कांग्रेस संसदीय दलको बैठक बस्दै : एमालेले उठाएको उच्चस्तरीय छानबिनबारे के गर्ला निर्णय ?
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा निर्णय गर्दै आज सकिन लागेको हो।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेपछि बस्ने गरी बैठक बोलाइएको बताए । बैठकमा संसदको गतिरोध खुलाउने, सरकारले ल्याउने विधेयक, सुन तस्करी, र सरकारका पछिल्ला कामबारे छलफल भइरहेको छ।
आइतबारसम्म ५४ सांसदहरुले आ-आफनो धारणा राखिसकेको र आज बाँकी सदस्यहरुले धारणा राख्नेछन्।
कांग्रेसका सांसदहरु सुन तस्करी प्ररकणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयमा दुई धारमा उभिएका छन्। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने धारणा बैठकमा जबर्जस्ती उठेको छ। सांसद सनिल शर्मा पक्राउ परेपछि उनीहरु थप चिढिएका हुन्। कांग्रेस नेता डा.शेखर कोइरालाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राजस्व अनुसन्धान विभागले मात्रै सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्याउन नसक्ने भन्दै उच्चस्तरीय समितिको माग गरेका हुन्।
आइतबारको बैठकमा कांग्रेस नेता डा. कोइरालाले उच्चस्तरीय समिति बनाएर सुन तस्करीको गहिरो गरी छानबिन गर्नुपर्ने बताए। सांसद अर्जुननरसिंह केसी र प्रदीप पौडेलले पनि सुन तस्करीका बारेमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर गहिराइमा पुग्नुपर्ने बताउँदै आएका छन्।
उच्चस्तरीय समितिको माग गर्दै विपक्षी एमालेले लगातार संसद् अवरोध गरिरहेको छ। प्रमुख सचेतक लेखकले जनताको कुरा उठाउने संसद् प्रमुख प्रतिपक्ष दलले निरन्तर अवरोध गर्नु आपत्तिजनक भएको बताए।
प्रतिक्रिया दिनुहोस !