चार आयोजना एकैसाथ उद्घाटन

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चारवटा योजनाको एकैसाथ उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) र प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सडक, पुल र भवनको उद्घाटन गरे।
स्वाँतखोला मोटरेबल पुल, कृषि उपज संकलन केन्द्र र न्यूस्टार युवा क्लवको भवन मन्त्री जुग्जाली र स्वाँत–चित्रे सडकको सांसद भण्डारीले उद्घाटन गरे। पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०७९-८० मा दुई करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण सम्पन्न भएको स्वाँतखोला मोटरेबल पुल ३० मिटर लामो छ।
यो पुलले स्वाँत, किन्दु गाउँलाई वडाको केन्द्र शिख गाउँलाई सीधा सडक सञ्जालमा जोडेको स्थानीय बलबहादुर तिलिजाले बताए। दुई वर्षअघिदेखि प्रयोगमा आएको पुलको भुक्तानी र हस्तान्तरणको काम गत आर्थिक वर्षमा भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
शिखबाट पुलतर्फ जाने करिब ३०० मिटर सडक पहिरोका कारण क्षति पुगेकाले नियमित यातायात सञ्चालन गर्न समस्या भएको तिलिजाले बताए। सोक्रममा मन्त्री जुग्जालीले युवा पुस्ता बिदेसिने र गाउँका मानिस सहर बस्ने बढ्दो क्रम विकासका लागि प्रमुख चुनौती भएको बताए।
प्रतिक्रिया दिनुहोस !
