चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू, कति लाग्छ शुल्क?

चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू, कति लाग्छ शुल्क?
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको चन्द्रागिरीमा प्याराग्लाइडिङको ब्यवसायिक उडान सुरू भएको छ। हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी 'बाबु एड्भेन्चर्स'ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो। 

सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुन्द्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट 'एडभेञ्चर्स अफ इयर-२०१२' अवार्ड विजेतासमेत हुन्। 

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने सुनुवार बताउँछन्। चन्द्रागिरी '२३ सय मिटर'बाट सुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ। अद्भूत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ।

प्याराग्लाइडिङ उडानका क्रममा  भालेश्वर मन्दिरको 'एरियल भ्यु'का साथै काठमाडौं उपत्यकाको अधिकांश भुभागको अवलोकन गर्न सकिने छ। रसुवा र धादिङका भुभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ। मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृङ्खलाने जो कोहिलाई मोहित बनाउँछ। 

उडानको अधिकांश समय जंगलमाथि हुने भएकाले जंगलको हरियाली त्यहाँको अर्को मज्जा हो। सरकारीअनुमति अनुसार कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडर उडाउन सकिने सुनुवार बताउँछन्। दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने उनले बताए। 

स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकाबासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरीमा लगानी गरेको बताउँछन्। 

उनले भने, 'नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ। काठमाडौंमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु।' कम्पनी 'क्रस कन्ट्री' उडाउन गराउनसमेत तयारी अवस्थामा रहेको उनले बताए। चन्द्रागिरीमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड लगानी भइसकेको र लगानी अझै बढ्ने उनको भनाइ छ।

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरि करिब ६ वर्षको प्रयासमा चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू गर्न सफल भएको सुनुवारले जानकारी दिए। 

कति लाग्छ शुल्क?
कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ  शुल्क कायम गरेको छ। सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने/आउने सुबिधा उपलब्ध हुनेछ। फोटो र भिडियोको उपकरणको प्रबन्ध कम्पनीले नै गर्छ। सोही प्याकेजका लागि विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने सुनुवारले जानकारी दिए।

कम्पनीको सवारीमा जाने-आउने सुविधा नलिने नेपाली पर्यटकले ७ हजार २ सय रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन्। 

के ख्याल गर्ने? 
प्याराग्लाइडिङ उडानमा जाँदा हावा नछिर्ने ज्याकेट र कालो चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ। यसो हुँदा उडानका क्रममा हावाको वेगले तपाईंलाई अप्ठ्यारो बनाउँदैन। त्यस्तै उडान 'टेक अफ'को समयमा दौडनुपर्ने भएकाले चप्पलभन्दा जुत्ता लगाउनु उत्तम हुन्छ।

कसरी गर्ने बुकिङ?
चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्नका लागि बाबु एड्भेञ्चर्सलाई उडान गर्नुभन्दा एक दिन अघि नै सम्पर्क गर्नुपर्नेछ। जसका लागि कम्पनीको वेवसाइटमार्फत् बुकिङ गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.