लुम्बिनीमा फेरियो दुई मन्त्रालयको नाम

दाङ : लुम्बिनी प्रदेश सरकारले दुई मत्रालयको नाम फेरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ।
त्यसै गरेर आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए। मन्त्रिपरिषद बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संशोधन गर्ने निर्णय गरेको छ।
बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीलाई २ सय बेडको अस्पताल बनाउने गरि कर्मचारी व्यवस्थापन (ओएनएम)को स्कृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिए।
त्यसै गरेर आर्थिक वर्ष २०७८-७९ को ससर्त अनुदानतर्फको दायित्व भुक्तानीको स्वीकृत गरेको छ।
त्यस्तै निर्देशनालयको व्यवस्थापनको लागि प्रदेश सरकारका विभिन्न मन्त्रालयअन्तर्गत रहेका निर्देशनालयको कार्यक्षेत्र, भूमिका, सेवाको प्रभावकारीता र आवश्यकताको अध्ययन गरी प्रभावकारी कार्य मपादन र कर्मचारीको वृति विकासको पक्षसमेत विश्लेषण गरी अध्ययन गर्न नेपाल सरकारका पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र त्यो समितिले एक महिनाभित्रमा अध्ययन प्रतिवेदन पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले बताए।
केही दिनअघि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मुत्यु भएका दुई जनालाई र बर्दियामा एक वर्षअघि गोली लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही एक-एक लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !
