हाजिर भएको तीन दिनमै सरुवा
तानसेन : हाजिर भएको तीन दिनमै पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेलाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले सरुवा गरेको छ।
दशौ तहका एमडीजीपी डा. बञ्जाडेलाई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनाले गुल्मी जिल्ला अस्पतालमा सरुवा गरेका हुन्। डा. बञ्जाडे पाल्पा अस्पतालमा यही असोज १६ गते हाजिरी भएका थिए भने असोज १८ गते सरुवा गरिएको छ।
संघीय सरकारअन्तर्गत रहेका दशौ तहका चिकित्सक बञ्जाडेले पाल्पा अस्पतालमा रमाना लिएर हाजिर हुँदा प्रदेश स्वास्थ्यमन्त्री खनालसँग सहकार्य नगरेको भन्दै हाजिर भएको ३ दिनमै सरुवा गरेको बताइएको छ।
तर चिकित्सक बञ्जाडे पाल्पा अस्पतालमा हाजिर हुनका लागि लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय बाट सहमति स्वीकृति पत्र लिएर आएको अस्पताल प्रशासनले जनाएको छ।
पाल्पाको मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमा बन्द भएपछि जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक भएपछि लामो प्रयासपछि दशौ तहको चिकित्सक पाल्पा आएका हुन्। चिकित्सको सरुवाले पाल्पामा हलचल मच्चाएको छ।
अस्पताल विकास समितिका अध्यक्ष गुराश आत्रेयको अगुवाइको बसेको सर्वदलीय राजनीतिक दलको बैठकले हाजिर भएको ३ दिनमै गरिएको सरुवा मान्य नभएको बताएका छन्।
पाल्पाका सम्पूर्ण राजनीतिक दलहरूले गैरकानुनी रूपमा गरिएको सरुवा पाल्पाली जनतालाई मान्य नभएको यसका लागि आफूहरू संर्घषमा उत्रिन बाध्य नपार्न लुम्बिनी प्रदेश सरकारलाई चेतावनी दिएका छन्।
सर्वदलीय बैठकमा सहभागी प्रदेश सभासद विर बहादुर रानाले पाल्पा अस्पताल सुधार गर्न जिल्लाका राजनीतिक दलहरू एक ठाउँमा उभिएको अवस्थामा, चिकित्सक सरुवाको विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग कुराकानी भएको र सरुवा रोकिनेमा मुख्यमन्त्री चौधरी आफूलाई विश्वस्त बनाएको बताए।
पाल्पा अस्पतालमा ११ औं तहका चिकित्सकको दरबन्दी रहेको छ। अस्पतालमा कन्सल्टेन्ट चिकित्सक ११ जना, मेडिकल अधिकृत ६ जनाको दरबन्दी रहे पनि हाल कन्सल्टेन्ट २ जना र छात्रवृत्तिमा अध्ययनरत ३ जना मेडिकल अधिकृत कार्यरत रहेको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताए।
डा. बञ्जाडेले कपिलवस्तु जिल्लामा कार्यरत रहँदा बिरामीको सेवा राम्रो गरेको, अपरेसनको काम सुरु गरेको र अस्पताल सुधार्न निकै मिहिनेत गरी लुम्बिनी प्रदेशमा प्रथम बनाएका थिए।
मेडिकल सुपरिटेन्डन डा. बञजाडे पाल्पा अस्पतालमा हाजिर भएकै अर्को दिनदेखि काममा खटिएका छन्। पाल्पा अस्पतालमा दैनिक ६ सयको संख्यामा बिरामी आउने गरेका छन्।