बेलाबेलामा विश्व चिहाउनु पर्छ। अनिमात्र नेपाल विकासका अनेक आयामले विश्वव्यापी बन्न सक्छ। आफ्नै पारा र एकोहोरो प्रयासले परिणाम पनि ‘प्राक्टिकल’ र पूर्ण नहुन सक्छ। हुन त देशको भूगोल र संस्कृतिअनुसारकै विकास दिगो हुन्छ तर सबै बुझेर आफूअनुकूल काम गर्दा परिणाम शतप्रतिशत प्राप्त हुन्छ। भनाइ नै छ, ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली।’
सँगैका देशहरूले विकासमा छलाङ मारिसके। नेपाल भने जहाँको त्यही छ भन्दा खासै अत्युक्ति हुँदैन। एसियाकै केही देश जसले तीन/चार दशकभित्रै आफूलाई विश्वकै आँखा लाग्ने बनाए। यसरी अग्रगामी छलाङ मार्दा पनि नेपाली राजनेताहरूलाई त्यसले कहीँ कतै छोएको छैन। होइन भने सरकारको नेतृत्व गर्ने राजनीतिक दलहरूको सोच र कार्यशैली पक्कै बदलिन्थ्यो।
अनेकौं पटक प्रधानमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री बनेका उदाहरण हेर्दा लाग्छ, त्यहाँ पुगेर देश र नागरिकका लागि केही हुटहुटी पटक्कै छैन। त्यो सोचसम्म तिनका कामले देखाउँदैन। प्रजातन्त्रपछिका ३४ वर्षे उपलब्धि हेर्दा सहजै निष्कर्ष निस्कन्छ, नेपाल समग्र विकासका दृष्टिले
विकासका अनेक आयामका लागि भरमग्दुर प्रयास त आवश्यक छ नै। तर सबैको बुद्धि मिसाएर नयाँ बुद्धि निकाल्नु बढी बुद्धिमानी हुन्छ। भएकै बजेट खर्च गर्न नसक्ने/नजान्ने नेपालका नेता, खर्च गरिहाले आफ्नै गाउँठाउँ र आफ्नामार्फत गर्नुपर्छ भन्ने मानसिकताका नेता र हरेक योजनामा ‘कमिसन’को चक्करमा परिरहने नेता अनि ‘भ्रष्टाचार’ नगरी कसरी हुन्छ भन्ने सोच राख्ने नेताले दिने परिणाम कस्तो होला ? के यसरी नै सम्भव छ नेपाल विकासशील राष्ट्र बन्न ? विकासका लागि ‘हार्ड लेबर’ आवश्यक छ। तर यतिले हुँदैन, समयसापेक्ष ‘सूचना–प्रविधि’को प्रयोग पनि गर्नुपर्छ।
विकास भनेर सडक, पुल र भवन निर्माण गरेरमात्रै ‘गन्तव्य’ चुम्न सम्भव छैन। यो भनेको अघाउन ‘भात’ खाएजस्तो मात्र हो। जसरी ८४ व्यञ्जनको परिकल्पना गरिएको थियो, त्यसैगरी समग्र विकासका लागि ‘क्रस–कटिङ इस्यु’हरू मथ्नुपर्छ, अमृत निकाल्नुपर्छ। सरकार ‘साना’बाट ठूलो सम्भावनाको खोजी गर्दैन र त नागरिकले हरेक काममा समस्या झेलिरहेछन्।
‘ठूला’ कुराले न्यूनतम आवश्यकता पूर्ति नभएरै नेपाल पछाडि धकेलिइरहेको हो भन्दा दुईमत नहोला। लेखको सन्दर्भ– गोलाकार अर्थतन्त्र अर्थात् सर्कुलर इकोनोमीमा केन्द्रित छ। उत्पादन र उपभोगको नयाँ ढाँचा हो, गोलाकार अर्थतन्त्र। कुनै पनि उत्पादित वस्तु वा सामग्री पुनप्र्रयोग धेरैपटक गरी त्यसबाट अधिकतम लाभ लिने प्रयास यसमा रहन्छ। दुर्लभ स्रोतहरूको पुनः प्रयोग अत्यन्तै उपयोगी उपाय हो।
त्यो वस्तु वा सामग्रीको दिगो प्रयोगले दिगो विकासमा सघाउ पुग्ने विश्वास यसमा लिइन्छ। मर्मत, नवीकरण र पुनः प्रयोग गर्ने उपाय यसमा रहन्छन् जसले एकपटक उत्पादन गरिएका वस्तु वा सामग्रीको जीवन चक्र लामो समयसम्म चल्नेछ। यस्तो अर्थतन्त्रमार्फत देशहरूले आर्थिक रूपमा लाभ उठाउन सक्छन्। चीन र युरोप सर्कुलर इकोनोमीमा नेतृत्व गरिरहेछन्। यसले वन विनाश र बासस्थान परिवर्तन आवश्यक छैन भन्छ अर्थात् यसले मूलतः ‘इको सिस्टम’लाई ध्यान दिएको छ। सबैभन्दा बढी चीनले यसमा प्रभाव जमाएको छ र त विश्वको ध्यान आफूतिर खिचेको छ।
प्रयोग भएका केही उदाहरण प्रतिनिधि सन्दर्भमा लिन सकिन्छ– प्रयोग भएका प्लास्टिकका बोतलहरू कार म्याट र ड्यास बोर्डमा परिणत गर्न सकिन्छ। थोत्रा टायर जुत्ता बनाउने जस्ता काममा प्रयोग गरिन्छ। विभिन्न ‘रिसाइकल’ सामग्री प्रयोग गरेर कपडा बनाइन्छ। प्रयोग गरिसकेको फोहोर पानीलाई प्रशोधन गरी प्रयोगयोग्य बनाइन्छ। प्रयोग गरिएको तेलबाट घरमै साबुन बनाउन सकिन्छ। पुराना कपडाहरूको पुनः प्रयोगबाट अनेक नयाँ वस्तु उत्पादन गर्न सकिन्छ। गोलाकार अर्थतन्त्रमा वस्तु वा सामग्रीको आयु बढाउनेसम्मका लक्ष्य छन्।
यस प्रकारको अर्थतन्त्र विशेषगरी औद्योगिक ढाँचामा बढी प्रयोग हुन्छ। जहाँ खेर जाने वस्तु वा सामग्री सकेसम्म कम गरिन्छ भने तिनको अधिकतम प्रयोग कसरी गर्न सकिन्छ भनेर हेरिन्छ। यी दुई उपायमार्फत विकासमा दिगोपन कसरी कायम र प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्य राखिन्छ। किनकि आधुनिकता बढेसँगै मानिस ‘किन्ने, प्रयोग गर्ने र फाल्ने’ मा केन्द्रित हुन थालेका छन्। ‘युज एन्ड थ्रो’ले अनावश्यक भार बढाउँछ र कुनै पनि वस्तु वा सामग्रीको अधिकतम प्रयोग हुने/गर्ने बाटो बन्द गरिदिन्छ।
यो रेखीय अर्थतन्त्रको विकल्पमा गोलाकार अर्थतन्त्रको अवधारणा अघि बढाइएको हो। सन् १९८८ मा ब्रिटिसहरूले यसलाई जन्म दिए पनि नेपाल यसतर्फ अझै अनभिज्ञजस्तै छ। यो अर्थतन्त्रले गर्ने क्रियाकलापहरूले ऊर्जा, श्रम र सामग्रीको रूपमा महŒव संरक्षण गर्छ। अर्थात् यसले ‘रिसाइक्लिङ’का लागि मुख्यतः चार अवधारणा अघि सारेको छ– पुनप्र्रयोग, पुनर्निर्माण, पुनर्उत्पादन र स्थायित्व। गोलाकार अर्थतन्त्र एउटा लचिलो प्रणाली हो जुन मानिसका लागि त राम्रो विकल्प हो नै, साथै वातावरणीय एवं व्यापारिक दृष्टिले पनि उत्तम मानिन्छ। विश्वव्यापी मुद्दा बनेको जलवायु परिवर्तनविरुद्ध पनि यो आवश्यक छ।
अवधारणाअनुसार यी सबै काम निरन्तर चक्रमा हुने गर्छ। सर्वप्रथम यसमा उत्पादनहरू नै लामो समयसम्म चल्ने खालका हुन्छन्, मर्मत पनि सजिलै गर्न सकिने गरी बनाइएका हुन्छन्। भन्नुको तात्पर्य, उत्पादित वस्तु वा सामग्रीहरूको जीवनचक्र नै प्रभावकारी बनाइन्छ, कुशलतापूर्वक प्रयोग हुने ढंगले तयार पारिन्छ। जसमा सम्भव भएसम्म नवीकरणीय स्रोतहरू प्रयोग गरिन्छ।
विश्वव्यापी प्रयोगलाई हेर्ने हो भने गोलाकार अर्थतन्त्रले दिगो विकासमा ठूलो टेवा पुर्याइरहेको पाइन्छ। जलवायु परिवर्तनको प्रभावलाई कम गर्न यसको अहम् भूमिका हुने दाबी गरिएको छ। एक तथ्यांकले गोलाकार अर्थतन्त्र अपनाउँदा सन् २०४० सम्ममा विश्वको एकतिहाइ प्लास्टिकबाट हुने फोहोरबाट बच्न सकिने देखाएको छ। अर्कोतर्फ कच्चा पदार्थको निर्भरतामा निकै ठूलो राहत हुने देखिएको छ। सन् २०३० सम्म दिगो विकास लक्ष्य पूरा गर्नेगरी नेपालले पनि हस्ताक्षर गरिसकेको छ।
त्यसैले यीलगायतमा ध्यान दिनु जरुरी छ। कार्यान्वयनको चरणमा भए पनि नेपालले गोलाकार अर्थतन्त्रमा खासै ध्यान दिन सकेको छैन। यसकारण ‘विश्व परिवर्तन हुँदैछ’ भन्ने काम यस अर्थतन्त्रमा गरिन्छ। नेपालले विश्व परिवर्तनको बाटो समात्दै ‘नेपाली भूगोल र समाजको आवश्यकता आर्थिक विकास हो’ भन्ने यथार्थ र आवश्यकतालाई अँगाल्दै सामाजिक, वातावरणीय र व्यावसायिक दृष्टिकोणका साथ गोलाकार अर्थतन्त्रमा अधिकतम काम गर्नुपर्ने देखिन्छ।