पर्यटन दशक, न बजेट न तयारी
काठमाडौं : सरकारले बजेटबाटै घोषणा गरेको पर्यटन दशक सन् २०२३–०३२ तयारीको चरणमा छ। सरकारमा भने पर्यटन दशकलाई अघि बढाउने उत्साह देखिँदैन।
सन् २०२३ लाई पूर्वतयारीको वर्ष भनेको सरकारले सात महिनाको अवधिमा मन्त्रिपरिषद्बाट पर्यटन दशक मनाउने सैद्धान्तिक सहमति मात्रै लिएको छ। त्यसबाहेक आन्तरिक तयारीमा नै जुटिरहेको मन्त्रालयले जानकारी दिएको छ। नेपालको पर्यटनलाई ब्रान्डिङ र रिब्रान्डिङ गर्ने काम भइरहेको बताइन्छ। कार्ययोजना बनाउने काम भइरहेको बताइए पनि अहिलेसम्म १० वर्षमा के–के गर्ने स्पष्ट खाका देखिँदैन। पर्यटन दशकलाई अघि बढाउनका लागि अहिलेसम्म नेपाल पर्यटन बोर्डको बजेट नै पास भएको छैन।
बजेटको तयारी भइरहेको बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन्। बोर्डले तयार पारिरहेको बजेटमा पर्यटन दशकलाई समावेश गरे पनि ठ्याक्कै कसरी अघि बढ्ने बारेमा जानकारी नभएको लामिछाने सुनाउँछन्।
सरोकारवाला निकाय नै दशकलाई कसरी अघि बढाउने सम्बन्धमा अनभिज्ञ रहिरहँदा सरकारले गम्भीर रूपमा नलिएको विज्ञ एवं निजी क्षेत्रको भनाइ छ। सरकारले अध्ययन गरेर प्राथमिकताका आधारमा योजना बनाएर पर्यटन दशकलाई अघि बढाउनुपर्ने पर्यटन व्यवसायी बसन्तराज मिश्र बताउँछन्। यसलाई अघि बढाउने क्रममा अन्तरनिकाय समन्वयको समस्या देखिएको मिश्रको भनाइ छ।
- सरोकारवाला निकाय नै दशकलाई अघि बढाउने सम्बन्धमा अनविज्ञ
- प्राथमिकताका आधारमा योजना बनाएर पर्यटन दशकलाई अघि बढाउनुपर्ने पर्यटन व्यवसायीको सुझाव
भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक रहेका उद्योगी सुरज वैद्य पर्यटन दशक घोषणा गर्नु राम्रो भए पनि सोचेर अघि बढाउन जरुरी रहेको सुनाउँछन्। यस महत्त्वाकांक्षी योजनालाई घोषणामा मात्र सीमित राख्नुभन्दा सातै प्रदेशमा पर्यटन पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको वैद्यको भनाइ छ। ‘पहिला सरकारले पूर्वाधार तयार गर्नपर्यो। त्रिभुवन विमानस्थल साँघुरो भइसक्यो। पोखरा र भैरहवा विमानस्थल चलाउने योजना चाहिने उद्योगी वैद्यको सुझाव छ।
कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन दशक घोषणा गरे। पर्यटन दशकलाई अघि बढाउन पर्यटनविद् प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय विज्ञहरू सम्मिलित कार्यदल गठन गरेको थियो। कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरी २०७९ पुस ७ गते आफ्नो प्रतिवेदन बुझायो। पुस १० गते नै सरकार परिवर्तन भएर तत्कालीन पर्यटनमन्त्री श्रेष्ठ बाहिरिए भने पर्यटनमन्त्री सुदन किराती नियुक्त भए। मन्त्री किरातीले पनि यसलाई अघि बढाउँदै बजेटमा नै समावेश गराए।
विज्ञ सम्मिलित कार्ययोजनाको खाकाले देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनर्रुत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई सन् २०१९ को पूर्ववत् अवस्थामा पुर्याउने, तत्पश्चात् पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतले वृद्धि गरी सन् २०३२ सम्ममा संख्या ३५ लाख पुर्याउने र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। यसका साथै प्रतिपर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १ सय २५ पुर्याउनुका साथै देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्याउने लक्ष्य छ।
यी लक्ष्य प्राप्त गर्न संस्थागत सुदृढीकरण, पूर्वाधार स्तरोन्नति, लगानी प्रवद्र्धन, पर्यटन सेवा सुदृढीकरण तथा विस्तार गर्ने भनिएको छ। पर्यटन प्रवद्र्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवद्र्धन, पर्यटन उपज विकास तथा विस्तार एवं विविधीकरण, कोभिडपछिको पर्यटन पुुनर्रुत्थान तथा पुनर्जागरण गर्दै देशैभरि पर्यटन प्रवद्र्धनका लागि प्रादेशिक तथा राष्ट्रिय स्तरका अभियान सञ्चालन गरिने भनिएको छ।
१० वर्षमा एक वर्ष तयारीको वर्ष, ७ वर्ष प्रादेशिक वर्ष र २ वर्ष नेपाल भ्रमण वर्ष अभियान सञ्चालन गर्ने भनिएको उक्त विज्ञ समूहका सदस्य एवं पर्यटनविद् योगेन्द्र शाक्य बताउँछन्। यो सरकारले पर्यटन दशकलाई अघि बढाउने निर्णय गरे पनि खाका तयार पार्ने उक्त विज्ञ टोलीसँग अहिलेसम्म कुनै संवाद नगरेको शाक्यको भनाइ छ। सरकारले तयारी वर्षमा नै कुन वर्षमा के गर्ने र पर्यटन दशकको नौ वर्षका लागि छुट्टाछुट्टै राष्ट्रिय संयोजक तोकेर कार्ययोजना तयार गर्नुपर्ने शाक्यले बताए।