काभ्रेमा पहिरोले घर पुरिँदा सञ्चमायाको मृत्यु, ५ जना बेपत्ता
काभ्रे : काभ्रेमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ। खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो। पहिरोले एकै परिवारका ६ पुरिएका थिए।
खानीखोला गाउँपालिकाका वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तानले गम्भीर अवस्थामा उद्धार गरिएको सञ्चमायालाई बागमती–५ स्थित भोर्लेनीको एक मेडिकलमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार अंकलबहादुरसहित शिला स्याङ्तान, जीवन पहरी, २ वर्षीय तेज पहरी र १ वर्षीय देव्यणी पहरी बेपत्ता छन्।
अध्यक्ष थिङले उद्धार कार्यमा खटिन स्थानीयलगायत त्यस आसपासमा रहेका सबैलाई आग्रह गरेका छन्। बेपत्ता शिला र जीवन अकलबहादुरको छोरी ज्वाईं हुन्। त्यस्तै तेज र देव्यणी उनको नाति नातिना हुन्। उनीहरु सबै एकै घरमा बस्दै आएका थिए।
वडा अध्यक्ष स्याङ्तानले आफूसहित ताल्ढुंगा प्रहरी चौकीको टोली घटनास्थलतर्फ गइरहेको र मकवानपुरको बागमती गाउँपालि भोर्लेनीमा रहेको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिरहेको जानकारी दिए। दुई दिनदेखि परेको अविरल वर्षाको कारण घरमाथिबाट पहिरोले घर पुरेको थियो।
प्रतिक्रिया दिनुहोस !