राप्रपाले भन्यो- सेनाको भूमिकामाथि बेमौसमी बहस गरिनु आपत्तिजनक
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सेनाको संख्या कटौतिको विषयमा आपत्ति जनाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेनाको भूमिकामाथि बेमौसमी बहस नगर्न चेतावनी दिएका छन्।
'कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गर्न-गराउन एवं मनोबल गिराउने कुनै पनि प्रयासलाई राप्रपाले किमार्थ स्वीकार गर्दैन। नेपाली सेनाको भूमिकाउपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक छ,' विज्ञप्तिमा भनिएको छ।
सेनाको विषयमा निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै राप्रपाले गम्भीर ध्यानाकर्षण जनाएको हो। 'योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनुपर्ने र सेनाविहीन राज्यको परिकल्पनाजस्ता विषयहरू शृङ्खलाबद्व रूपमा उठ्नु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण छ,' विज्ञप्तिमा भनिएको छ।
राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान रहेको भन्दै राप्रपाले बहसका निम्ति आफूहरू तयार रहेको बताएको छ। 'नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिवद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिनु हुँदैन। नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमा समेत अलग पहिचान बनाएको छ। तसर्थ सेनाको संख्या कटौतीको बेमौसमी बहसलाई अन्त्य गर्न जरुरी छ,' विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !