गुरु परम्पराको सार्थकता

व्यासजयन्ती र गुरुपूर्णिमा

गुरु परम्पराको सार्थकता
सांकेतिक तस्बिर।

पूर्वीय दर्शन विज्ञानको भण्डार हो। अजस्र ज्ञानको स्रोत हो। जति बाँडियो, त्यति वृद्धि हुन्छ। वेदका रचयिता, विशाल वेदलाई समयसापेक्ष संक्षेपीकृत गरी कम समय भएका कलिका मानवलाई वितरण गर्ने वेदव्यासको जन्म दिन नै व्यास जयन्ती वा गुरुपूर्णिमा हो। धर्तीको सागर शुक्ला, वृक्षहरू सकिएलान् तर गुरुको महत्त्व र आशीर्वाद सकिन्न। गुरु कविरले भनेका छन्, ‘धर्तीका तमाम वृक्षलाई कलम बनाई लेखनी प्रयोग गरोस् वा पृथ्वीको सबै पानी मसीको रूपमा प्रयोग गरेर लेखेरै विद्वान् बनोस् तर पिता, माता वा गुरुको आशीर्वादबिना ऊ ठूलो हुनै सक्दैन।’

गुरुस्मरण, गुरुचिन्तन, गुरु परम्परा र प्रेरणा प्राप्तिकोे दिन आषाढ शुक्ल पूर्णिमालाई व्यासजयन्ती एवं गुरुपूर्णिमाका रूपमा मनाउने हाम्रो परम्परा आदिम कालदेखिकै हो। सृष्टि परम्परामा अहिले मान्ने व्यास २८औं हुन्, यिनलाई द्वैपायन भनिन्छ। द्वैपायनले महाभारतको रचना र रटना गरे। तनहुँ दमौलीको सेती मादी नदीको संगमस्थलमा पिता परासर र माता मत्स्यगन्धा जसलाई पछि सत्यवती भनियो, उनीहरूबाट व्यासको जन्म भएको हो। अज्ञानतालाई हटाई ज्ञानको द्वीप प्रज्वलन गर्ने गुरुलाई सद्गुरुको रूपमा हेर्ने हाम्रो चलन छ।

त्यसैले संस्कृत भाषामा गुरुलाई यसरी गुणगान गरिएको छ : अज्ञान तिमिरान्धस्य ज्ञानान्जल शलाकया चक्षु रुर्मिलितं येन तस्मै श्रीगुरवे नमः। अखण्ड मण्डलाकारं व्याप्तं येन चराचरं, तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। गुरुलाई सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवका रूपमा पनि प्रार्थना गरिन्छ। ‘गु’ अक्षरले अन्धकार र ‘रु’ अक्षरले उज्यालोतिर भन्ने बुझिन्छ। संस्कृतमै भनिएको छ– तमसोमा ज्योतिर्गमय, मृत्युर्मा अमृतं गमय, अर्थात् अन्धकारबाट उज्यालोतिर जाऊ र मृत्युबाट अमृत, अभयतिर जाऊ।

गुरुबिना ज्ञान सम्भव छैन। भक्तिको उदय, मानव मात्रमा ज्ञान र विज्ञानको प्रयोग, सदुपयोगसमेतका लागि गुरुको पथप्रदर्शन जरुरी छ। मानवको पहिलो गुरु आफ्नै आमा हुन्, कर्मगुरु बाबु हुन्। दीक्षागुरु, शिक्षा गुरुहरू धेरै हुन सक्छन्। मानव शरीर स्थुल, सूक्ष्म र कारण तीन प्रकारको छ। बाह्य शरीर पाँच भौतिक स्थूल, भित्री शरीर सूक्ष्म मन र ज्ञानदाता कारण शरीरभित्र रहेको परमात्मा तत्त्वको बोध पनि गुरुबाटै हुनेगर्छ। अक्षर चिनाउने गुरु, मन्त्रदाता बोधक गुरु, धर्म अधर्मको बोध गराउने वाचक गुरु, मोहन, सम्मोहन विद्या दिलाउने विशिष्ट गुरु, जीवनमा वैराग्यको उदय गराउने विहित गुरु, मुक्ति दिलाउने कारणाख्य गुरु, सम्पूर्ण सन्देह हटाई जन्म मृत्युको भय दूर गराउने सद्गुरु स्वयं शिवस्वरूप हुन् भनी धर्मशास्त्रहरूले उद्बोधन गरेका छन्।

मानव शरीरमा रहेका साढे तीन करोड नसा, नाडी एवं रौंहरू, तीन प्रमुख इडा, पिंगला र सुषुम्ना नाडीको तत्त्वबोध र तिनबाट जीवनको समाधि र परमतत्त्वको ज्ञानसमेत गुरुबाटै प्राप्त हुन्छ। शिक्षा गुरुअन्तर्गत शास्त्रीय ज्ञान अनेकौं शास्त्रहरू, व्याकरण, ज्योतिष, साहित्य, कला, खगोल, भूगोलदेखि राजनीति, समाजशास्त्र, अर्थशास्त्रको बोध र उपयोग अनि विज्ञानको सही प्रयोग गराउने ज्ञानगम्य दीप प्रकाश गर्ने गुरु नै हुन्, सच्चा गुरु। गुरुपरम्परा जीवन र जगत्को उषाकालदेखि नै सुरु हुन्छ।

प्रणवमन्त्र ओमबाट ब्रह्मज्ञान शिवजीले विष्णुलाई, विष्णुले ब्रह्मालाई, ब्रह्माले सनकादिलाई, सनकादिहरूबाट वशिष्ठ, दक्ष, नारद आदिलाई, नारदबाट व्यासलाई, व्यासबाट सुतजीलाई, सुतजीबाट विभिन्न शास्त्रमार्फत सम्पूर्ण संसारभर फैलिँदै हामीसम्म आइपुगेको हो। आपूmलाई प्राप्त गुरु शिक्षा एवं सद्ज्ञानबाट व्यासजीले वेदलाई सरलीकृत एवं विभाजन गर्ने साहस गरेका हुन्। भगवान्को स्वरूप व्यासजीलाई वेदव्यास भनिन थालियो। मानवजीवनमा रूपमा उदय भएका परमेश्वर श्रीरामका गुरु वशिष्ठ, विश्वामित्र, श्रीकृष्णका गुरु सान्दिपिनी, राजा यदुका दत्तात्रेय, भक्त प्रल्हादका नारद, भक्त उद्धवका वृहस्पति एवं श्रीकृष्ण, राजर्षि जनकका ९ बालयोगेश्वर, लक्ष्मणका रामचन्द्र, पार्वतीका श्रीशिव, देवहुतीका कपिलदेव आदि सद्गुरु भएका कुरा धर्मशास्त्रले वर्णन गरेका छन्। भनिन्छ, गुरु देवस्वरूप हुन्, आशिष वा श्राप दुवैको क्षमता गुरुसँग हुन्छ। 

गुरुले अर्थोपार्जन मन्त्र मात्र होइन, जीवन नै दिन्छन्। जीवनलाई जीवन्त पनि बनाइदिन्छन्। भोग शिक्षाभन्दा योग शिक्षा दिएर जीवनलाई जगत् र जगदीश्वर दुवैतर्फ संयोग गराउने काम गुरुको हो। मन्त्र द्रष्टा गुरुसँग परमेश्वरसम्म पुर्‍याउने सामथ्र्य हुन्छ। परमेश्वर प्राप्तिको पुलको रूपमा काम गर्ने गुरुबाट चिन्ता, भय, क्रोध, आवेग, तनाव, ईष्र्या सबै दूर हुन्छन्।

शंकराचार्यले भनेका छन्– गुरुको स्मरण टाढैवाट गर्दा पनि वचनरूपी आलोकद्वारा शिष्यको अन्तरहृदय प्रकाशित हुन्छ, प्रज्वलित हुन्छ। विद्वान्हरूको मत छ– गुरु पारसमणि हुन् जसको स्पर्शले फलाम सुन भएझैं शिष्य शुद्ध हुन्छ। गोपिनीहरूमा भएको समर्पणभावले जगत्गुरु श्रीकृष्णबाट आफ्नो अभिलाषा पूरा गरे। गोपीभाव कुनै स्त्रीभाव नभएर वेदका मन्त्रहरू नै हुन्। सशरीर सार्थक जीवन प्राप्त ऋषि, मुनिहरू नै हुन् उनीहरू। अर्थशास्त्री कौटिल्यको विचारमा सेवाभाव, समर्पणभाव, ग्रहण गर्ने स्वभाव, तीव्र उत्सुकता, छलफलको बानी, जिज्ञासु र सबै विषयमा सावधानी अपनाउने व्यक्तिबाट गुरु खुसी हुन्छन्। सफलताको, सिद्धिको आशीर्वाद पनि दिन्छन्।

‘तस्मै श्री गुरवे नमः’ भनेर शास्त्रहरूमा जताततै चर्चा भएको छ। अन्धकारबाट उज्यालोतर्फ, अज्ञानताबाट ज्ञानतर्फ, शंकाबाट सन्देह भेदनतर्फ डोहोर्‍याउने गुरुको स्मरण जहिले पनि गर्नुपर्ने हुन्छ। व्यासजयन्तीका दिन गुरु व्यासको स्मरणसँगै आआफ्ना गुरुहरूलाई ढोगभेट गर्ने चलन सबैतिर देखिन्छ। पशुपतिनाथ मन्दिर अगाडि रहेका दक्षिणामूर्ति गुरुदेखि सर्वत्र गुरु स्मरण गर्ने चलन छ। सबै पुराणको निचोड उपकार नै पुण्य हो, उपकार नै धन हो भन्ने वेदव्यास लोककल्याणमा लाग्न निर्देश गर्छन् सबै मानव जातिलाई।व्यक्तिमा जब अध्यात्मको भोग जाग्छ, जब विभिन्न हन्डर र ठक्कर लाग्छ। अनिमात्र गुरु खोज्ने परम्परा, अनि मात्र अध्यात्म चिन्तनको भोग जाग्ने बानीभन्दा पनि जीवन सार्थक पार्न जीवनको उषाकालदेखि गुरुको खोजी आवश्यक हुन्छ। जवानीमा गुरुको झन् बढी आवश्यकता पर्छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.