अवरुद्ध अरनिको राजमार्ग खुला, अरनिको यातायात सञ्चालन गर्न नदिइने
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ खाडीचौरमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएपछि पीडित पक्षले गरेको अरनिको राजमार्ग बन्द साँझ ६ बजे खुला गरिएको छ।
काठमाडौंबाट बाह्रबिसे आइरहेको पूर्व अरनिको यातायातको बा ३ ख ५५४ नम्बरको यात्रुबसले शनिबार ठक्कर दिँदा स्थानीय माइली तामाङको मृत्यु भएको थियो।
मृतकका आफन्तले विभिन्न माग राखी आइतबार मध्याह्न १२ बजेदेखि खाडीचौर, अमलटार आसपास सवारी आउजाउ ठप्प बनाएका थिए। उनीहरूले सडकमा ढुंगामुडा राखेर सवारी आउजाउ बन्द गरेका थिए।
यात्रुहरू अलपत्र परेको भन्दै आइतबार साँझ पीडितपक्षसँग प्रहरी, सम्बन्धित निकाय, अगुवा, स्थानीय प्रशासनले वार्ता गरेको थियो। वार्तापछि अरनिको राजमार्ग खुला गर्ने तर अरनिको यातायात भने सञ्चालन गर्न नदिने मृतकका आफन्तले अडान राखेपछि सो यातायात बाहेकका सवारी साधन खुला गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए।
सोही बसमा यात्रा गरेर, बाटो काट्ने क्रममा बसको ठक्करबाट तामाङ सख्त घाइते भएकी थिइन्। उनलाई उपचारार्थ काभ्रेस्थित धुलिखेल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं, सीसीटीभी फुटेजबाट यथार्थ घटना देखिन्छ,’ जोशीले भने-‘हामीले दोषीमाथि आवश्यक प्रकृया सुरु गरिसकेका छौं।’
मृतकका आफन्तले उचित क्षतिपूर्तिसहित बस चालकलाई कारबाही गर्नुपर्ने माग राखेका छन्। माग पूरा नभए पूर्व अरनिको यातायातको कुनै पनि सवारी साधन चल्न नदिने उनीहरूको भनाइ छ।