जाबेरको पीडा

जाबेरको पीडा
सुन्नुहोस्

लन्डन : ट्युनिसियाकी २८ वर्षीया ओन्स जाबेरका लागि शनिबारको रात पीडादायी बन्न पुग्यो। लगातार दोस्रो पटक विम्बल्डन टेनिसको फाइनलमा पुगेर पनि उपाधि जित्न नसक्दाको पीडालाई उनले रोक्न सकिनन् र खेल सकिएलगत्तै रुन थालिन्।

चेक गणतन्त्रकी वरीयताविहीन मार्केटा भोन्ड्रोसोभासँग ६–४, ६–४ को सोझो सेटमा पराजय बेहोरेपछि उनले आफूलाई सम्हाल्न सकिनन् र भकानो छाडेर रुन थालिन्। ‘मैले हिम्मत हारेको छैन। म अझै कोसिस गर्नेछु। तर, मलाई थाहा छ, आफूले आफैलाई सम्हाल्न निकै कठिन छ’, उनले भनिन्। 

जाबेरले इङ्ल्यान्डका एन्डी मर्रेको उदाहरण दिँदै ११ वर्षअघि उनले भोगेकै पीडा शनिबार राति आफूले भोग्नु परेको  बताइन्। ‘११ वर्षअघि उनी (मर्रे) पनि मेरोजस्तै अवस्थामा थिए। उनले पनि रुँदै मैलेजस्तै भनेका थिए’, जाबेरले भनिन्, ‘म आफ्नो उत्कृष्ट दिन अझै कोसिस गर्नेछु। तर, यो पक्कै सहज भने छैन।’ जाबेर र मर्रेले जस्तै नियती सन् १९९३ मा जाना नोभोत्ना र सन् २००८ मा रोजर फेडररले पनि भोगेका थिए। फाइनलमा पराजय बेहोरेपछि उनीहरू पनि भावुक भएका थिए। 

जाबेरका लागि त शनिबारको हार अझै पीडादायी थियो। उनले अहिलेसम्म तीन ग्रान्डस्लामको फाइनल खेलेकी थिइन्। ती सबैमा उनी पराजित भइन्। यसअघि उनी विम्बल्डन र यूएस ओपनको फाइनलमा पनि पराजित भएकी थिइन्। त्यसैले करियरकै ठूलो उपाधि जित्ने अभियानमा धक्का लाग्दा भावुक हुनु स्वभाविकै हो। जसलाई जाबेरले पनि स्विकार गरेकी छन्।

‘आफ्नो करियरकै ठूलो उपाधि जित्ने अभियानमा धक्का लाग्दा जोकोही पनि निरास हुन्छन्। मैले त तीन/तीन पटक यो क्षणको आत्मसाथ गरेको छु’, जाबेर भन्छिन्, ‘म भावुक भइरहँदा पनि आफूलाई सम्हालें। मार्केटा भोन्ड्रोसोभासँग अंकमाल गरें। उनी (मार्केटा) मसँग अंकमाल गर्न चाहन्थिन् कि चाहँदैन थिइन्, त्यो मलाई थाहा भएन। तर, मैले नै उनीसँग अंकमाल गरें। मैले मार्केटासँग अंकमाल गरिरहँदा अब मेरो वर्ष सुरु हुने सपना देखें। किनभने अघिल्लो वर्ष मलाई हराएकी ऐलिना र्‍याबकिनालाई मैले सेमिफाइनलबाटै बिदा गरिदिएँ। अब अरु प्रतिस्पर्धीलाई पनि पाखा लगाउने छु। लगातार दोस्रो पटक फाइनलमा पराजय बेहोरे पनि ममा यो आत्मविश्वास भने भरिएको छ।’ 

जाबेरले साविक विजेता ऐलिना र्‍याबकिनालाई क्वार्टरफाइनलमा स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान बनाएकी थिइन्। यससँगै जाबेरले गत वर्ष विम्बल्डनको फाइनलमा र्‍याबकिनासँग भोगेको हारको बदला पनि लिएकी थिइन्। निकै प्रतिस्पर्धात्मक खेलमा एक सेट गुमाउनुका बाबजुद उत्कृष्ट पुनरागमन गर्दै जाबेरले ६–७(५–७) ६–४, ६–१ को जित निकालेकी थिइन्।

प्लेयर बक्सको जाबेरको भिडियोले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा निकै चर्चा पाएको थियो। उनका पनि तथा फिटनेस ट्रेनरले प्लेयर बक्समा बसेर जाबेरको आँसु पुछिदिएका थिए। जाबेरलाई सान्त्वना दिइरहेका थिए। ‘अहिले त मैले मन बुझाएको छु। ममा आत्मविश्वास पनि बढाएको छ। तर, यो रात मेरा लागि निकै कठिन रात हुनेछ’, उनले भनिन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.