रकम माग्दा व्यवसायीलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद हो : बर्तौला
काठमाडौं : नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन्। उनले शान्तिपूर्ण आन्दोलनमा रहेका निर्माण व्यवसायीमाथि आज चरम दमन र गिरफ्तार गर्नु सरकारको अधिनायकवाद भएको बताएका हुन्।
भुक्तानी नदिएको भन्दै सडक विभाग र सिँचाइ विभागमा निर्माण व्यवसायीले ताला लगाउन खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। उनले सरकारको क्रियाकलापको सबैले विरोध गर्नुपर्ने बताए।
उनले सार्वजनिक निर्माण कार्य गरेबापत सरकारबाट पाउनुपर्ने अर्बौं रकमको माग गर्नु स्वभाविक भएको उल्लेख गरे। सचेतक बर्तौलाले भने, ‘सार्वजनिक निर्माण कार्य गरेबापत सरकारबाट पाउनुपर्ने अर्बौं रकमको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका निर्माण व्यवसायीमाथि आज चरमदमन र दर्जनौंलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद हो। सबैले विरोध गरौं।’
व्यवसायीहरूको अर्बौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका माग राखी व्यवसायीहरू साउन १४ गतेदेखि निरन्तर आन्दोलनमा छन्।
प्रतिक्रिया दिनुहोस !