फापरखेतको पहिरो : वैकल्पिक सडक र बेलिब्रिज बनाउन अध्ययन

बेनी : म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन भएको छ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेल सहित प्राविधिक र मंगला गाउँपालिका-३ का वडा अध्यक्ष यामबहादुर रोका लगायतको टोलीले शनिबार वैकल्पिक सडक र बेलिब्रिज निर्माणका लागि प्रस्तावित स्थानको अध्ययन गरेका हुन्।
मंगला गाउँपालिकाको वडा नम्बर ३ पखेर लुलीयाघाट र वडा नम्बर २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज तथा पखेरदेखि लुलीयाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माण गर्न निरिक्षण गरेका हुन्।
करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ।
प्रस्तावित ठाउँका जग्गाधनीको सहमति जुटाएर प्राविधिक टोलीमार्फत् विस्तृत अध्ययन गरि चालु आर्थिक वर्षभित्रनै बेलिबिज र सडक निर्माण गर्ने तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिए।
‘दश दिनअघि पहिरो निरिक्षण गर्न आउनुभएका मुख्यमन्त्रीज्यूले चालु आर्थिक वर्षभित्रनै वेलिब्रिज बनाउने सार्वजनिक रुपमा गर्नुभएको घोषणा कार्यान्वयनका लागि मेरो नेतृत्वमा प्रारम्भिक अध्ययन भएको छ,’ उनले भने ‘जग्गाधनीसँग सहमति जुटाउन पालिका र वडाका जनप्रतिनिधिहरुलाई जिम्मा दिएका छौं। लगत्तै विस्तृत अध्ययन गरेर पुल निर्माण गर्छौ।’
संघीय सरकारको सडक विभागसँग समन्वय गरेर अन्यत्रको पुल स्थानान्तरण गर्ने नभए प्रदेश सरकारको स्रोतबाट भए पनि बेलिब्रिज बनाउने मुख्यमन्त्रीसँग छलफल भएको जुग्जालीले बताए।
सामान्य वर्षा हुने वित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवत जावत बन्द हुने र ढुंगा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या छ। पहिरोबाट खसेको ढुंगाले चोट लागेर सवारी साधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन्। फापरखेतको पहिरोमा रु. छ करोड भन्दा बढी लगानी भएपनि सफल नभएकाले लुलीयाघाट–सिम जोड्ने बेलिब्रिज बनाएर वैकल्पिक सडक सञ्चालन गर्न प्रस्ताव गरिएको मंगला गाउँपालिका-३ का वडा अध्यक्ष याम रोकाले बताए। बेलिब्रिज निर्माणका लागि प्रस्तावित जग्गाका धनीहरु सकारात्मक रहेकाले उनीहरूसँग छिट्टै सहमति हुने उनले बताए।
सडक विभागले फापरखेत-पखेर जोड्ने १०५ मिटर लामो मोटरेबल पुल निर्माण गरिसकेको छ। त्यो पुल भन्दा करिब पाँच सय मिटर माथि बेलिब्रिज बनाउन लागिएको हो। फापरखेतमा करिब १५० मिटर सडक पहिरोग्रस्त छ। पाखो र भिरको बिचमा खनिएको सडक मुनी म्याग्दी नदी छ। सडक माथिको भिरमा गेगरै गेगर छ।
खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन। म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ। सडकदेखि करिब दुई सय माथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्र सहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी-दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेतको पहिरो मुख्य चुनौति बनेको छ। पहिरोप्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दा वित्तिकै पन्छाउने गरिएको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले फापरखेतको पहिरोको भूगर्वविद्को टोलीमार्फत अध्ययनका साथै वैकल्पिक सडक र बेलिब्रिज निर्माणको कामलाई सँगसँगै अघि बढाउन लागिएको बताए। ‘पहिरोको अध्ययन प्रतिवेदन र लाभ लागतको तुलना गरि वैकल्पिक सडक र बेलिब्रिज बनाउने तयारीमा छौं,’ उनले भने ‘लुलीयाघाट र सिमलचौर जोड्ने झोलुङ्गे पुल मुनी करिब ५० देखि ६० मिटर लामो बेलिब्रिज बनाउन सकिने प्रारम्भिक अध्ययन गर्दा निष्कर्ष निकालेका छौं।’
बेलिब्रिजको लुलियाघाट नजिकैसम्म सडकको मार्ग पुगेको र सिमलचौरतर्फ करिब १०० मिटर मार्ग खोलेर स्तरोन्नति गरेर बेनी-दरवाङ सडकमा जोड्न सकिने पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !
