बाघ जोगिए जोगिन्छ जैविक प्रणाली

बाघ जोगिए जोगिन्छ जैविक प्रणाली

बाघको विशेषता के हो र यसलाई किन संरक्षण गर्ने ?

बाघलाई पारिस्थितिकीय प्रणालीमा भूमिका निर्वाह गर्ने मुख्य प्रजातिका रूपमा मानिन्छ। बाघ भएका जंगल जैविक विविधताले भरिपूर्ण हुन्छन्। यसले जैविक प्रणालीलाई जोगाउने काम गर्छ। बाघ भएको जंगल हराभरा, पानी स्वच्छ वातावरणयुक्त हुन्छ। बाघ भएका जंगलमा अन्य प्राणीहरू पनि रहन्छन्।

बाघ नभएको जंगल वातावरणीय दृष्टिले प्रदूषित हुन्छन्। स्वच्छ र भरिपूर्ण जंगल हुन बाघको महत्वपूर्ण भूमिका रहन्छ। बाघ सांस्कृतिक, धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यसलाई हर चिज नियन्त्रण गर्न सक्ने शक्तिको बिम्ब तथा क्षमतावान जनावरको रूपमा लिइन्छ। त्यसकारण यसलाई संरक्षण गर्नुपर्ने हाम्रो दायित्व पनि हो र प्रकृतिको नियम पनि। 

प्रतिबद्धता अनुरूप नेपालमा बाघ बढ्यो। अब कसरी अघि बढ्ने ?

नेपाल सरकारले सन् २०१० मा सेन्टपिटर्सवर्गमा जुन प्रतिबद्धता गरेको थियो, त्यो प्रतिबद्धताका आधारमा दोब्बर बनाउने जुन वेशलाइन संख्या १२१ लिएका थियौं, सन् २०२२ मा आएर ३५५ झन्डै तेब्बर बाघ बनाउन सफलता हासिल गरेका छौं। यद्यपि हामीसँग मानव र बाघको दृष्टिले चुनौती पनि छन्। चुनौती भए तापनि संसारमा संरक्षणको कुरा गर्दा हामी अब्बल नै छौं। व्यवस्थापनको हिसावले धेरैकुरा ध्यान दिनुपर्ने देखिन्छ। 

नेपालमा बाघ बढाउन अन्तर्राष्ट्रिय स्तरबाट कस्तो सहयोग छ त ?

अन्तर्राष्ट्रिय रूपमा विभिन्न दाताहरूबाट बाघको अध्ययन अनुसन्धान, संरक्षणलगायत विविध कुराहरूका लागि सहयोग भएको छ। नेपाल सरकारले पनि यसलाई संरक्षणको महत्वपूर्ण केन्द्रको रूपमा लिएर काम गरेको अवस्था छ। जस्तै राष्ट्रिय बाघ संरक्षण समितिमा प्रधानमन्त्रीले प्रमुख भूमिका निर्वाह गरेको अवस्था छ। त्यस्तै, स्थानीय स्तरमा मध्यवर्ती क्षेत्रका समुदायहरूदेखि माथिल्लो स्तरसम्मको लिंक, देशको राजनीतिक वृत्तबाट पनि सहयोग भएको देखिन्छ। त्यो समर्थन देखेर अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले पनि सहयोग गरेको अवस्था छ। हुँदा हुँदै पनि आर्थिक श्रोत जहिले पनि निश्चित नै हुन्छ।

हामीले सफलता हासिल गर्न अन्तर्राष्ट्रिय लेभलमा डोनरहरूबाट विभिन्न पार्टनर संघ–संस्थाहरूमार्फत सहयोग गरेको अवस्था छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लूडब्लूएफ, जेडएसएल, यूएसएआईडी जस्ता संस्थाले पनि आर्थिक सहयोग गरेका छन्। अन्य प्रोजेक्टहरूबाट पनि हामीलाई सपोर्ट भएका छन्। हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय सपोर्ट पाइरहेका छौं। त्यसैका आधारमा सफलता हासिल गरेको हो। विशेष गरी स्थानीय जनताहरूको बुझाइ, सोचाइ र सहयोग छ त्यो पनि एउटा महत्वपूर्ण छ। यद्यपि वन तथा वातावरण मन्त्रालयले लिड गर्ने र त्यसअन्तर्गत रहेका राष्ट्रिय निकुञ्ज विभाग, वन विभागले स्थानीय लेभलमा लिडरसिप लिएर जुन काम गरेको छ त्यो सबै कुराको सेटअप मिलेको छ। यसले गर्दा सफलता हासिल गरेको हो र भइरहेको छ। 

बाघ बढेसँगै चुनौती र अवसर दुवै छ, कसरी समाधान गर्ने त ?

एकदम, यस्तै छ। हामीसँग मुख्य गरी चुनौती धेरै छन्। यो निरन्तर रहन सक्ने पनि हुन सक्छ। संरक्षणका कार्यहरू गर्दा ठ्याक्क निर्मूल हुँदो रहेनछ। त्यसमध्येमा हामीले कुरा गर्दा वासस्थान विनाश, साँघुरिनु भूखण्डीकरण हुनु चुनौतीका रूपमा छ। अर्को बाघको चोरी शिकार र अवैध व्यापार पहिलेदेखि चल्दै आएको छ। यो पनि चुनौतीको रूपमा लिन सक्छौं। मानव र बाघबीचको द्वन्द्व, सीमित स्रोतसाधन, त्यसैगरी तापक्रम वृद्धि हुँदा जलवायु परिवर्तनको असर छ। यसले गर्दा केही प्रजातिहरू लोप हुँदै जाने क्रम बढेको छ। इकोसिस्टममा बिचलन आउँदा अनियमित वर्षालगायतका कारणले बासस्थानलगायत आहारामा असर पुगेको छ। स्वस्थ्य आहारा अभावका कारण बाघलाई असर पार्न सक्ने खालका चुनौती हामीसँग छन्।

जतिसुकै सचेतना र शिक्षाका कुराहरू गरिरहेका छौं यसलाई निरन्तरता दिनुपर्छ। अर्को पुस्तामा पु¥याउनु पर्ने ज्ञानहरू महत्वपूर्ण हो। कनेक्टिभिटी, करिडोर, ईनब्रिडिङका कुराहरू पनि चुनौती हुन्। बासस्थानमा इन्फ्रास्ट्रक्चर, सडक निर्माणलगायतका कार्यले बासस्थान टुक्रिन सक्ने खतरा छ। जसका लागि ग्रीन इन्फ्रास्ट्रक्चर बनाउनुपर्छ। अहिले नेपाल सरकारले गाइडलाइन स्वीकृत गरेको छ। त्यसलाई मानेर फलो ग¥यौं भने चुनौतीलाई हटाउन सक्छांै। 

अर्को कुरा समस्याग्रस्त बाघहरू कसरी व्यवस्थित गर्न सक्छौं। यसका उपायहरू पनि छन्। बाघ संरक्षणलाई स्थानीय अर्थतन्त्रमा कसरी जोड्ने जुन जोड्न नसकेको कुरा चुनौतीका रूपमा छ। बाघ संरक्षणको व्यवस्थापन गर्दा बाघ ओहोरदोहोर गर्ने, बाघको घनत्वका आधारमा बासस्थान कसरी व्यवस्थापन गर्ने भन्ने एउटा चुनौती छ। तराईबाट चुरेका उचाइमा पनि बाघहरू देखिएका छन्। यसलाई पनि कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौती छ। यसमा तल्लोदेखि माथिल्लो तहका तीनैवटा सरकारमा कसरी एट्याच गर्न सक्छौं भन्ने देखिन्छ। प्राथमिकताका आधारमा बाघ मुख्य संरक्षण केन्द्रको वन्यजन्तुमा पर्छ। यहाँको संरक्षण संसारले नै नजर लाएर हेर्ने गर्छ। त्यो हाम्रो अवसर हो। भूपरिधि स्तरमा संरक्षण थालेका छौं, त्यो पनि अवसरकै रूपमा लिन सकिन्छ। भूपरिधीय संरक्षणलाई बाघको आधारमा हुने पर्यापर्यटनलाई हामीले विकास गर्न सक्नुपर्छ। 

एकातिर बाघको संख्या बढेको छ। अर्कोतिर समुदायले ज्यान गुमाएका छन्। अघि बढ्न कसरी सम्भव छ त ?

एकदम। यसलाई हामीले मानव–बाघ द्वन्द्व घटाउन आर्थिक अवसर बढाउनुपर्छ। बाघको नाममा स्थानीय समुदायलाई फाइदा हुने गरी काम गर्नुपर्छ। समस्याग्रस्त बाघहरूलाई टाइगर सेन्चुरी बनाएर पर्यटनलाई प्रबद्र्धन गर्नुपर्छ। जुन जंगलमा बाघ नदेख्ने पर्यटकलाई सेन्चुरीमा लगेर देखाउने। त्यसबाट आएको पैसा प्रत्यक्ष संरक्षण र समुदायमा जाने गरी अघि बढ्न सक्नुपर्छ। यसले बाघको व्यवस्थापन त हुन्छ नै। त्यसबाट आउने पैसा समुदायले पाउँछ। जसबाट मानवीय आक्रमणको चुनौती कम गर्न मद्दत पुग्छ। यस्तै विविध कार्य गर्न सक्यौं भने अघि बढ्न सक्छौं। 

नेपालको बाघ बहन क्षमता कति हो ?

