जनतालाई महसुस हुने काम गर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिशतमात्रै हिसाब गरेर नबस्न सरकारी कर्मचारीलाई निर्देशन दिएका छन्।
उनले कर्मचारी र कार्यालय भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रित नहुने भन्दै कागजी प्रगतिभन्दा पनि महसुस हुने प्रगति अहिलेको आवश्यकता रहेको बताए। 'हामी प्रतिशतको काममा अल्झिएका छौं। कर्मचारी साथीहरूले त्यतातिर पनि ध्यान दिनुस्,' उनले भने। कार्यसम्पादन र गुणस्तरमा ध्यान दिनसमेत उनले निर्देशन दिए।
प्रदेशले गौरवको रूपमा लिएको कार्यक्रम मुख्यमन्त्री आर्थिक विकास कार्यक्रको छलफल कार्यक्रममा कर्मचारीहरूलाई मुख्यमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। मुख्यमन्त्री चौधरीले आर्थिक विकास कार्यक्रमले नयाँ रोजगार सिर्जना गर्ने कार्यक्रम मात्रै सञ्चालन गर्ने र त्यहीअनुसार योजना र नीति बनाउन निर्देशनसमेत दिए।
उनले उत्पादनसँग जोडेर कार्यक्रमहरू सञ्चालन गर्न र उत्पादनमुखी कार्यक्रम निर्माण गर्न आग्रह गरे। त्यसका लागि आवश्यक विज्ञहरूको व्यवस्थापन गर्नसमेत उनले निर्देशन दिए। प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजाने र नागरिकलाई रोजगारीमा जोडने मुख्य ध्येय सरकारको रहेको भन्दै त्यसतर्फ नै केन्द्रित रहन उनको आग्रह थियो।
स्थानीय उत्पादनहरूलाई बजारीकरण गरी स्थानीय स्तरमा रहेका जनताको जिवनतर परिवर्तन गर्न सकिनेगरी काम गर्न उनले आग्रह गरे। लुम्बिनी प्रदेशमा उत्पादन भएका विभिन्न सामाग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
