घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी

घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी

घ्याम्पाटार सामुदायिक स्वास्थ्य एकाइ प्रमुख तथा अहेव विनाकुमारी यादव उनको घरमा पुग्दा पेटीमा गुन्द्री ओछ्याएर सुतिरहेका थिए । मयलले कट्कटिएको वस्त्र र शरीरबाट दुर्गन्ध आइरहेको थियो । रोगले शिथिल भएको शरीर वरिपरि झिँगा भन्किरहेका थिए ।

सिन्धुली : उमेर ढल्कियो । तन्नेरी रसरङ सकियो । श्रीमान् १० वर्ष पहिल्यै बिते। सन्तान र आफन्तको साथ भएन । बुढ्यौलीले गलेको शरीर अनेक रोगले थलियो । यो वास्तविक भोगाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ की ९६ वर्षीया ठूलीमाया घिसिङको हो ।

घ्याम्पाटार सामुदायिक स्वास्थ्य एकाइ प्रमुख तथा अहेव विनाकुमारी यादव उनको घरमा पुग्दा पेटीमा गुन्द्री ओछ्याएर सुतिरहेका थिए । मयलले कट्कटिएको वस्त्र र शरीरबाट दुर्गन्ध आइरहेको थियो । रोगले शिथिल भएको शरीर वरिपरि झिँगा भन्किरहेका थिए । 

स्वास्थ्यकर्मी यादवले बिरामी ठूलीमायाको स्वास्थ्य जाँच गरिन्। उनलाई रोगले मात्रै होइन, भोकले पनि कमजोर बनाएको रहेको छ । सामान्य बिरामी र दीर्घरोगीहरुलाई खुवाउने औषधि तथा स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामग्री बोकेको झोलामा भोक मेटाउने औषधि थिएन । न त थियो, फेराइदिने सुकिलो लुगा । काइँयो खोजेर कपाल भने कोरिदिइन्। सफा भएर बस्न सुझाइन्। ज्वरो र पखालाले सिकिस्त भएकी ठूलीमायालाई औषधि दिएर उनी अरू घरका बिरामीको स्वास्थ्य जाँच तथा उपचारमा लागिन्। 

घिसिङ टोलकै असलीमाया मोक्तानको सासूआमा ६८ वर्षीया माया मोक्तानलाई बाहिर–भित्र गर्नसमेत समस्या छ । बिरामी परिरहने उनलाई उपचारका लागि कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेव पियारी मोक्तान आउँछिन्। । बेलाबेलामा फोन गरेर पनि उनको स्वास्थ्य अवस्था बुझ्ने गरेकी असलीमायाले सुनाइन्। उनले भनिन्, 'सासूआमा हिँड्डुल गर्न सक्नुहुन्न । बिरामी परिरहनु हुन्छ । नजिकै भनेको स्वास्थ्य एकाइ पुग्न पनि दुई घण्टा लाग्छ । सवारी साधनको सहज सुविधा नहुँदा डोकोमा बोकेर लैजाने गरेको थियौँ, अहिले त वडाले बेलाबेलामा स्वास्थकर्मी घरघरमै पठाउने वा फोन गरेर बिरामीको स्वास्थ्य अवस्था बुझ्न लगाउने गरेकाले सजिलो भएको छ ।'

घरभित्र–बाहिर गर्ने क्रममा लडेर ९२ वर्षीय बुद्धिमान मोक्तानको दाहिने आँखामा गहिरो चोट लाग्यो । त्यो बेला उनको सन्तान साथमा कोही थिएनन् । स्वास्थ्यकर्मी पियारी नै उनको सन्तान बनेर पुगिन्। घाउमा टाँका लगाइदिइन्। घाउ निको बनाउन मल्हम दिइन्। सरसफाइ राख्न र कुनै समस्या आए सम्पर्क गर्न भनेर उनी अरु बिरामीको सेवामा खटिइन्।

कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेव पियारीका अनुसार सुनकोशी गाउँपालिका–१ को वडा कार्यालयले हप्ताको एक पटक गाउँघर क्लिनिकअन्तर्गत टोलटोलमा प्राथमिक उपचार तथा सहायता कक्षा स्थापना गरेर सेवा प्रवाह गर्दै आएको थियो । सोही कार्यक्रमलाई थप प्रभावकारी बनाउन हप्ताको एक पटक घरघरमा पुगेर सेवा दिन थालिएको छ । गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला वा पुरुष र अपाङ्गता भएकाहरुलाई लक्षित गरेर घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्न थालिएको उनले बताइन्।  

'हामी घरघरमा पुगेपछि आवश्यकताअनुसार सबैले सेवा लिन्छन्। यो सेवाको विशेष लाभग्राही गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला वा एकल पुरुष र अपाङ्गता भएकाहरु नै छन्, उनीहरुको हकमा वडाको यो अभियान निकै प्रभावकारी देखिएको छ', उनले भनिन् । वडा कार्यालयभित्र स्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य एकाईमा गरी तीन अहेव र तीन अनमी कार्यरत छन् । घुम्ती शिविरमा उहाँहरु पालैपालो प्रत्यके शुक्रबार दुई-दुई जना बाँडिएर घरघरमा सेवा दिन जाने गरेका छन्। गत फागुनदेखि सुरु गरिएको यो सेवा हालसम्म दुई सय ९७ जना बिरामीले लिइसकेका छन् । 

स्थानीय तहको गत निर्वाचनमा वडाध्यक्षको पदका लागि मत माग्न घरदैलो गर्ने क्रममा विविध कारणले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका बिरामीहरु प्राथामिक उपचार पाउनबाट समेत वञ्चित भएका, सामान्य बिरामी हुँदा समयमै उपचार नपाएर ठूलो जोखिममा रहेका लगायतका समस्या बाक्लै देखेकाले सुनकोसी गाउँपालिकामै पहिलो पटक आफ्नो वडाले यस प्रकारको सेवा प्रवाहमा जोड दिएको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए। 

दक्ष चिकित्सक तथा गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव रहेको हाम्रो जस्तो क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुन सक्ने र क्षमताअनुसारको स्वास्थ्य सेवा सहज रुपमा प्रवाह गर्ने प्रयास भएको उनको भनाइ छ । वडा कार्यालयको पहल तथा प्रयासमा उपलब्ध भएको घुम्ती शिविर सेवाले वडाबासीमा स्थानीय सरकार र जनप्रतिनिधिप्रति सकारात्मक भावना जगाएको छ । 

वडावासी ठूलबहादुर मोक्तान स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य परिक्षण र औषधि वितरण गर्नुले स्थानीय सरकारप्रति भरोसा बढेको बताए।'आफैँ स्वास्थ्य संस्था धाउन नसक्ने दीर्घरोगी र असक्त नागरिकलाई सेवा दिन वडाले औषधिसहित स्वास्थ्यकर्मी घरघरै पठाउन थालेको कुराले खुशी लागेको छ’, उनले भने। सुनकोशी गाउँपालिकामा सात वटा वडा छन् । हप्ताको एक पटक अनिर्वाय घुम्ती शिविरमार्फत स्वास्थ्य सेवा प्रवाह गर्ने वडा नम्बर १ पहिलो वडा हो । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.