डाइभर्सन बनाउन सहयोग संकलन गर्दै फालेलुङ गाउँपालिका
फालेलुङ : पाँचथरको फालेलुङ गाउँपालिकाले घुमाउनेटारस्थित हेंवा खोलामा डाइभर्सन निर्माण गर्न सहयोग संकलन सुरु गरेको छ । डाइभर्सन निर्माणका लागि बजेट नभएको भन्दै पालिकाले नागारिकसँग सहयोग मागेको हो ।
आर्थिक सहयोग गर्न चाहनेले गाउँपालिकाको खातामा रकम जम्मा गरी विपत्तिमा सहयोग गर्न पालिकाले आग्रह गरेको हो । असार २ गतेको बाढीले हेंवा खोलाका पक्की पुल भत्काएपछि यातायात ठप्प छ । तत्काल यातायात सूचारु गर्ने उद्देश्यले घुमाउनेटारस्थित हेंवा खोलामा डाइभर्सन बनाउन थालिएको हो । बाढी–पहिरोले भत्काएका संरचना पुनः निर्माणका लागि बजेट नभएपछि सर्वसाधारणसँग पालिकाले गुहार मागेको हो ।
‘पालिकासँग प्रयाप्त बजेट छैन्,’ प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बेले भने ‘संघ र प्रदेश सरकारले पनि फालेलुङको विपत्तिमा चासो नदिएकाले सर्बसाधारणसँग सहयोग माग्न बाध्य छौँ ।’
सर्वसाधारणबाट सहयोग जुटाउन नसके यातायात डाइभर्सन बनाउन कठिन हुने पालिकाले जनाएको छ । स्थानीय तह कर्मचारी हकहित मञ्चले विपत्तिमा स्वेच्छिक रुपमा आर्थिक र श्रम सहयोग गर्न आह्वान गरेको हो । आह्वान गरेको दुई दिनमै तीन लाखभन्दा धेरै रकम संकलन भएको पालिकाले जनाएको छ ।
वीरगञ्जबाट ह्यूम पाइप ल्याएर घुमाउनेटारस्थित हेवा खोलामा डाइभर्सन निर्माण सुरु गरिएको छ । उक्त कामका लागि आर्थिक रुपमा सहयोग गर्न नसक्नेले श्रम सहयोग गर्न समेत आग्रह गरिएको छ ।
बाढीले बगाएका अरु पुल भएको स्थानमा पनि आर्थिक र श्रम सहयोग जुटाएर अस्थायी डाइभर्सन बनाउने पालिकाको तयारी छ । २ गतेको बाढीले हेंवा खोला, नवमी खोला, खेवाथाम खोला र सेवाखोलाको पुल भत्काएको छ ।
पुल भत्काएपछि फालेलुङ र सदरमुकाम फिदिम बीचको यातायात ठप्प छ । यातायात सूचारु गर्न पक्की पुल बनाउन तत्काल सम्भव नभएकाले ह्यूम पाईप राखेर डाइभर्सन निर्माण गर्न थालिएको हो ।
२ गतेको बाढी–पहिरोले फालेलुङमा मात्रै २१ करोड ३७ लाख ८५ हजार बाराबरको भौतिक संरचनामा क्षति पुगेको पालिकाले जनाएको छ ।