कार्य सकिएको छ। 
रसुवागढी हुँदै केरुङ जोड्नका लागि गत आ.व २०७२/०७३ देखि निर्माण सुरु भएको सो गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक ८२ किलोमिटर दुरीको निर्माण भइरहेको छ। जसमध्ये नेपाल सरकारले ६५ किलोमिटर र चीन सरकारको अनुदानमा १७ किलोमिटर निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए। उनका अनुसार सो सडकको हालसम्म ३५ किलोमिटर कालोपत्रे गरिसकिएको र हाल सडक चौडा, देवा पर्खाल निर्माण र नाली निर्माणको कार्य भइरहेको छ। कुल १५ अर्ब ५० करोड रुपैयाँ लागत रहेको सो सडक आयोजनामा हालसम्म आठ अर्ब ७५ करोड रुपैयाँ खर्च भइसकेको छ।
हालसम्म तीन अर्ब २५ करोड मुआव्जा तथा क्षतिपूर्तिका लागि र सांढे पाँच अर्ब निर्माणको काममा खर्च भइसकेको छ। सडकमार्गको बीचमा ३२ वटा पुल निर्माण गर्नुपर्नेमा १३ वटा निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख श्रेष्ठले वताए। जसमध्ये पाँचवटा पुल निर्माणाधिन र चार वटा पुलको ठेक्का प्रक्रिया भइरहेको छ। सडकका लागि सातसय ६६ रोपनी जग्गा अधिग्रहण भइसकेको छ।
यस सडक डवल लेनको हुने र केन्द्रविन्दुबाट १५/१५ मिटर हुने आयोजना प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए। उनका अनुसार निर्माण गरिएको सडकमा ११ मिटर चौडाइमा कालोपत्रे र सात मिटरको अल्फाल्ट पिच गरिएको छ।
चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा आएसँगै कारोबारमा सहज भएको छ। मालबाहक कन्टेनर तथा साना सवारी साधन उक्त सडकखण्डबाट आवतजावत गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !