सामुदायिक वनको आम्दानीले विकास निर्माण

सामुदायिक वनको आम्दानीले विकास निर्माण
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको शीतगंगा नगरपालिका– १३ को भंगाला गाउँमा सामुदायिक वनको आम्दानीबाट विकास निर्माणका कामहरू भएका छन्। विकट बस्ती भनेर चिनिने ३४ घर परिवार रहेको भंगाला गाउँमा धेरै विकास निर्माणका कामहरू सामुदायिक वनको आम्दानीबाट भएका हुन्। 

धिरीखोला सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट ‘गाउँमा पुग्ने मोटरबाटो, सिँचाइ योजना, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट विस्तार, विद्युत् विस्तारलगायतका कार्य भएका छन्,’ सामुदायिक वनका अध्यक्ष रेमकला गुरुङले बताइन्। 

सडक निर्माण गर्ने तथा मर्मत गर्ने कार्यमा झन्डै २० लाख रुपैयाँ खर्च भएको छ। गोरुसिंगे सन्धिखर्क सडकको डोहोटेबाट भंगाला गाउँमा जान सहज भएको छ। भंगाला गाउँको भित्री सडक पनि निर्माण तथा मर्मत भएका छन्। सामुदायिक वनका अध्यक्ष रेमकलाले भनिन्, ‘यो वर्ष २५ लाख र विगतका वर्षहरूमा गरी झन्डै ६० लाख रुपैयाँको लगानीमा भंगाला सिँचाइ योजना पूरा भएको छ। जसबाट ५५ बिघा खेतमा सिँचाइ सुविधा पुगेको छ।

सिँचाइले अन्नबाली मात्र हैन मौसमी तथा बेमौसमी तरकारी उत्पादन भएको छ।’ कपिलवस्तु जिल्लाबाट १८ लाख रुपैयाँ खर्च गरेर गाउँमा बिजुली बत्ती पनि बालिएको छ। गाउँ अहिले झिलिमिली भएकोे छ। गाउँमा रहेको बालुकण्ठ आधारभूत विद्यालयमा केही वर्षअघि १२ लाख रुपैयाँको लागतमा पाँच कोठे भवन निर्माण पनि सामुदायिक वनको आम्दानीबाट गरिएको सामुदायिक वनको पूर्वअध्यक्ष नारायण पौडेलले बताए। यसअघि विद्यालय भवनको अभावमा पठनपाठन प्रभावित भएको थियो। 

‘खानेपानी मर्मतमा वार्षिक ३० हजार रुपैयाँ खर्च हुन्छ। गाउँमा भगवती मन्दिर ७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ। गाउँमा चाहिने विकासका कामका लागि राज्यका कुनै सरकारको मुख ताक्नु पर्दैन सामुदायिक वनहरू सक्षम भएको खण्डमा गर्न सकिन्छ भन्ने उदाहरण यस वनले प्रस्तुत गरेको छ,’ पूर्वअध्यक्ष पौडेलको भनाइ छ। 

उपभोक्ताको आयआर्जन बढाउनका लागि तरकारी खेती गर्ने, गाईभैंसी पालन गर्ने, बाख्रापालन गर्ने, बुंगुरपालन गर्ने कृषकलाई वार्षिक ३ प्रतिशत ब्याजदरमा ऋण लगानी पनि गरिएको सामुदायिक वनका कार्यालय व्यवस्थापक गुणनिधि भुसालले बताए। ‘भैंसीपालनका लागि १६, बाख्रापालनका लागि १३, कुखुरापालनका लागि ५ र बंगुरपालनमा ३ जनाले वार्षिक ३ प्रतिशत ब्याजदरमा ऋण पाएका छन्।’ भैंसीपालनका लागि वार्षिक ३ प्रतिशत ब्याजदरमा ७० हजार रुपैयाँ ऋण लिएको उपभोक्ता तथा कृषक बसन्तप्रसाद भुसालले बताए।

उनले भने— ‘भैंसीपालन गरेर दूध बिक्री गरेर आम्दानी गरिरहेको छु।’ कृषि तथा पशुपालन गर्ने उपभोक्ताहरूको हितका लागि उनीहरूको मागका आधारमा हातेट्याक्टर वितरण, घाँस काट्नको लागि चाप कटहर वितरण गरेको छ। बिउको लागि बोका पनि वितरण गरेको छ। 

रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकाहरू सात जना गाउँमा फर्किएर स्वरोजगारका काम गरिरहेका छन्। विदेशबाट फर्किएका दुई जनालाई अटो रिक्सा खरिदका लागि निब्र्याजी ऋण पनि प्रदान गरिएको छ। साउदी अरबबाट फर्किएका विष्णु घम र भारतको दिल्लीमा रोजगारी गरेर फर्किएका दिलीप घमलाई ब्याज मिनाहा गरी ३ लाख रुपैयाँका दरले कर्जा प्रदान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.