भूतपूर्वलाई प्रधानमन्त्री बन्न रोकेर नयाँ पुस्ताले देशको नेतृत्व गर्नुपर्छ : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अब मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताए।
अहिलेको आश्यकता आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्ने कुरामा रहेको उनले बताए। उनले आफू फेरि पनि कांग्रेस संसदीय दलको नेता हुने प्रयत्नमा लाग्ने र नसके अरु कसैलाई समर्थन गर्ने जिकिर गरे।
थापाले अहिले मुलुकको अर्को प्रधानमन्त्री को बन्छ भन्ने सबैलाई जानकारी हुने भन्दै उनले एकपटक प्रधानमन्त्री भएको व्यक्तिलाई अर्को पटक प्रधानमन्त्री बन्नबाट सबै दलले रोक्न सक्नुपर्ने तर्क गरे।
उनले अहिले सबै दलहरूले मिसन ८४ लाई ध्यान दिएको अवस्थामा कांग्रेसले भने मिसन २०८० मा केन्द्रित गर्नुपर्ने बताए। देशका सबै स्थानमा कांग्रेस सहभागी सरकार बनेको अवस्थामा जनताको चाहनाअनुसार काम गर्न सके मिसन ८४ मा ध्यान दिनै नपर्ने उनको भनाइ छ। थापाले पार्टीको केन्द्रीय समितिबाटै केन्द्रलगायत प्रदेश सरकारमा रहेका कांग्रेसतर्फबाट मन्त्रीहरुलाई एक वर्षको काममा केन्द्रीय हुन निर्देशन दिनुपर्ने बताए। उनले पार्टीको क्रियाशिल सदस्यता वितरणलाई पनि नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !