पाल्पामा एकतर्फी यातायात सञ्चालन
तानसेन : दुई दिनदेखि लगातार परेको अविरल वर्षाले अवरुद्ध भएका पाल्पाका विभिन्न सडकहरू शनिबार दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।
सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको चिदिपानी धैरेनीमा लेदोसहित खसेको पहिरो पन्छाएपछि एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको हो।
राम्दीदेखि रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पहिरो हटाएपछि सञ्चालनमा आएको पाल्पा प्रहरीले जनाएको छ।
तानसेन रिडी सडक खण्डकको ढुंगाखानीको तिन लाकुरी खण्डमा पहिरो हटाएपछि सडक सुरु भएको छ।
तानसेन बुटवल सडकखण्डको सिद्धवावा, दोभान, पानी मिल क्षेत्रमा बगेको लेदो तथा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख प्रदिपमणि निरौलाले बताए।
राजमार्ग क्षेत्र बुटवल तानसेन सडकखण्डको हिउँदे खोलामा स्काभेटर, पानी मिल क्षेत्रमा लोडर, बतुङ्गमा जेसिबी आर्यभञ्ज्याङ्ग लोडरसहित जनशक्ति तयारी अवस्थामा राखेर अवरुद्ध भएको क्षेत्रमा ढिलोमा एक घण्टाभित्र पुग्ने गरी व्यवस्थापन मिलाएको डिभिजन प्रमुख निरौलाले बताए।
पूर्वखोलाको सिलुवा, हेक्लाङ्ग, रम्भाको फोक्सिङकोट सडक र तानसेन रानीमहल सडकमा पहिरो झरी अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !