सराये संरक्षणमा अग्लुङका युवा
गुल्मी : गलाभरि पहेंलपुर जमराको माला। सबैको एउटै पोसाक। गोलबन्द बनेर उभिएका युवाहरू। दुवै हातमा लठ्ठी र बाजाको तालमा नाचेका गाउँभरका ती युवाहरूले साँच्चिकै यसपालिको दसैंमा गाउँमा बेग्लै उत्साह थपे।
हरेक वर्ष विजया दशमीको कोजागत पूर्णिमाका दिन मदाने गाउँपालिका–१ अग्लुङ गुल्मीमा सराये नाच नाचिने गरिन्छ। तर, विगतको तुलनामा यस वर्ष सरायेमा बेग्लै उमंग र उत्साह थपिएको थियो। गाउँमा जुटेका सबै युवा सरायेमा सहभागी भएका थिए।
स्थानीय समाजसेवी हुमबहादुर मल्लका अनुसार गाउँमा सराये नाच विस्तारै हराउन थालेको छ। लोपोन्मुख हुँदै जान थालेको सरायेको संरक्षण र प्रवद्र्धनमा यसपालि विशेष योजना बनाएर गाउँमा प्रदर्शन गरिएको मल्लले बताए। उनकै विशेष पहलमा सरायेमा युवाशक्ति जुटेका हुन्।
सराये नाच अग्लुङको पहिचानसमेत हो। रोजगारीदेखि काम विशेषले गाउँ छाडेका युवाहरू दसैं मनाउन गाउँ आएका बेला उनीहरूलाई संगठित गराएर सराये प्रदर्शन भएको स्थानीय नारायण घर्तीले जानकारी दिए।
गाउँमा युवा जनशक्तिको कमी हुँदै जान थालेपछि सराये नाचप्रति स्थानीयको आकर्षण घट्न थालेकोमा स्थानीयवासी चिन्तित छन्। मेला व्यवस्थापन समितिका अध्यक्ष भगत चन्दले सरायेलाई आगामी वर्षमा अझ व्यवस्थित र संरक्षण गर्दै लगिने बताए।
प्रतिक्रिया दिनुहोस !