छाडा चौपायाका कारण सवारी सञ्चालन गर्नै समस्या
बुटवल : बुटवलका प्रायजसो सडक क्षेत्रमा छाडा चौपाया छन्। पूर्वपश्चिम महेन्द्र राजमार्गसहित भित्री सडकहरूमा रहेका छाडा चौपायाले व्यवसायीदेखि सवारीसाधन ओहोरदोहोर गर्न समस्या पार्ने गरेको छ। वर्षौसम्म सडकमा छरिएर रहेका चौपायाको व्यवस्थापनमा स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले कुनै चासो देखाएको छैन।
गाई, बाच्छा, बाच्छी र गोरुहरूले व्यवसायीहरूलाई मात्र होइन, ट्राफिक व्यवस्थापनलाई समेत चुनौती थपिदिएको छ। छाडा चौपायाकै कारण दैनिक दुर्घटनाहरू हुने गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) होम बहादुर थापाले जानकारी दिए। ‘छाडा चौपाया नियन्त्रण र व्यवस्थापनका लागि मेयरसाबलाई पटक पटक ध्यानाकर्षण गराएका छौँ’,थापाले भने,‘जति धपाए पनि बाटोमै आउँछन्। हाम्रा लागि यो निकै चुनौती बनिरहेको छ।’
चौपायाले मानिसलाई हान्ने र सवारीसाधनहरू चौपायासँग ठोकिने गर्दा दुर्घटना हुने गरेको उनको भनाइ छ। उनले बुटवल उपमहानगरपालिकाका मेयरबाट व्यवस्थापन गर्ने आश्वासन पाए पनि कार्यान्वयन अझैसम्म नभएको उनले प्रतिक्रिया दिए।
छाडा चौपायासहित सडक क्षेत्रमा ट्राफिक लाइन लगायतका योजनाहरू नगरपालिकामा पेश गरेको र अहिलेसम्म व्यवस्थापन नभएको उनले दुखेसो छ। थापाले पहाडमा भन्दा तराई क्षेत्रमा छाडा चौपायाको व्यवस्थापन नहुँदा ट्राफिक प्रहरीले धेरै चुनौती खेप्नुपरेको जानकारी गराए।
उनका अनुसार बुटवल रुपन्देहीसहित कपिलवस्तु, दाङ, बाँके, बर्दिया, नवलपरासीमा यो समस्या छ। छाडा चौपाया होटल, पसलभित्रै छिर्ने समेत गरेका छन्। छाडा चौपाया नियन्त्रण गर्नका लागि स्थानीय सरकारसँग धेरैपटक कुरा उठाइएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले प्रतिक्रिया दिए। ‘बजारको व्यवस्थापन पनि यसले निकै समस्या बनाएको छ’,अर्यालले भने,‘नगरपालिकाले चौपाया नियन्त्रणका लागि छिट्टै पहल गर्नुपर्छ।’ संघका नवनिर्वाचित अध्यक्ष समेत रहेका अर्यालले आफ्नो प्रतिवद्धतापत्रमा समेत छाडा चौपाया व्यवस्थापनको विषय उठान गरेको उल्लेख गरे।
बुटवल–७ मा शिव सामुदायिक वनले गौशाखा राख्नका लागि अनुमति नदिँदा छाडा चौपायाको नियन्त्रण र व्यवस्थापन गर्न समस्या भइरहेको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले प्रतिक्रिया दिए। ‘चौपाया चरनका लागि वनले सहमति नदिँदा काम हुन नसकेको हो’,पाण्डेयले भने,‘नगरपालिकाले यसको पहल गरिरहेको छ। यी चौपाया बुटवल उपमहानगरभित्रका होइनन्, अरू स्थानीय तहले यहाँ लिएर छाड्न भएन।’
प्रतिक्रिया दिनुहोस !