तिहारलाई तयार असर्फी र चाँदीका सिक्का

तिहारलाई तयार असर्फी र चाँदीका सिक्का
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नजिकिँदै गरेको तिहारलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्काको बिक्री खुला गरेको छ। हिन्दुहरूको चाड तिहारमा सुनको असर्फी र चाँदीको सिक्काको महत्त्व बढी हुने गरेको छ। गत वर्षमात्रै तिहारमा करिब दुई हजार व्यक्तिले यस्ता असर्फी खरिद गरेको राष्ट्र बैंकले जनाएको छ। 

यसपटक पनि कात्तिक १९ देखि २४ गतेसम्म सर्वसाधारणले मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखा बबरमहल, काठमाडौंबाट यस्ता सिक्का खरिद गर्न सकिने छ। यस्तो खरिद बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्न सकिनेछ। यद्यपि टक्सार महाशाखाले तिहारबाहेक पनि यस्ता असर्फी आवश्यक पर्ने सर्वसाधारणलाई उपलब्ध गराउने गर्छ। यससँगै सुनलाई सम्पत्तिको रूपमा राख्ने प्रवृत्ति पनि बढ्दो छ। यसैले वर्षको एकपटक तिहारकै बहानामा भए पनि असर्फी तथा सिक्का जोड्ने प्रचलन छ। यसलाई ध्यानमा राखेर केन्द्रीय बैंकले तिहार पर्वका अवसरमा टक्सार विभागबाट असर्फी र सिक्का (मेडालियन) बिक्रीबारे सूचित गरेको हो। 

सर्वसाधारणले प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट ( १० ग्राम + ५ ग्राम + २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट (गाई अंकित २५ ग्राम + गाईअति १० ग्राम + लक्ष्मी अंकित १० ग्राम + गणेश अंकित १० ग्राम + गजलक्ष्मी अंकित १० ग्राम) खरिद गर्न सक्नेछन्। सुनको असर्फी अधिकतम पूरै एक सेट पनि किन्न सकिन्छ वा यसबाहेक तोकिएअनुसारको न्यूनतम २.५ ग्राम पनि खरिद गर्न सकिन्छ। यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा दैनिक रूपमा उल्लेख भएअनुसार बिक्री हुन्छ। सुनको असर्फी पूरै एक सेट खरिद गर्दा करिब दुई लाख रुपैयाँ हाराहारीमा पर्न जान्छ। यससँगै चाँदीको सिक्का खरिद गर्दा भने निश्चित मूल्य तोकिएको छ। चाँदीको पूरै एक सेट खरिद गर्न चाहनेलाई करिब १० हजार ४ सय रुपैयाँ हाराहारी पर्न जान्छ। उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआर कोडमार्फत पनि भुक्तानी गर्न सकिने महाशाखाले जनाएको छ। पछिल्लो समय राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराज पोखरेल अब दसैंमा नयाँ नोट सटही गरेजस्तै तिहारमा सुन तथा चाँदीको सिक्का सर्वसाधारणले प्रयोग गरुन् भन्ने उद्देश्यले यसलाई प्रणाली बसाल्ने बताउँछन्। उनका अनुसार राष्ट्र बैंकले केही सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) प्रिन्ट गरेको छ। 

केन्द्रीय बैंकले बिक्री गर्ने यस्ता असर्फी सिक्का विशुद्ध ९.९९ हुन्छन्। आधिकारिक निकायबाट लिएको यस्ता सिक्कामा बढी विश्वास गर्न सकिन्छ। नेपालीको संस्कार पनि धनतेरसमा केही न केही बहुमूल्य धातु किन्नुपर्छ भन्ने छ। यसलाई पनि ध्यानमा राखेर नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्र बैंकले जोड दिएको हो। यो यतिबेला मात्रै बिक्री गर्ने भन्ने होइन। सधैं बिक्री खुला हुन्छ।

सुनको मूल्यमा बढी उतारचढाव

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यमा बढी उतारचढाव आएको छ। यसको असर नेपाली बजारमा पर्नु स्वाभाविकै हो। सुनको मूल्य गत कात्तिक ११ र १२ गते अहिलेसम्मकै उच्च रहयो। उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुग्यो। यद्यपि दसैंपछिको पहिलो कारोबारका दिन कात्तिक १० गते सुनको मूल्य बढेर प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको थियो। जबकी दसैंअघिको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १५ हजार र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँ छ। पछिल्लो समय इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीको रूपमा सुनतर्फ आकर्षित भएका कारणले सुनको मूल्य वृद्धिमा चाप परेको तर्क विश्लेषकहरूले गरेका छन्।  द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा समेत उतारचढाव आई त्यसको प्रभाव सुनको मूल्यमा समेत पर्न सक्ने विश्लेषकको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.