आशा गरिएकै खेलमा कमजोर प्रदर्शन

आशा गरिएकै खेलमा कमजोर प्रदर्शन

 हाङ्चाओ (चीन) : १९औं एसियाली खेलकुदमा नेपालले पदकको आशा राखेका खेलमै कमजोर प्रदर्शन गरेको छ। पदकको आशा राखेका बक्सिङ, तेक्वान्दो, उसु, जुडोलगायतका मार्सल आर्ट्सका खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ। तेक्वान्दोको पुम्सेमा प्रेमबहादुर लिम्बू र अञ्जली तामाङले पहिलो चरणका खेलमा जित निकाले पनि दोस्रो चरणका खेलामा त्यसलाई दोहोर्‍याउन सकेनन्। एसियाली खेलकुदमा तेक्वान्दो सर्वाधिक सफल खेल हो।

नेपालले अहिलेसम्म २४ पदक भित्र्याउँदा तेक्वान्दाबाट मात्रै सर्वाधिक १५ पदक जितेको छ। जसमा एक रजत १४ कांस्य छन्। तेक्वान्दोपछि बक्सिङबाट ६, करातेबाट दुई र प्याराग्लाइडिङमा एक रजत पदक जितेको छ। करातेको प्रतिस्पर्धा भने अक्टोवर ५ बाट सुरु हुनेछ।

सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३औं एसियाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक नेपाललाई रजत दिलाएकी थिइन्।

१९औं एसियाली खेलकुदमा तेक्वान्दोमा सहभागी ११ मध्ये चार खेलाडीले सोमबारसम्म प्रतिस्पर्धा गर्दा चारै जनाले हार बेहोरेका छन्। अञ्जली तामाङले सोमबार मिश्रित प्रदर्शन गरेकी थिइन्। लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनिको तौल समूहमा अञ्जलीले पहिलो चरणको खेलमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरेकी थिइन्। पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोस्रो राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। प्रिक्वाटरफाइनलमा भने अञ्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग चुकिन्। थाइल्यान्डकी खेलाडीसँग अञ्जली १२–० र १०–० ले पछि परिन्।

यसैगरी पुरुष ५८ केजीमुनिको तौल समूहमा राहुल कुमाल पहिलो चरणमा साउदी अरेबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले हार बेहोर्दैै प्रतियोगिताबाट बाहिरिए। पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए। मंगलबार गोविन्दबहादुर आलेले पुरुष ६३ केजी तौल समूहमा इष्ट टिमोर र आयशा लामाले महिला ५३ केजीमुनिको तौल समूहमा दक्षिण कोरियाका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन्। महिलाकै ५७ केजी तौल समूहमा सन्ध्याकुमारी सिंहले पनि मंगलबार लेबनानको खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्।

यसैगरी १९औं एसियाली खेलकुदअन्तर्गतमा पनि नेपालले मिश्रित नतिजा आत्मसाथ गरेको छ। हाङझाव जिम्न्यासियममा भएको पुरुष ५१ केजी तौल समूहको अन्तिम ३२ को खेलमा रविन थापाले इन्डोनेसियाका दियो कोएबानुलाई पराजित गर्दा विनिता थापा मगर र दीपेश लामाले भने पराजय बेहोरे। रविन अंकका आधारमा ४–१ ले विजयी भएका हुन्। रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन्। विनिताले चाइनिज ताइपेईकी खेलाडीलाई नतिजा सुम्पिँदा दीपेश भारतका निशान्त देवसँग पराजित भए। 

यसैगरी जुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै खेलाडीले पराजय बेहोरेका थिए। मनिता श्रेष्ठ प्रधान, जंगबहादुर सारु र १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भएका हुन्। महिला ५७ केजीमुनिको तौल समूहमा मनिता तुर्कमेनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भए। पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.