सडक विस्तार गर्न मकवानपुरका राजनीतिक दलहरू एकजुट
हेटौंडा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारको सन्दर्भमा मकवानपुरका राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्।
लामो समयदेखि सडकको दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने चर्चा भए पनि हालसम्म पनि हेटौंडामा सडक विस्तार हुन नसकेको स्थितिमा मकवानपुरका सबै राजनीतिक दलहरूले सडक विस्तार हुनुपर्छ भन्दै ऐक्यबद्धता जनाएका हुन्।
आइतबार नेपाली कांग्रेस नगर समितिको समन्वयमा बसेको संयुक्त बैठकले सडक डिभिजन कार्यालय मकवानपुरले गत असार १० गते निकालेको ३५ दिने सूचना अनुरूप नै सडक विस्तार गर्ने साथै सो कामका लागी सम्बन्धित कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।
यस्तै राजनीतिक दलहरूको सयुक्त बैठकले सडक विस्तार गर्दा सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम तथा ऐन कानुन अनुसार घरधनीहरूको हकमा उचित मुअज्जा तथा क्षतिपूर्ति र सोही स्थानमा व्यवसाय गरेर बसेका व्यवसायीहरूलाई उचित व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ।
यसअघि हेटौंडा उपमहानगरले आफ्नो नगरसभाबाट सडक विस्तार गर्ने भन्दै निर्णय गरिसकेको छ। नेपाली कांग्रेस नगरसभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको संयुक्त बैठकमा हेटौंडा उपमहानगरका उपमेयर राजेश बानिँया,नेकपा एमाले जिल्ला अध्यक्ष एवम् प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ,कांग्रेस जिल्ला सभापति बुद्ध लामा, जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उता आइतबार नै आफूहरूलाई उचित क्षतिपूर्ति,व्यवस्थापन नगरी सडक विस्तार गर्न खोजिएमा त्यसको प्रतिकार गर्ने भन्दै घरधनी र व्यवसायीहरूले सडक डिभिजन कार्यालय घेराउ समेत गरेका थिए।