चितवन पर्सा कम्प्लेक्समा १ सय ७५ वटा बाघ राख्न सक्ने क्षमता हुन्छ भन्ने अध्ययन भएको थियो। त्यो अध्ययनको आधारमा अझ पनि हामीसँग स्पेस देखिन्छ। तर, त्यो स्पेस पूरा गर्न के–के कुरा गर्न सकिन्छ भन्ने हामीसँग चुनौती छ। अवसर पनि हो र रणनीति पनि हो। यसलाई जे भन्छौं त्यही हिसावले मान्नुपर्छ। त्यसका लागि अब चाहिने कुराहरू भनेको बासस्थान, आहाराको संरक्षण उचित आहारा नपाए बाघ जंगल बाहिर निस्कन सक्छन् या उनीहरूलाई अर्कैखाले समस्या आउन सक्छ यिनै कुराहरू हुन्। यस्ता कुराहरूलाई हामीले ध्यान दिनुपर्छ। वन्यजन्तुलाई रोग ब्याधका कुरामा पनि ध्यान दिनुपर्छ। यसको अध्ययन भएको छैन। त्यो गर्नुपर्ने पनि छ। यसले कुनै रोगका कारण जनावर जंगल बाहिर आउन सक्छन् भन्ने पनि जानकारी पाइन्छ। 

तपाईं बाघ विशेषज्ञ हुनुहुन्छ, सहअस्तित्व कायम गर्न के गर्नुपर्छ ?

सहअस्तित्वका लागि सबैभन्दा महत्वपूर्ण विषय भनेको हाम्रो आनिबानी व्यवहार हो। त्यो सुधार्नुपर्छ। हामी वन जंगल जान्छौं, त्यसमा हामीले कति कुरा ध्यान दिँदैनौं। वन जानुपर्ने हाम्रो बाध्यता पनि हो। रोजीरोटीको कुरो छ। हामी पनि बाँच्नुपर्छ। बास भएको संरक्षित क्षेत्र वरिपरी बसेका छौं। प्राकृतिक स्रोतमाथि हामी आश्रित छौं।

बाघ भएको क्षेत्रमा जाँदा हामीलाई यो यो कुरा हुनसक्छ भन्ने कुराहरू थाहा पाइसकेपछि हामीले ती कुराहरू परिवर्तन गर्नुपर्छ। यो गर्न हुन्छ, यो हुँदैन, यो हिसावले जानुपर्छ भन्ने कुरोमा परिवर्तन हुनुपर्छ। हामी सहअस्तित्व तिरको दिशातिर जान नेपाल सरकारले समुदायलाई वन जंगल जानु नपर्ने बनाउन कस्तो खाले कार्यक्रम गर्ने, उनीहरूको घर कस्तो खाले बनाउने स्थानीय सरकारसँग समन्वय गरेर गर्नुपर्छ। वन्यजन्तु देशकै गहना भएकाले त्यसको पनि अस्तित्व जोगाउनुपर्छ भन्ने किसिमका कार्यक्रमहरू प्याकेजमा लैजानुपर्छ। तिनै तहका सरकारले यसलाई अपनत्व लिनुपर्छ। 

सरकारको बाघ संरक्षण नीति कस्तो हुनुपर्छ ? 

बाघकै हिसावले टाइगर कन्जरभेसन एक्सन प्लान बनेको छ, त्यसलाई रणनीतिकै रूपमा लिन सकिन्छ। प्लान भर्खरै प्रमाणित पनि भइसकेको छ। यसको मुख्य उद्देश्य भनेको बाघ र बाघको बासस्थान, आहारालाई कसरी व्यवस्थापन गर्न सक्छौं भन्ने हो। व्यवस्थापनसँगै आयआर्जनमा कसरी लैजाने, जनता र राज्यलाई कसरी आम्दानी हुन्छ, चोरी शिकार र अवैध व्यापार कसरी नियन्त्रण गर्न सक्छौं भन्ने हो। 

त्यहाँको सामाजिक संस्कृतिहरू एकीकृत रूपमा कसरी माथि लैजान सक्छौं र समुदायको जीवनस्तर कसरी उकास्न सक्छौं भन्ने उद्देश्यले प्लान बनेको छ। मानव र बाघको द्वन्द्व कसरी घटाउन सक्छौं तथा आर्थिक अवसरका रूपमा कसरी लैजाने भन्ने योजनामा उल्लेख छ।

राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा कसरी समन्वय गर्ने, अध्ययन अनुसन्धानलाई निरन्तरता, अनुगमनलगायतको विभिन्न पाटो हेर्ने गरी प्लान बनेको छ। रणनीति पूरा गर्न सुशासन हुनुपर्छ। एक्सन प्लान १० वर्ष अवधिको छ। ५ अर्ब २७ करोड रुपैयाँ योजनाको लागत छ। त्यसैको आधारमा हामीले काम गर्नुपर्छ।  

प्रस्तुति : यादव आचार्य


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.