पूर्वप्रदेश सांसद कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टीको झण्डा आधा झुकाउने
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशसभाका पूर्व सदस्य डा.राजाराम कार्कीको शोकमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ। बिहीबार बिहान बसेको आकस्मिक केन्द्रीय समिति बैठकले बिहीबार र शुक्रबार केन्द्र,सबै प्रदेश र जिल्लाका कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।
शुक्रबार केन्द्र, प्रदेश तथा सबै जिल्ला कार्यालयहरू बन्द गर्ने र १३ दिनसम्म कार्याहरूमा शोक पुस्तिका राखिने निर्णय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार १३औं दिनको पुण्यतिथिमा भदौ १८ गते सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गरिनेछ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य कार्की २०७४ सालको निर्वाचनमा समानुपातिकबाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। पार्टीको संगठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा कार्कीले पुर्याएको योगदान इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ।
कार्कीको बुधबार निधन भएको थियो। उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान पार्टी कार्यालयमा राखिएको थियो। नेता कार्कीको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !