काठमाडौं : चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को क्वाटर फाइनलमा नेपालको राष्ट्रिय क्रिकेट टिमले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह चरणको खेलमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनल पुगेको नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो।
क्वार्टरफाइनलको लक्की ड्रबाट नेपाल भारतसँग परेको हो। मंगलबार बिहान ६:४५ बजे हुने खेलमा भारतलाई जितेमा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ। नेपालले एसिया कपमा पनि भारतसँग खेलेको थियो। भारत विश्वकपको तयारीमा रहेकाले एसियाली खेलकुदमा दोस्रो श्रेणीको युवा टीमलाई पठाएको छ।
यसैगरी अन्य क्वार्टरफाइनलमा बंगलादेश र मलेसिया, पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तानबीच खेल हुनेछ।
समूह चरणको खेलमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित र माल्दिभ्सविरुद्ध १३८ रनको शानदार जित निकालेको थियो।
नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रनको योगफल खडा गरेको थियो। मंगोलिया १३.१ ओभरमा ४१ रनमा समेटिएको थियो। टीट्वेन्टी क्रिकेटमा कुनै पनि टोलीले तीन सयको आँकडा पूरा गरेको यो पहिलो पटक थियो।
प्रतिक्रिया दिनुहोस !