सुर्तीमा कर किन नबढाउने ?
सुर्तीजन्य पदार्थको उपभोगमा कमी ल्याउन सबैभन्दा पहिले कर वृद्धि गरिनुपर्छ। त्यस्तै यस सम्बन्धमा बनाइएका कानुनहरूको व्यवहारमा सफल कार्यान्वयन गर्नुपर्छ।
मुलुकभर झन्डै ४८ लाख व्यक्ति सुर्तीजन्य पदार्थ एवं धूमपान उपभोग गर्छन्। त्यसमध्ये कतिपय नयाँ अनुभव एवं साथीभाइको लहैलहैमा लागेर पनि धूमपानप्रति आकर्षित भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको अकालमा मृत्यु हुन्छ। यो संख्या आगामी वर्षहरूमा यसको सेवनमा कमी नगरे अझ बढ्ने खतरा छ। सुर्तीजन्य पदार्थको सेवनकै कारण नेपालमा बर्सेनि ३७ हजारभन्दा बढीको ज्यान जाने गरेको पाइएको छ।
सरकारी एवं गैरसरकारी पक्षबाट सुर्तीजन्य पदार्थविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन्। गत मे ३१ तारिखका दिन विश्व धूमपानरहित दिवस मनाइयो। हरेक वर्ष धूमपानरहित दिवस मनाइरहँदा हाम्रो मुख्य ध्यान जनचेतना अभियानमा हुनुपर्छ। विशेषगरी युवालाई धूमपानको लतबाट लाग्नबाट जोगाउनु मुख्य चुनौती भएको छ। सुर्तीजन्य पदार्थका उत्पादकहरूले विभिन्न रणनीति बनाउने गरेका छन्। त्यसलाई हतोत्साही गर्ने कुरामा सरोकारवाला पक्षहरू एकजुट हुनुपर्ने आवश्यक छ। सुर्तीजन्य पदार्थको सेवनले धेरै थरीका क्यान्सर रोगहरू निम्त्याउँछ। चुरोट एवं सुर्ती सेवनकै कारण जिब्रो, फोक्सो, मुख, घाँटी आदिको क्यान्सरका बिरामीहरू बढिरहेका छन्। यसबाहेक मुटु, मस्तिष्कलगायतका अंंगमा पनि क्षति पुग्छ। अहिले उत्पादकहरूले ई–सिगरेट, भेपिङ डिभाइसको उपयोग भइरहेको छ।
सुर्तीजन्य पदार्थको उपभोगमा कमी ल्याउन सबैभन्दा पहिले कर वृद्धि गरिनुपर्छ। त्यस्तै यस सम्बन्धमा बनाइएका कानुनहरूको व्यवहारमा सफल कार्यान्वयन गर्नुपर्छ। र, युवालाई चुरोट एवं सुर्तीजन्य पदार्थको सेवनमा निरुत्साहित गर्नुपर्छ। यसका लागि सरकारी, गैरसरकारी निकायका साथै नागरिक समाज सञ्चारमाध्यमको ठूलो भूमिका हुन्छ। आपसी समन्वय र सहकार्य गरी अनुगमन गर्नुपर्ने आवश्यकता छ। त्यस्तै सचेतनाका लागि शिक्षक, कलाकार र अभिभावकलाई भूमिकामा उपयोग गर्न सकिन्छ।
क्यान्सर रोग विशेषज्ञ तथा जनस्वास्थ्य विज्ञका अनुभवमा सुर्तीजन्य पदार्थको उपभोगमा आकर्षित गर्न उत्पादक कम्पनीले अनेक रणनीतिहरू अपनाएका छन्। सुर्तीजन्य पदार्थको स्टिक्स, क्यान्डी, हुक्काजस्ता आकर्षक देखिने र सजिलैसँग बोक्न तथा लुकाउन मिल्ने आकारमा बनाउने गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले विभिन्न तरिका अपनाएर युवालाई आकर्षित गर्न खोजेका छन्। विभिन्न स्वाद (फ्लेभर्स) मा उपलब्ध गराउन थालेका छन्। चेरी, स्ट्रबेरी, चकलेटलगायतका विभिन्न स्वादमा सुर्तीजन्य पदार्थ बिक्रीको सुरुवात गरिसकेका छन्।
सुर्ती उत्पादक कम्पनीले कहिल्यै नभएको अनुसन्धान तथा खोजजस्तै भेपिङ डिभाइसलाई लिन सकिन्छ। योभन्दा चुरोट नै सफा तथा स्वास्थ्यका लागि कम हानिकारक छन् भनेर देखाउने प्रयास गरिरहेका छन्। यी कुरामा पनि सत्यता छैन। व्यापार वृद्धिका लागि समाजमा चर्चित व्यक्तिहरू जस्तैः सेलिब्रेटीलाई आफ्नो उत्पादनको विज्ञापन गराउने गर्छन्। सहज बिक्रीका लागि चुरोट तथा सुर्तीजन्य पदार्थलाई मिठो गुलियो स्न्याक्स पाइने स्थानको नजिकै राख्ने गरेको पाइएको छ। विशेष गरी युवायुवतीलाई लक्षित गरिएको छ।
चलचित्रमा कलाकारले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको अथवा टेलिभिजनमा देखाएर युवाहरूलाई आकर्षित गर्ने प्रोपोगान्डा पनि गरिन्छ। अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्था (टिनएज) बाट नै चुरोट तथा सुर्ती सेवन सुरु गरेको पाइएको छ। जति सानो उमेरमा सुर्तीजन्य पदार्थको सेवन ग¥यो, त्यति नै यसको गहिरो लत बस्ने सम्भावना रहन्छ। यही कारण युवा चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नु महत्वपूर्ण हुन्छ।
प्रत्येक वर्ष मे ३१ का दिनमात्र नभई हरेक दिनजसो सुर्तीजन्य पदार्थविरुद्ध जागरण अभियान चलाउनुपर्ने आवश्यकता छ। सुर्तीजन्य पदार्थबाट हुने स्वास्थ्यसम्बन्धी हानिकारक र सम्भावित रोगका बारेमा व्यापक रूपमा सचेतना प्रवाह गर्नुपर्छ। धूमपान एवं सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि हानिकारक छ। यसको सेवनले स्वास्थ्यका साथै आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पारिरहेको छ।
त्यसैले सुर्तीजन्य पदार्थको सेवनबाट पर्ने असरबारे सुसूचित गराउँदै सुर्तीजन्य पदार्थ नियन्त्रण (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को कार्यान्वयनमा ध्यान दिनुपर्ने जरुरी छ। सार्वजनिक क्षेत्रमा खुलारूपमा भइरहेको बेचबिखन तथा प्रयोग गर्न हतोत्साहित गर्नुपर्छ। सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन कार्यलाई नियन्त्रण एवं नियमन गर्नु जरुरी छ।
दक्षिण एसियामा सबैभन्दा न्यून कर नेपालमा लगाइएकाले पनि उत्पादकहरूले बजार विस्तार गरिरहेका छन्। यसका लागि सुर्तीजन्य पदार्थविरुद्ध लगाइएको अन्तःशुल्क वृद्धि गर्नुपर्छ। सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सरकारका साथै सबै पक्ष लाग्नुपर्ने जरुरी छ।
- शाही क्यान्सर रोग विशेषज्ञ हुन्।
प्रतिक्रिया दिनुहोस !