घ्वाँइकासामा तेजेश्वरबाबु
बाल्यकालमा खेल्ने यस्ता खेल थुप्रै थिए। हामी घ्वाँइकासा पनि खेल्थ्यौं। यो खेलमा कुनै पनि ढुंगालाई चक्का बनाइन्थ्यो। कहिले झिँगटीको पनि चक्का बनाउँथ्यौं। भुइँको माटोमा धर्सो तानेर कोठाकोठा बनाउँथ्यौँ र खेल्थ्यौं।
समय बदलिन्छ। समयसँगै उमेर पनि। समय र मानव जीवन एकअर्कामा परिपूरक। परिपूरक भएर पनि फरक। युग बदलिन्छ। विगत केवल सम्झनलायक स्मृति बनिदिन्छ। यो एउटा बाल्यकाल हो, ८९ वर्षीय संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगःको। जब बाल्यकालका कुरा आउँछन्। तब सबै मानिस स्मृतिपथको आकाशमा सयर गर्न मन पराउँछन्। हरेक मानिसको जीवनमा बाल्यकाल स्वर्णकाल बनेर व्यतित भएको हुन्छ। उहाँको बाल्यकालको खेल जीवन उहाँकै शब्दमा:
बाल्यकालमा खेलिने खेलहरू सम्झिँदा अहिले पनि मन फुरुंग हुन्छ। त्यतिबेला खेल खेल्दा बाल वा बालिका दुवैले एउटै खेल खेल्ने गरिन्थ्यो। खेलमा कुनै विभेद थिएन। सबैजना मिलेर खेल खेलिन्थ्यो। खेल खेल्ने साथीमा मामाको छोरा भाइ रणप्रताप मल्ल, गोविन्द मल्ल, बहिनी आनन्दलक्ष्मी, पद्मलक्ष्मी, रामेश्वरी, कृष्णश्वरी, भुवनेश्वरी मल्ललगायत थिए। अन्य साथी पनि थिए। किसान भनिने साथीहरू रामदास र गणेशबहादुर एकदमै मिल्ने थिए। खेल खेल्दा चोयाकासा नामको खेल खेल्थ्यौं। जुन खेलमा त्यतिबेला खरीले धर्को तान्थ्यौं र त्यसलाई परालले छोप्ने गथ्र्यौं। परालले छोपिएका ती धर्साहरू खेलमा सहभागी हुने अन्य साथीले खोजेर पत्ता लगाउनु पर्दथ्यो।
खेलमा सहभागी कुनै साथीले धर्र्सा भेटिएमा त्यसलाई काटिन्थ्यो। जसको बढी धर्सा काटिन्थ्यो, उसले हारेको ठहर हुन्थ्यो। जसको थोरै धर्सा काटिन्थ्यो, उसको जित पक्का हुन्थ्यो। जुन खेल मेरो बाल्यकालीन समयमा लोकप्रिय थियो। धेरै खेलिने खेल थियो चोयाकासा। खेल खेल्दा निकै रमाइलो हुन्थ्यो। अर्को खेल प्वाँइपाँइचा थियो। त्यो कौडाजस्तै खेल थियो। त्यो खेल खेल्दा हाँडी लिने गरिन्थ्यो। हाँडीमा कतै कालो, कतै पहेंलो, कतै रातो, रङ दलेर वा घोटेर चक्काचक्का देखिने बनाइन्थ्यो। हाँडीमा चक्का बनाउँदा कुनै चारकुने, कुनै बुट्टा हालेर ताराजस्तै बनाउँथ्यौं। आआफ्नो इच्छाअनुसारको चक्का बनाइन्थ्यो। त्यसपछि दुईजना दुईतिर बसेर कौडा खेल खेलेजस्तै खेल्ने गरिन्थ्यो। यी खेलमा पनि हामी बाजी राखेर खेल्थ्यौं। बाजीमा कहिले पैसा त कहिले जिन्सी राख्थ्यौं।
बाल्यकालमा खेल्ने यस्ता खेल थुप्रै थिए। हामी घ्वाँइकासा पनि खेल्थ्यौं। यो खेलमा कुनै पनि ढुंगालाई चक्का बनाइन्थ्यो। कहिले झिँगटीको पनि चक्का बनाउँथ्यौं। भुइँको माटोमा धर्सो तानेर कोठाकोठा बनाउँथ्यौँ र, बनाइएका कोठामा उफ्रिँदै खेल्थ्यौं। अर्को खेल भनेको तेलकासा हो। हामी तेलकासा खेल खुब खेल्थ्यौं। त्यस्तै रमाइलो खेल जातिंकुल्ल खेल थियो। जातिंकुल्ल भन्नाले खाना पकाउँदा भातको माड तर्काउने विधि हो। अहिले त प्रेसरकुकर र राइसकुकरमा खाना पकाइने हुनाले नयाँ पुस्तालाई भातको माड तर्काउनुपर्ने झन्झट नै छैन। हाम्रो जमानामा कसौंडी वा डेक्चीमा खाना पकाएपछि चामल उम्लन थालेपछि भातको माड तर्काएर निकालिन्थ्यो। सोही स्वरूपमा खेलिने खेललाई नै नेपाल भाषामा जातिंकुल्ल भनिन्थ्यो।
यसरी भातको माड तर्काउने विधिलाई पनि खेल बनाएर खेल्थ्यौं हामी। साथीहरू चुलोमाथि बसालिएको भातको भाँडो जस्तै गरी अग्लो स्थानमा बस्थे। एक जनाले भातको माड तर्काए जस्तै उनको ढाड र शरीरमा समाएर भाँडा ढल्काए जस्तै ढल्काइन्थ्यो। अर्कोले होचो ठाउँमा बसेर माड थापिन्थ्यो। यसरी भातको माड तर्काए जसरी आफूतिर अग्लो स्थानमा राखिएका साथीलाई ढल्काएर जातिंकुल्ल खेल खेल्ने गथ्र्यौं। अझ यसलाई भन्नुपर्दा जातिं भनेको नेपाल भाषामा भातको माड हो। कुल्ल भनेको भातको माड भाँडामा तर्काउँदा आउने आवाज हो। यसरी हामीले भातको माड तर्काएको देखेरै जातिंकुल्ल खेल बनाएर खेलेका थियौं।
परम्परागत जमाना थियो। तैपनि हामी विज्ञानमूलक खेलहरू खेल्थ्यौं। विज्ञानमूलक खेल भन्नाले हामीले कोइला पिसेर त्यसको धुलोमा पोलेको इँटा खुर्काएर मिसाउँथ्यौं। त्यसरी निकालिएको इँटाको धुलोमा पोटासियम सोडियम हुन्थ्यो। कपासको ससानो धागोमा दल्थ्यौं। बाँकी धुलो पोको पारेर धागो बालिदिन्थ्यौं। धागोमा आगो लगाएपछि आगो पोको पारेको बारुद बनेको धुलोमा पुग्दा त्यसले बडो रमाइलो प्रकाश फाल्थ्यो। हामी त्यो हेरेर रमाउँथ्यौं। आजकल तिहारमा झिर्रझिरे बालेको जस्तै, झिर्रर्रर्र बल्थ्यो। यसरी त्यति बेला नै विज्ञानसँग जोडिएका यस्ता खेल पनि खेल्थ्यौं हामी। जुन एउटा नजानिँदो किसिमले आविष्कार पनि थियो।
डन्डी–बियो पनि खेल्थ्यौं। जसलाई नेपाल भाषामा ताँचामखु भनिन्थ्यो। यसरी ताँचामखु खेल खेलिन्थ्यो। नेवारी भाषामै खेल्थ्यौं। डन्डी–बियो खेल्दा खेलको गणना रामो दुन, तिम्बों, भनेर गनिन्थ्यो। त्यो नेपालीकरण भएको थियो। नेपाल भाषामा छबों एंबो, स्वबों, पेबों, ङाबो, खुबो, न्हेबो, च्याबो, गुबो हिब्बो भनेर गनेर खेलिन्थ्यो। कहिले जितिन्थ्यो। कहिले हारिन्थ्यो। हार्दा पैसा तिर्नुपथ्र्याे। त्यसैले हार्दा दुःख लाग्थ्यो। हारेपछि घर गएर खेल्नकै लागि बाआमासँग पैसा माग्थ्यौं। बाले पनि ला... किसानी, ला ज्यापू... भन्दै मायाले गाली गर्दै पैसा दिनुहुन्थ्यो। त्यस्तै कपर्दी पनि खेल्थ्यौं।
नेवारी समाजमा भोज बनाएर खाएको देखेर भोजकै खेल बनाएर खेल्थ्यौं। चाडपर्वहरूलाई पनि खेल बनाएर खेल्थ्यौं। बिस्केट जात्रालाई पनि खेल बनााएर खेल्थ्यौं। खेल खेल्दा सकेसम्म समाज र परिवारले हरेक चाडपर्वमा अपनाएका विधिविधान खेलमा पनि अपनाउँथ्यौं। माटोको भात, ढुंगाको मासु, पातको टपरी, ससाना ढुंगाको चुलो। भोगटे र मुलामा सिन्का गाडेर उभ्याइएका राँगा–खसी। ती सबै भोजका लागि। भोजमा नेवारी परिकार ‘भुटन, डायकौ ला, छोयला, चिको ला, तको लालगायत मासुका सबै परिकार बनाउँथ्यौं। सिसापुसालगायत भोजमा आवश्यक सबै परिकार ढुंगामाटो र घाँसपातका हुने गर्थे।
पूजा गर्ने मन्दिर यी सबै हामी ढुंगामाटोकै बनाउँथ्यौं। खान हुने चिजबाटै बनाउँथ्यौं। खान हुने चिज नभए ढुंगामाटा, काठका पनि बनाउँथ्यौं। यसरी सांस्कृतिक खेल बाल्यकालमा खेलिन्थ्यो। कहिले देवाली पूजा। कहिले दसैं, किजापूजा, कहिले गठेमंगल, यस्तै–यस्तै सांस्कृतिक खेलहरूका कारण बालापन निकै रमाइलो थियो। हामीले जेजे समाजमा देख्यौं, जेजे मानव जीवनमा देख्यौं, त्यसैलाई खेल बनाएर खेल्यौं। खेल खेल्दा कहिलेकाहीँ साथीहरू रिसाए भने म नखेलिकनै खुरुर्र दगुरेर घर गएर चुपचाप बसिदिन्थें।
त्यसो त बाल्यकालमा ओखर पनि खेलिन्थ्यो। हाडे ओखर। जमिनमा सानो माटो खोस्रेर बनाइएको प्वाल। १० देखि १५ पाइलासम्मको दूरीबाट ओखर प्वालमा फाल्नुपथ्र्याे। ओखर प्वालमा के–कति पर्यो, त्यो ओखर आफ्नो हुन्थ्यो। ओखरमध्येको एउटा ठूलो ओखर घ्वाइँ अर्थात् स्टाइकर हुन्थ्यो। खाल्डोमा नपरेको ओखरलाई घ्वाइँ अर्थात् स्टाइकरले हान्नुपथ्र्याे। लाग्यो भने त्यो पनि आफैंले पाउँथ्यौं। लागेन भने आफूसँग भएको ओखर तिर्नुपथ्र्याे।
हाडे ओखर फोरेर सियो वा हुपले निकाल्दै खान कम्ती मज्जा आउँदैनथ्यो।
त्यतिबेला खर्पन बोक्नेलाई किसान भनिन्थ्यो। बुबाले काठमाडौं जाने बेला किसानको खर्पनमा एकातिर बैनी र अर्कोतिर मलाई राखेर कान्तिपुर र भक्तपुर डुलाएको बाल्यकाल सम्झिँदा अति रोमाञ्चित हुन्छु। ती पल अहिले अन्त्य भएका छन्। केवल स्मृति बाँकी छन्। अब ती खर्पन संग्रहालयकै दर्पण बनिसकेका छन्। कहाँ जीवन्त भोगाइ ! कहाँ संग्रहालयको सजाइ। सांस्कृतिक अन्तरात्मामा सामाजिक, आर्थिक जीवनका चहलपहलका फेरबदल अनुभूति गरिरहेछ मन। बाँच्नुको फेरबदलसित अनुपम भोगाइ बन्दो रहेछ जीवन।
हाम्रा पालामा साथी–साथीबीच झगडा गर्दैनथ्यौं। आत्मीयता नै ठूलो कुरा हो भन्ने सिकेका हुन्थ्यौं। झगडा भनेको अलिअलि रिसाउने र ठुस्किने मात्र थियो। दसैंमा चंगा उडाउने खेल हुन्थ्यो। मामाले पनि चंगा बनाइदिने। कहिले बुबाले पनि बनाइदिने। अहिले मेरो नातिले दसैंमा चंगा उडाउँदा त्यो बेलाको स्मृति खुब सम्झन्छु। अहिले त सबै रेडिमेड पाइन्छ। धागो पनि बलियो पाइन्छ। त्यतिबेला त धागो अहिलेको जस्तो बलियो र कडा हुन्नथ्यो। धागोलाई बलियो र कडा बनाउने आफ्नै प्रकारको सीप थियो।
नेपाल भाषामा चंगालाई काठमाडौंका नेवार समुदायमा भुतिमाली भनिन्थ्यो भने भक्तपुरमा भुतिमा भनिन्थ्यो। न्हेप्योंवाल भुतिमाली। न्हेप्यों अर्थात् पुच्छर भएको। भुतिमाली अर्थात् चंगा। चंगा उडाउन मामाले पनि सिकाइदिने अनि बुवाले पनि। भक्तपुरमा लामो पुच्छर भएको चंगा उडाइन्थ्यो। काठमाडौंमा पनि त्यस्तै चंगा उडाए पनि न्हेपँवाल भुतिमाली अर्थात् कान भएको चंगा भनेर चिनिन्थ्यो। हामी त्यस्ता चंगालाई पुच्छर भएको चंगा न्हेप्योंवाल भुतिमा भन्थ्यौं। नेपाल भाषामा भाषागत एकरूपता थिएन। अझै छैन। त्यसैले चंगाको नाम नेपाल भाषामा पनि केही फरक थियो।
चंगा उडाउने भएपछि धागोलाई बलियो बनाउने गरिन्थ्यो। विद्युत् बाल्न प्रयोग हुने ट्युब र चिम फुटालेर पिसेको पिठो बजारमा किन्न पाइन्थ्यो। सिसाको धुलो किनेर ल्याइन्थ्यो। लावा भुटेर भिजाइन्थ्यो। त्यसमा सिसाको धुलो मिसाएर लेसिलो बनाइन्थ्यो। लावा र सिसाको धुलो मिसाइएपछि मखमलको कपडामा राखेर किनेर ल्याइएको धागो अग्राखको काठमा बेरिन्थ्यो। यसरी धागोमा माजा लगाउने काम गरिन्थ्यो। त्यसलाई खपरटान गर्ने भनिन्थ्यो। त्यो लावा र सिसाको धुलो मिसाइएको लेसिलो लेदो हुँदै धागो काठमा सारिन्थ्यो।
माडा लगाउँदा लगाउँदै धागो सुक्थ्यो। सुकेपछि लटाइँमा बेरिन्थ्यो। यसरी बनाइएको धागो धारिलो र बलियो हुने हुनाले आकाशमा चंगा जुधाउँदा आफ्नो चंगा जोगिन्थ्यो भने अरूको काटिन्थ्यो। चंगा त म रिटायर्डपछिसम्म पनि उडाउँथें। मैले त्यसरी बनाएको चंगाको लटाइँ फ्रान्समा पनि पठाएको छु। मेरो अमेरिकी साथी फ्रान्समा थियो। ऊ मकहाँ आउँदा मैले चंगाको धागो बनाएको देखेर उनले रुचि देखायो। मैले चंगा बनाएर पठाइदिएँ। तर समयसँगै यी खेलहरू लोप भइसके। अहिलेका बालबालिका शारीरिक खेल खेल्दैनन्। हाम्रो जमानामा सबै खेलमा शारीरिक कसरत हुने गर्दथ्यो। त्यसले बालबालिकाहरूको शारीरिक विकासदेखि बौद्धिक विकास र सामाजिक शिक्षासमेत खेलबाटै सिकिन्थ्यो। एउटा व्यावहारिक शिक्षा जस्तो। अहिले त खेल प्राविधिक बन्यो।
बालबालिकाहरू घरमै बसेर डिभाइसमै खेल खेल्ने जमाना आयो। यसले प्राविधिक ज्ञान त हासिल होला। तर बालबालिकाले शारीरिक, बौद्धिक तथा सामाजिक कसरत गुमाएको छ। हाम्रा बालबालिकालाई शारीरिक र मानसिकसँगै वर्तमान समयमा प्रचलित प्रविधियुक्त खेललगायतको सन्तुलन मिलाउन सके भविष्यका कर्णधार मानिएका बालबालिकाका स्वस्थ्य जीवनको कल्पना गर्न सकिन्थ्यो। स्वस्थ्य जीवन र स्वस्थ सोंचले असल नागरिक बन्न पनि सघाउँछ। एक असल नागरिक मुलुकका गहना हुन्।