बढ्यो यातायातको राजस्व
बेनी : गण्डकी प्रदेशका यातायात कार्यालयबाट संकलन हुने राजस्व बढेको छ। अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷८० मा यातायात कार्यालयले संकलन गरेको राजस्व ३० प्रतिशतले बढेको हो।
बागलुङ, डुम्रे र नवलपुरमा एक-एक र कास्कीमा दुई यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङजामा यातायात सेवा कार्यालयले कुल ३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।
सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारी साधन दर्ता, नवीकरण र जरिवानालगायतका शीर्षकमा राजस्व संकलन भएको हो। मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा ९३ करोड रुपैयाँ बढी राजस्व संकलन गरेका हुन्।
यातायात कार्यालय पोखराले सबैभन्दा बढी २ अर्ब ५ करोड ६० लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यातायातका प्रमुख डिल्लीराम रिजालले करको दरमा भएको वृद्धि र सहज रूपमा कर तिर्ने व्यवस्थाले राजस्व बढेको बताए। ‘हाम्रो कार्यालयमा फाइललाई डिजिटलाइजेसन गरेपछि राजस्व बढेको छ,’ उनले भने, । cc
कास्कीले २४ करोड ३९ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आवको भन्दा २१ प्रतिशतले बढी हा। बागलुङमा १९ करोड १४ लाख ५ हजार, नवलपुरबाट ३१ करोड ६६ लाख ४८ हजार र डुम्रेमा १८ करोड ७५ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
यातायात शाखा लमजुङले ४ करोड १६ लाख ६६ हजार, स्याङजाले ९ करोड १९ लाख र गोरखाले ३ करोड ९१ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन
गरेको छ। दरबन्दी अनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्ने, संघीय सरकार मातहतको सर्वरमा बेलाबेलामा आइरहने समस्याका कारणले सेवा प्रवाहमा चुनौती रहेको यातायात कार्यालय डुम्रेका प्रमुख कुशल सुवेदीले बताए।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेशको आन्तरिक आम्दानीमा ६६ प्रतिशत योगदान यातायात कार्यालयले गरेको बताए ।
प्रतिक्रिया दिनुहोस !