अपहरणपछि सामूहिक बलात्कार, चार आरोपित पक्राउ
राजविराज : सप्तरीको कञ्चनरूपमा सामुहिक बलात्कार काण्डका मुख्य चार आरोपित पक्राउ परेका छन्। किशोरीलाई घरबाट अपहरण गरी ५० मिटरको दूरीमा रहेको मानिस नबस्ने घरमा पुर्याएर सामूहिक बलात्कार गरेको आरोपमा कञ्चनरूप नगरपालिका–१२ धर्मपुर टोलका चार जना पक्राउ परेका हुन्।
प्रहरीले ४० वर्षीय कैलाश भनिने टेकराज पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदी पक्राउ परेको जनाएको छ। पीडितको उजुरी, घटनास्थल मुचुल्का र स्वास्थ्य परीक्षणका आधारमा आरोपितहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूप सप्तरीले जनाएको छ।
पीडितले बताए अनुसार सूर्य अस्ताएको थियो। गाउँ चकमन्न सुनसान हुने तरखरमा थियो। शुक्रबार राति खाना खाएर दुई साना बहिनी सुतिसकेका थिए। आमा घरधन्दा सक्ने चटारोमा थिइन्। बुवा ज्यालामजदुरी गर्न धनुषाको महेन्द्रनगरमा थिएँ। घरमा १७ वर्षीया किशोरी आफ्नी माइली बहिनीसँग बसेर पढिरहेकी थिइन्। कक्षा ९ मा अध्ययनरत किशोरीका साथीहरूसँग चिनजान भएको एक जना केटा साथी स्वाँस्वाँ गर्दै आयो। घरमा सबै जनाकै अगाडि भेटेर कुरा गर्यो र पानी माँगेर खायो।
फर्किन खोजेका ती केटालाई बाहिर ढुकेर बसेका चार जना आरोपितहरूले रातिराति केटीसँग भेट्न आउने भन्दै कुटपिट गर्छन्। बाहिर रहेका किशोरी र केटालाई कोठाभित्र ल्याएर सँगै राखेर फोटो र भिडियो खिच्छन्। एउटा कोठामा केटा तथा अर्को कोठामा किशोरीकी बहिनी र आमालाई थुनेर बाहिरबाट चुकुल लगाउँछन्।
किशोरीलाई मुख छोपी नियन्त्रणमा लिई ५० मिटरको दूरीमा रहेको फुसको घरमा लैजान्छन्। हात्तीले भत्काएपछि सोमबहादुर मगरको परिवार बस्न छाडेको उक्त खाली घरमा लगेर किशोरीलाई निलडाम हुने गरी कुटपिट गर्छन्। बाहिरबाट केटा बोलाएर सँगै बस्ने, सुत्ने गरेको आरोप लगाउँछन्। किशोरीले घरपरिवारकै अगाडि कुराकानी गरेको र पिउनलाई पानी दिएको तर कुनै गलत काम नगरेको भनेर स्पष्टीकरण दिन्छिन्।
आरोपितहरूले आफूसँग पनि सुत्नु पर्ने शर्त राख्छन्। अन्य केटासँग राति भेटेर गल्ती गरेकाले यिनीहरूको पनि चित्त बुझाउनुपर्ने भन्दै होटल व्यवसायी टेकराजले प्रस्ताव राख्छन्। कोठामा उनीहरूले खिचेको फोटो, भिडियो सामाजिक सञ्जालमा भाइरल गर्ने धम्की दिन्छन्।
किशोरीले महिनावारी भएकोले पीडामा रहेको बताउँछिन्। दिदी (मामाकी छोरी)लाई तिहारमा टिका लगाएकाले आफू पनि बहिनी नै भएको भनेर किशोरीले आरोपित दिपेशलाई स्मरण गराउँछिन्। अंकल, दाजु भनेर अनेकौ अनुनय विनय गरेपनि आरोपित तीन जनाले पालैपालो बलात्कार गर्छन्।
रातभर सामुहिक बलात्कार गरेर बिहान ३ बजे घर ल्याएर छाड्छन्। घरमा बाहिरबाट लगाएको चुकुल खोलेर केटा साथीलाई कुटेर खेदाउँछन्। रातविरात केटासँग भेट्ने गरेको भन्दै किशोरीलाई नै दोषी ठहर गरेका आरोपितहरूले किशोरीकी आमा र छिमेकीहरूलाई हर्पाछन् र जान्छन्।
महेन्द्रनगरबाट किशोरीका बुबा घर आएपछि आरोपितहरूले उल्टो पोल लगाउँछन्। बुवाले आइतबार राति किशोरीलाई सोधेपछि मानसिक रूपमा विक्षिप्त झै भएकी उनले मनमा गुम्सिएका सबै पीडा ओकल्छिन्। घटनाबारे सविस्तार बताएपछि बुवाले परिवारका सदस्य, आफन्तसँग सल्लाह गर्छन र सहयोग माग्छन्।
आरोपितहरूले सुरुमा बलात्कार गरेको अस्वीकार गरेपनि किशोरीलाई राति लगेको, सम्झाएको र बिहान घर छाडेको कुरा चुहाउँछन्।
सबैजना सोमबार इलाका प्रहरी कार्यालय कञ्चनरूप जान्छन् र उजुरी गर्छन्। सोमबार नै किशोरीको स्वास्थ्य परीक्षण हुन्छ। अहिले चारै जना आरोपितहरू पक्राउ परेका छन् र सप्तरी जिल्ला अदालतबाट अनुसन्धान गर्न म्याद थप भएको छ।
होटल व्यवसायी टेकराज योजनाकार रहेको र उनकै योजना र प्रत्यक्ष संलग्नतामा घटना भएको गाउँलेले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !