पसलमै पुगेर व्यवसाय दर्ता
नुवाकोट : उद्योगी व्यवसायीलाई दायरामा ल्याउन जोड दिँदै नुवाकोटको विदुर नगरपालिकाले पसलमै पुगेर व्यवसाय दर्ता कार्य सुरु गरेको छ। अधिकतम व्यवसायीलाई मापदण्डमा ल्याउनका लागि नगरपालिकाले उक्त अभियान सुरु गरेको हो।
विदुर नपाले ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रम सञ्चालन गरेको हो। पालिकाका मेयर राजन श्रेष्ठले ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ अभियानको सुरुवात गरेका हुन्।
मेयर श्रेष्ठले सोलेको विदुर-७ सोलेबाट सो अभियानको सुरुवात गरे। उनका अनुसार नगरपालिकाले यो अभियान पहिलो पटक सञ्चालन गरेको हो। सूर्य दाइको किराना पसलकी सञ्चालिका कल्पना मोक्तानलाई व्यवसाय दर्ताको प्रमाणपत्र वितरण गरेर जहाँ व्यवसाय त्यहाँ दर्ता’अभियानको सुरु भएको हो।
विदुर नगरपालिकाले बजार अनुगमन, व्यवसाय सूचीकृत र व्यवसाय दर्ता कार्यक्रम सञ्चालन गरेको मेयर श्रेष्ठको भनाइ छ। नपाले सुरुवात गरेको यो अभियानबाट व्यवसायीलाई व्यवसायसँग सम्बन्धित विषयवस्तुका सम्बन्धमा जानकारी भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !