हेलम्बुले माग्यो प्रदेश सरकारसँग सहयोग

हेलम्बुले माग्यो प्रदेश सरकारसँग सहयोग

सिन्धुपाल्चोक : अविरल वर्षासँगै मेलम्ची नदीमा आएको बाढीले थप क्षति गर्न थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग मागेको छ। 

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिरोका कारण भएको क्षतिबारे अवगत गराउँदै बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरेका हुन्। 

उनले बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, नदीका तटीय क्षेत्र संरक्षण र भौतिक संरचनाको पुनर्निर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसँग सहयोग मागिएको बताए। ‘हेलम्बु गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य सडकको विभिन्न खण्ड खोलाले बगाई क्षति पुर्‍याउनुका साथै मेलम्ची खोलाको तटीय क्षेत्र नजिकमा रहेका बस्ती एवम् खेतीयोग्य जमिन जोखिममा परेको हुँदा तत्काल उक्त सडक खण्ड मर्मत गरी सवारी साधनको आवातजावत सुचारु गर्नुपर्ने देखिएको छ’, उनले भने ‘तटीय क्षेत्रमा पर्ने बस्ती संरक्षण गर्नुपर्ने एवम् मेलम्ची खोलाले निम्त्याएको विपदबाट भएको क्षति न्यूनीकरण र व्यवस्थापनका लागि हामीले प्रदेश सरकारसँग सहयोग मागेका हौं।’

अहिले तत्काल ३ देखि ४ करोड बजेट उपलब्ध गराउन माग गरिएको अध्यक्ष शेर्पाले बताए। सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि एक करोड पठाए पनि हालसम्म अतिविपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा कुनै सहयोग नभएको प्रति उनले असन्तुष्टि प्रकट गरे। 

विपद्को समयमा संघ र प्रदेश सरकार मुकदर्शक बनेको भन्दै स्थानीय र जनप्रतिनिधिहरू रुष्ट बनेका छन्।

ललितपुरले गर्‍यो १२ लाख सहयोग

ललितपुर महानगरपालिकाले विपदग्रस्त सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

विपद् व्यवस्थापनका लागि भन्दै महानगरपालिकाले हेलम्बु गाउँपालिकालाई १२ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो। मनसुन सरु भए लगत्तै बाढी र पहिरोबाट क्षति बेहोर्दै आएको हेलम्बुले यो वर्ष पनि ठूलै क्षति बेहोर्नु परेको थियो। अविरल वर्षासँगै भदौ ८ गते आएको बाढीले यस भेगकै शैक्षिक केन्द्र सरस्वती माविको दुईवटा शौचालय र एउटा भवन बगाएको थियो।

ग्याल्थुममा रहेको सो विद्यालयको अन्य भौतिक संरचना जोगाउन र थप क्षति हुन नदिन स्थानीयवासीको सक्रियतामा प्रयासहरू भइरहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनाए। 

बाढी र पहिरोले मेलम्ची हेलम्बु सडक खण्ड अवरुद्ध हुनका साथै डिहीस्थित हाइटेन्सन लाइनको पोल ढल्दा बिजुली आपूर्ति समेत प्रभावित भएको अध्यक्ष शेर्पाले जानकारी दिए।

पठनपाठन बन्द

हेलम्बु गाउँपालिका-४ ग्याल्थुमस्थित सरस्वती माध्यमिक विद्यालयका २ वटा शौचालय र एउटा भवन बगाएपछि अहिले पठनपाठन बन्द गरिएको छ। ‘विद्यालयको अन्य संरचना जोखिममा परेपछि यहाँ पठपाठन ठप्प भएको अवस्था छ,’ रामहरि लामिछानेले भने-‘वर्षा विस्तारै कम हुँदै गएपनि स्थानीयमा त्रास कायम छ, अब बाढीले के हुने हो भन्ने डरले सबै त्रसित छौं।’

विद्यालयसहित ग्याल्थुम बजार क्षेत्रका ६ वटा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। समितिले बाढी आउने क्रम नरोकिँदासम्म पठनपाठन नगर्न समेत सचेत गराएको छ।

जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान सारिएको हेलम्बु गाउँपालिका-४ का वडाध्यक्ष बुद्धिमान तामाङले बताए। विद्यालयमा पठनपाठन बन्द भएपछि विद्यार्थीको भविष्य अन्यौलमा परेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.