वन्यजन्तुबाट बालीनाली जोगाउन तारबार
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११ ले जंगली जनावरबाट बालीनाली जोगाउन तारबार लगाउन सुरु गरेको छ।
वडाभित्र पर्ने जंगल छेउका बस्तीहरूमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले दुःख दिन थालेपछि वडाले बस्ती तथा खेतबारीको छेउमा तारबार लगाउन थालेको हो।
जंगल छेउमा रहेका बस्तीका किसानले जंगली जनावरको आतंकका कारण अन्नपात जोगाउन दिन–रात रखबारी गर्नुपर्ने बाध्यता छ। किसानको बाध्यता बुझेपछि वडाले यो वर्ष परीक्षणका रूपमा तारबार सुरु गरेको वडा अध्यक्ष रोशन गिरीले बताए।
‘जंगल छेउका बासिन्दाले रातभर टिन ठटाएर जनावर लखेटेको सुनेको थिए, खेतीपाती लगाएको बेला बिहान सबेरैदेखि बेलुका अबेरसम्म कुरुवा बस्नुपर्छ, जनप्रतिनिधि भएपछि सहजीकरणको प्रयास गरिएको छ’ उनले भने।
गिरीका अनुसार वडाले नगरपालिकासँगको समन्वयमा ७ लाख रुपैयाँ खर्चिएर ४ टन जेआई र काँडेतार किनेर तारबार गरिएको हो। ‘तार किनेर ल्यायौं, बस्तीहरूमा वितरण गर्यौं, स्थानीयले उत्साहका साथ तारबार लगाएका छन्’, वडाध्यक्ष गिरीले भने, ‘यस वर्ष लगाइएको छेकबारको कामले जंगली जनावर खेतबारीमा आउन रोकिए अर्को वर्षपनि यसलाई निरन्तरता दिइनेछ।’
विशेषगरी जंगलसँग जोडिएका बस्तीहरू बढी पीडित भएकाले वडाका डुम्रे, गैराथोक, पोखरे, कटुन्जेपानी, पौवाथोक, बिर्ताथोकमा तारबार गर्ने कार्य थालनी गरिएको वडा अध्यक्ष गिरीले बताए।
कतिपय बस्तीहरूमा तारबारको काम सम्पन्न भएपनि कतिपय गाउँहरूमा जारी छ। कार्य सम्पन्न भएका बस्तीहरूमा भने यो उपाय प्रभावकारी रहेको खबर पाएको अध्यक्ष गिरीले जानकारी दिए।
‘सानो अवरोध भयो यो भने जंगली जनावर खेतबारीमा नआउने रहेछ, सजिलो ठाउँ खोज्ने रहेछ,’ उनले भने, ‘त्यसैले हामी त्यसलाई प्रारम्भिक अवरोध खडा गरिदिएका छौं। जसका कारण जंगली जनावर बालीनाली भित्र पस्न पाउँदैन।’
बालीनाली कुर्न रातभर ढ्याङ्ग्रो ठटाएर बस्ने किसानहरूको पीडालाई कम गर्न कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष गिरीको भनाइ छ।
जंगलबाट खेतबारी तथा गाउँ छिर्ने सिमानामा काठ गाडेर तीन तहमा तारबार गरिएको स्थानीय विष्णु पराजुलीले बताए।
गाडिएको काठका खम्बाहरूमा तीन तहको तारमा बाँधिएका छन्। जसमा तलको र माथिको दुईवटा सामान्य बीचमा काँडेतार राखिएको उनले बताए। तारबारले बँदेल र मृग खेतबारीमा नपस्ने पराजुलीको विश्वास छ।
प्रतिक्रिया दिनुहोस !