सिर्जना संग्रह जरुरी
संसारभरि व्याप्त आर्थिक मन्दीको मारबाट गीत–संगीत पनि अछुतो छैन। यद्यपि अहिले यसको डिजिटल मार्केट विश्वव्यापी रूपमा बढ्दो छ। विभिन्न सामाजिक सञ्जालमार्फत छाएका सक्षम कलाकारलाई दर्शक एवं श्रोताले साथ दिएका छन्। तर, यसरी सबै कलाकारले आर्थिक लाभ पाएका छन् भन्नेचाहिँ होइन।
स्रष्टाहरूले भन्दा अहिले अन्यले गीत–संगीतको क्षेत्रबाट फाइदा उठाइरहेका छन्। यसले गर्दा वास्तविक स्रष्टा मारमा परेका छन्। कतिपय अग्रज कलाकारले आफ्नो अधिकारसमेत बुझ्नुभएको छैन। गीत गाएर उहाँहरूले छाड्नुभयो। तर, त्यसको फाइदा कुनै अर्कै कम्पनीले उठाइरहेको छ। अहिले यस क्षेत्रमा जेनेरेसन ग्याप पनि बढी देखिन्छ। त्यसैले राज्यले सबै विधाका स्रष्टाहरूसँग अन्तरक्रिया गरेर ठोक नीति नियम निर्माण गर्नु आवश्यक छ।
अहिले नेपालमा कलाकारहरू पटक्कै सन्तुष्ट छैनन्। व्यक्तिगत रूपमा भन्नुपर्दा म पनि छैन। पहिले कुनै पनि सिर्जना गर्यो भने त्यसको रेकर्डिङका लागि कम्पनीले लगानी गरिदिन्थ्यो। अहिले संगीतकार, गीतकार र गायक आफैंले लगानी गर्नुपर्ने स्थिति छ। त्यसैले हामीले गीत बनाउनुभन्दा अगाडि नै यो कसरी रेकर्ड होला, कस्तो माध्यममा रेकर्ड होला जस्ता अनेकौं तनाव लिएर सिर्जना गर्नुपर्छ। पहिले त्यस्तो थिएन। हाम्रा अग्रजहरूको रचनालाई रेडियो नेपालले आफ्नो स्टुडियोमा रेकर्ड गराइदिन्थ्यो, प्रज्ञा प्रतिष्ठानले नाटक देखाइदिन्थ्यो, किताबहरू छापिदिन्थ्यो, ललितकलाले प्रदर्शनी राखिदिन्थ्यो। तर, अहिले त्यस्तो छैन। आर्थिक स्थिति कमजोर हुँदा एउटा सानो उपचार नपाएर पनि ठूला कलाकारहरूले ज्यान गुमाउनु परेको अवस्था छ।
त्यसैले राज्यले कलाकारको हितलाई ध्यानमा राख्दै ठोस नीति नियम ल्याउनुपर्छ। एउटा सेन्सर बोर्ड बनाउनुपर्छ। कलाकारको अधिकारको क्षेत्रको विषयमा उहाँहरूलाई अनुभूत गराउनुपर्यो। उहाँहरूको सुरक्षालाई राज्यले जिम्मेवारीपूर्वक लिनुपर्यो। कलाकारले गीत बनाएर मात्र भएन। एउटा आर्काइभमार्फत त्यसको संरक्षण गर्नुपर्यो। आफ्नो सिर्जनालाई राष्ट्रिय संग्रहालयमा दर्ता गराउनुपर्छ। तर, यस विषयमा पनि कतिपय कलाकारलाई अझै थाहै छैन। त्यसैले नीति नियम भनेको आर्थिक रूपले मात्र होइन, सामाजिक रूपले पनि बनाउन सकिन्छ। एउटा स्रष्टाको सिर्जनाहरूको आर्काइभ र उसको अस्तित्व सरकारले बचाइदिनुपर्छ। पैसाको लागि मात्र होइन, भोलि इतिहासले खोज्दा भेटिने हुनुपर्यो।
(सिंह वरिष्ठ संगीतकार हुन्।)