बेथितिले जन्माएको वितृष्णा

बेथितिले जन्माएको वितृष्णा

मुलुकको अन्य महत्त्वपूर्ण क्षेत्रसँगै आर्थिक तथा सामाजिक क्षेत्रसमेत बेथितिको चंगुलबाट मुक्त हुन सकेको छैन।

केही दिन पहिले नेपालका एकजना चर्चित फुटबल खेलाडी बिदेसिएको खबरले धेरैको ध्यान आकर्षित गरेको थियो। करिब १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनी नेपालका आशालाग्दा फुटबल खेलाडी थिए। उनकै कप्तानीमा सन् २०१५ मा नेपालले यू–१९ साफ च्याम्पियनसिपको उपाधिसमेत जितेको थियो। तर, अब उनी विदेशमै बस्ने निर्णयका साथ आफ्नो मुलुक छोडेर गएका छन्।

केही वर्षयता यसरी देश छोड्ने खेलाडीको लर्को नै लागेको देखिन्छ। पछिल्लो एक वर्षमा मात्रै तीन दर्जनभन्दा बढी चर्चित फुटबल खेलाडीले देश छाडिसकेका छन्। अहिले फुटबलका स्ट्राइकरले मात्र देश छाडेका छैनन्, अन्य क्षेत्रका स्ट्राइकरसमेत बिदेसिने क्रममा छन्। मुलुकबाट अहिले दैनिक २५ सयभन्दा बढी युवा विदेश पलायन हुन् गरेका छन्। पलायन भएका सबै युवा रोजगारीका लागिमात्र बाहिरी मुलुक गएका छैनन्। देश छाड्नेमा विशेषगरी दक्ष जनशक्तिहरू पर्ने गरेका छन्। भर्खरै प्रकाशित अध्ययनले नेपालका ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५७ प्रतिशत पाइलट र ६० प्रतिशत नर्सले देश छाडिसकेको दाबी गरेको छ। 

नेपाल मेडिकल काउनीसलका अनुसार सन् २०२० मा ८ सय ६९ चिकित्सकले अध्ययन तथा रोजगारीका लागि देश बाहिर जान प्रमाणपत्र लिएका थिए। यो संख्या सन् २०२१ मा १ हजार ३ सय २७ जना र २०२२ मा १९ सय ५४ जना पुगेको जनाइएको छ। यो वर्ष कम्तीमा ४ हजार पुग्ने अनुमान काउन्सिलले गरेको छ। अहिले स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिले यो संख्या अझै बढ्न सक्ने देखिन्छ। विगत पाँच वर्षको अवधिमा झन्डै १० हजार प्रहरीले जागिर छोडेको विवरण प्रकाशित छ। यी केही प्रतिनिधि उदाहरणमात्र हुन्। देश छाड्नेमा चिकित्सक, इञ्जिनियर, चार्टर्ड अकाउन्टेन्ट, नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञानलगायत विषय पढेका जनशक्तिको लर्को छ। मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिंगो तन्नेरी पुस्ता नै विदेश हिँड्न तम्तयार हुँदा मुलुकको उन्नतिको सम्भावना भने थप खुम्चिँदो कर्ममा छभन्दा फरक पर्दैन।

मुलुकमा अहिलेसम्म सबैभन्दा आकर्षित र सुरक्षित जागिरको रूपमा निजामती सेवालाई लिने गरिन्छ। सरकारी सेवा सुविधा, वृत्ति विकासको अवसर, पेन्सन सेवा, श्रम हकअधिकार आदिको सुनिश्चितता भएका कारण यो सेवामा प्रवेश गर्ने धेरैको इच्छा देखिन्छ। पछिल्लो समय भने यस सेवाको उच्च पदमा आसिन व्यक्तित्वसमेत विदेश पलायन भएका घटना छन्। नेपाल सरकारका उपसचिव, सहसचिव स्तरका मानिसमा समेत विदेश मोह देखिएको छ। विभिन्न देशमा निजामती कर्मचारीको भीड देखिन थालेको छ। यसो हुनुको मुख्य कारण मुलुकभित्र सन्ततीको भविष्य सुनिश्चित नभएको उनीहरूको भनाइ छ।

सुनिश्चित भविष्यको निर्धारण मुलुकको नेतृत्व पंक्तिमा रहेका व्यक्तिहरूको क्षमता तथा दूरदर्शितामा निर्भर गर्छ। असल र क्षमतावान् नेतृत्वले मात्र सुनिश्चित भविष्यको आशा जगाउन सक्छ। मुलुकको नेतृत्व पंक्तिमा देखिएको असक्षमता र अनुशासनहिनताले गर्दा राजनीतिक, आर्थिक, न्यायिक, सामाजिक तथा शैक्षिक क्षेत्र लगायतमा बेथिति मौलाएको छ। यसले मुलुकको आर्थिक समृद्धिको बाटोमा मात्र अवरोध पुर्‍याएको छैन, यहाँका नागरिकमा समेत मुलुकप्रति नै वितृष्णा फैलाएको छ।

एकातिर सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन, अर्काेतिर निर्धारित खर्च गर्न सकेको छैन। यो असन्तुलनले विकास निर्माणका कार्यहरूले गति लिन सकेको छैन। 

मुलुकमा विभिन्न समयमा भएका आन्दोलन तथा संघर्षले विभिन्न राजनीतिक परिवर्तन भए पनि राजनीतिक दलका नेताहरू भने परिवर्तन हुन सकेको देखिँदैन। उनीहरू सत्तामोहबाट बाहिर उठ्न सकेका छैनन्। सत्ताका निमित्त आफ्ना सिद्धान्त, उद्देश्य तथा विचारधारालाई समेत तिलाञ्जली दिन तयार देखिन्छन्। आफ्नो स्वार्थलाई पहिलो प्राथमिकतामा राखी राज्यको स्वार्थ भुलेका नेतृत्वपंक्तिले गर्दा राजनीतिक क्षेत्रमा बेथिति मौलाएको छ। देशमा भएका चर्चित काण्डहरूमा राजनीतिक दलका नेताहरूकै नाम अगाडि आउने गरेका छन्। सुन काण्ड, जग्गा काण्ड, भुटानी शरणार्थी काण्ड आदिमा समेत मन्त्री, पूर्वमन्त्री, वरिष्ठ नेतागणकै नाम मुछिएपछि उनीहरूबाट आमनागरिकले आशा गर्न छोडिसकेका हुन्।

राजनीतिक क्षेत्रको बेथितिले मुलुकको न्याय क्षेत्रलाई समेत अस्थिर बनाएको छ। मुलुकको कानुन र न्यायको व्याख्या गर्ने न्यायिक निकायहरूमा चरम राजनीतिक हस्तक्षेपका कारण दण्डहिनता मौलाएको छ। राजनीतिक आडको भरमा पीडकहरू सजिलै उम्किन सफल भएका उदाहरण प्रशस्तै छन्। भर्खरै संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिबाट हत्याहिंसा जस्तो जघन्य अपराधमा सर्वश्वसहित जन्मकैद भएका व्यक्तिलाई आममाफी दिएर यसको गतिलो उदाहरण पेस गरेका छन्। दलका मुख्य नेतामाथि लागेका भ्रष्टाचारका कैयौं मुद्दाको वर्षौंसम्म टुंगो लाग्न सकेको छैन। मुलुकको सामाजिक तथा आर्थिक विकासका लागि पूर्वाधारको पनि पूर्वाधार मानिने शिक्षा क्षेत्र अहिले जीर्ण अवस्थामा देखिन्छ।

एकातिर मुलुकका विश्वविद्यालयहरू राजनीतिक दलका कार्यकर्ताहरू भर्ती गर्ने अखडा बन्दै गएको छ भने अर्कोतर्फ नियमित पठनपाठन, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशनजस्ता कार्य नियमसंगत हुन नसक्दा विश्वविद्यालय आफैं बदनाम हुन थालेका छन्। समय सुहाउँदो शिक्षा पद्धति र पाठ्यक्रम अवलम्बन गर्न नसक्दा यहाँका विश्वविद्याल बेरोजगार उत्पादन गर्ने कारखाना बन्न पुगेका छन्। कहिले शिक्षकहरूको हड्ताल, कहिले विद्यार्थी तथा कर्मचारीहरूको तालाबन्दीले मुलुकको शिक्षा क्षेत्र अस्तव्यस्त देखिन्छ। यस्तै गतिविधिले युवापुस्ता हाम्रा शैक्षिक संस्थाहरूप्रति आकर्षित हुन सकिरहेका छैनन्।

मुलुकको अन्य महत्त्वपूर्ण क्षेत्रसँगै आर्थिक तथा सामाजिक क्षेत्रसमेत बेथितिको चंगुलबाट मुक्त हुन सकेको छैन। राज्यका सबैजसो निकायमा भ्रष्टाचार व्याप्त छ। भ्रष्टाचारीहरूलाई कानुनको दायरामा ल्याउन नसक्दा सरकारी स्रोतसाधन दोहन हुनेक्रम बढ्दो छ। एकातिर सरकारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको अवस्था छ भने अर्काेतर्फ निर्धारित खर्चसमेत गर्न सकेको छैन। मुलुकमा कुनै पनि बेला आर्थिक दुर्घटना हुने अनुमान अर्थविद्हरूले गर्ने गरेका छन्। यस्तो अवस्थामा कुनै पनि नागरिकले मुलुकभित्रै आफूलाई आर्थिक रूपमा सुरक्षित हुनसक्छु भन्ने आशा गर्न गाह्रो देखिन्छ।

मुलुकका हरेक क्षेत्रमा बेथितिको सुरुआत राजनीतिक हस्तक्षेपबाट भएको देखिन्छ। राजनीतिक नेतृत्व नसुध्रिसम्म यो बेथितिले प्रश्रय पाइरहने पक्का छ। यस्तो अवस्थामा मुलुकभित्रै रोजगारीका अवसर सिर्जना हुने अवस्था देखिँदैन। यदि कथंकदाचित् अवसरहरू सिर्जना भए पनि दक्ष जनशक्ति बिदेसिने लर्को भने रोकिने देखिँदैन। जबसम्म स्वार्थी र दिशाहीन राजनीतिक नेतृत्वले मुलुकका प्रमुख निकायहरूमा प्रभाव जमाई राख्नेछन्, तबसम्म मुलुकबाट दक्ष जनशक्ति पलायनलाई रोक्न सकिँदैन।

बेथितिलाई जरैदेखि निर्मूल नपारेसम्म मुलुकमा शान्ति र समृद्धिको आशा गर्न सकिँदैन। यसका लागि मुलुकको शासनसत्ताको बागडोर असक्षम, भ्रष्ट, स्वार्थी, दुराचारी तथा लालची नेतृत्वहरूको हातबाट खोस्नुपर्ने समय आएको छ। देशका जागरुक युवा एकजुट हुनुपर्ने समय आएको छ। विद्यमान राजनीतिक नेतृत्वले विभिन्न क्षेत्रमा स्थापना गरेका बेथितिका खम्बाहरूलाई ढाल्नुपर्ने देखिएको छ। मुलुकमा बस्ने अवस्थाको सिर्जना युवावर्गले नै गर्नुपर्ने देखिन्छ। मुलुक नै छोडेर हिँड्दैमा समस्याको समाधान हुने देखिँदैन। मुलुकभित्रै बसेर असक्षम नेतृत्वलाई प्रक्रियागत रूपमा पाखा लगाएर सक्षम र दुरदर्शी युवाले देश हाँकेमा मात्र बेथितिको अन्त्य हुने सम्भावना देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.