नेपाल एक दशकपछि विश्वकपमा

नेपाल एक दशकपछि विश्वकपमा

काठमाडौं : नेपाल एक दशकपछि टीट्वेन्टी विश्वकप क्रिकेटमा छनोट भएको छ। शुक्रबार घरेलु मैदानमा भएको आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टीट्वेन्टी विश्वकपमा छनोट भएको हो। मूलपानी मैदानमा १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा दुई विकेटको क्षतिमा जित निकालेको हो।

नेपाललाई प्रभावशाली जित दिलाउन ओपनर आसिफ शेखले अविजित ६४ रनको अधशतकीय पाली खेलेका थिए। संयमित ब्याटिङ गरेका आसिफले ५१ बलमा एक छक्का र सात चौका हिर्काए। यस्तै कप्तान रोहितकुमार पौडेलले ३४, गुलसन झाले २२ र कुशल भुर्तेलले ११ रनको योगदान दिए। नेपालाई सहज जिततर्फ डोहोर्‍याउन आसिफले गुलसन झासँग ४१ र कप्तान रोहितकुमार पौडेलसँग ६८ रनको साझेदारी गरेका थिए। यूएईका निलान्स केश्वानी र बसिल हमिदले एक/एक विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल खडा गरेको थियो। यूएईका भृत्या अरविन्दले ६४ रनको अर्धशतकीय पाली खेले। उनले ५१ बलमा दुई छक्का र आठ चौका हिर्काए। यस्तै कप्तान मोहमद वासिमले २६, अलिसान सफारुले १६ र आसिफ खानले १३ रन बनाए। नेपालका कुशल मल्लले तीन विकेट लिए। यस्तै, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र कप्तान रोहितकुमार पौडेलले एक/एक विकेट हात पारे।

नेपालले यूएईविरुद्ध सात बलर प्रयोग गरेको थियो। जसमा स्पिनर सन्दीप लामिछानेले मात्रै पूर्ण कोटाको चार ओभर गरेका थिए। करण केसी, सोमपाल कामी, गुलसन झा, कुशल मल्ल र अभिनाश बोहराले तीन/तीन ओभर र कप्तान रोहितकुमार पौडेलले एक ओभर बलिङ गरेका थिए।

‘भगवान्ले वर पूरा गरिदिनु भयो’

यूएईलाई पराजित गरेपछि कप्तान रोहितकुमार पौडेलले सन् २०१४ को टीट्वेन्टी विश्वकप हेरेर नै क्रिकेटप्रति आकर्षित भएको बताउँदै आफ्नो कप्तानीमा नेपाललाई दोस्रो पटक विश्वकपमा पुर्‍याउन पाउँदा खुसी लागेको बताए। ‘सोमपाल कामी र विनोद भण्डारीबाहेक हामी सबै त्यही विश्वकप हेरेर क्रिकेटमा आकर्षित भएका हौं। अहिले आफ्नै कप्तानीमा विश्वकपसम्म पुर्‍याउन पाउँदा निकै खुसी छु। आफूलाई भाग्यमानी ठानेको छु’, कप्तान रोहितले भने, ‘बिहान उठ्नेबित्तिकै भगवान्सँग  विश्वकपमा छनोट हुन सकुँ भनेर वर मागेको थिएँ। भगवान्ले मेरो कुरा सुन्नुभयो र हामी विश्वकपमा छनोट हुन सफल भयौं। भगवान्लाई धन्यवाद भन्छु।’

यसैगरी प्लेयर अफ दी म्याच आसिफ शेखले विश्वकप खेल्नु सबैको सपना हुने बताउँदै त्यो सपना पूरा भएकोमा खुसी व्यक्ति गरे। ‘क्रिकेट खेल्न थालेदेखि नै सबैको सपना विश्वकप खेल्नु हुन्छ। मैले पनि क्रिकेट खेल्न थालेदेखि नै विश्वकप खेल्ने सपना देखेको थिएँ। त्यो सपना आज पूरा भएको छ’, आसिफले खेलपछि भने, ‘बिहीबार लगातार विकेट गुमाउँदा हार बेहोर्न पुग्यौं। त्यसैले आज (शुक्रबार) संयमित ब्याटिङ गर्ने योजना बनाएर मैदान छिरेको थिएँ। त्यही अनुरूप खेल्न सकें। नेपालको जितको प्रमुख हकदार बन्न पाउँदा निकै खुसी छु।’

अलराउन्डर सोमपाल कामीले टीट्वेन्टी विश्वकप खेल्ने मात्र नभई जित्ने कोसिस पनि गर्ने बताए। यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेपछि सोमपालले विश्वकप खेल्ने आफ्नो सपना पूरा भएकोमा खुसी लागेको बताए। ‘क्रिकेट खेल्दादेखिकै सपना विश्वकप खेल्ने थियो। त्यो सपना अहिले पूरा भएको छ। आफ्नो देशको प्रतिनिधित्व गर्दै विश्वकप खेल्न पाउँदा निकै खुसी छु’, सोमपालले भने, ‘हामी खेल्ने मात्रै होइन जित्नकै लागि अमेरिका र वेस्ट इन्डिज जाँदै छौं।’ सोमपाल दोस्रो पटक टीट्वेन्टी विश्वकप खेल्दैछन्। सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेल्दा नेपाली टोलीमा सोमपाल पनि थिए। सोमपालसँगै अहिले पनि नेपाली टोलीमा रहेका विनोद भण्डारीले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा खेलेका थिए।

दीपेन्द्रको पुनरागमन

सोमबार बिहान सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा खुट्टामा चोट बोकेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी यूएईविरुद्धको खेलमा टोलीमा फर्किएका थिए। उनले विश्वकप छनोटका सबै खेल गुमाउने चर्चा चले पनि मुख्य प्रशिक्षक मोन्टी देसाईले शुक्रबार दीपेन्द्रलाई सुरुवाती–११ मा समावेश गरेका थिए। बिहीबार ओमानविरुद्धको खेलमा उनको अभाव खट्किएपछि मुख्य प्रशिक्षक देसाईले सन्दीप जोरा बेन्चमा राख्दै दीपेन्द्रलाई सुरुवाती–११ मा समावेश गरेका थिए। दीपेन्द्रले शुक्रबार फिल्डिङ मात्रै गरेका थिए। उनले बलिङ र ब्याटिङ भने गर्न पाएनन्। 

सोमबार सिंगापुरविरुद्धको पहिलो खेल खेल्नुअघि अभ्यासका क्रममा दीपेन्द्रले चोट बोकेका थिए। उनी घाइते भएपछि सुरुवाती–११ परिवर्तन गर्दै विवेक यादवलाई मौका दिइएको थियो। विवेकले समूह चरणका तीनवटै खेल खेलेका थिए। विवेकले ओमानविरुद्ध समूहको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ३९ रन बनाएका थिए। १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा जितका लागि २६ रन चाहिएको थियो। विवेकले बिलाल खानको अन्तिम ओभरको सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए। विवेकले नेपाललाई जित नजिक पुर्‍याए पनि जिताउन भने सकेनन्।

  • १० वर्षको पर्खाइपछि राष्ट्रिय क्रिकेट टोली विश्वकपमा पुगेको हो। अब नेपाल अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सहभागी हुनेछ।
  • जित धेरै अर्थले नेपालको लागि महत्तवपूर्ण थियो। विश्वकपको गत संस्करणको छनोट प्रतियोगितामा नेपाल सेमिफाइनलमा यूएईसँगै पराजित भएर विश्वकप पुग्नबाट रोकिएको थियो।
  • यसअघिको त्रिकोणात्मक शृंखलामा पनि नेपाल यूएईसँग पराजित भएको थियो। त्यसैले सेमिफाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण हुने ठानिएको थियो।

दीपेन्द्रले बिहीबार ओमानविरुद्धको खेलअघि नेटमा अभ्यास पनि गरेका थिए। गत मंगलबार स्पिनर सन्दीप लामिछानेले दीपेन्द्र ठीक हुन एक/डेढ महिना लाग्ने बताएका थिए। तर, नेट अभ्यासमा राम्रो प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक देसाईले उनलाई टोलीमा समावेश गर्दै जोखिम मोलेका थिए।

फाइनलमा ओमानसँगै भेट

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको उपाधिका लागि नेपालले ओमानसँग खेल्ने भएको छ। नेपाल र ओमानबीचको फाइनल खेल आइतबार त्रिवि क्रिकेट मैदानमा हुनेछ। शुक्रबारै भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले घरेलु टोली नेपालसँगको  भिडन्त पक्का गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बहराइनले दिएको १ सय ७ रनको मध्यम लक्ष्य ओमानले १४.२ ओभरमा भेट्टाएको थियो। ओमानलाई सानदार जित दिलाउन कश्यप प्रजापतिले ५७ र प्रतीक अथभालेले ५० रनको अर्धशतकीय पालि खेलेका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ६ रनको योगफल खडा गरेको थियो।

बहराइनका इमरान अलीले सर्वाधिक ३० रन बनाए। यस्तै अमिर नासिरले २६ र सरफराज अलीले २३ रनको योगदान दिए। बहराइनका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बहराइनलाई कम योगफलमा रोक्न ओमानका हकिब इलियासले चार विकेट लिए। यस्तै सकिल अहमदले दुई तथा बिलाल खान, फयाज बट र कप्तान जिसन मक्सुदले एक/एक विकेट हात पारे।

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए। समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो। कीर्तिपुर र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै ओमान, सिंगापुर र मलेसिया थिए। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत थिए।

भारतमा प्रशिक्षण, घरेलु मैदानमा त्रिकोणात्मक शृंखला

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको तयारीका लागि नेपालले हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक टीट्वेन्टी शृंखला आयोजना गरेको थियो। त्रिकोणात्मक शृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको थियो। नेपाल अपराजित रहँदै फाइनल पुगे पनि उपाधि भने यूएईले जितेको थियो। फाइनलमा यूएईले घरेलु टोली नेपाललाई चार विकेटले निराश बनाउँदै शृंखला जितेको थियो।

लिग चरणका दुवै खेलमा नेपालले यूएईलाई पराजित गरे पनि फाइनलमा निराश बन्न पुगेको थियो। आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको तयारीका लागि नेपालले भारतमा तयारी गरेको थियो। इन्डियन प्रिमियर लिग (आईपीएल) टोली राजस्थान रोयल्सको एकेडेमीमा नेपालले १० दिन विशेष प्रशिक्षण गरेको थियो।

एक दशकको प्रतीक्षा 

नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो। यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकप खेलेको थियो। त्यो विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो। घरेलु टोली बंगलादेशसँग पराजय बेहोर्दा सुपर १० मा भने पुग्न सकेन। सन् २०१४ को विश्वकपमा नेपालले हङकङलाई ८० र अफगानिस्तानलाई नौ रनले पराजित गरेको थियो। बंगलादेशसँग भने आठ विकेटको हार बेहोरेको थियो। 

null

पहिलो विश्वकप खेलेको एक दशकपछि नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो। सन् २०१६ को टीट्वेन्टी विश्वकपको लागि २०१५ मा भएको ग्लोबल छनोट नेपालमा नेपालले खराब प्रदर्शन गरेको थियो। नेपाल ग्लोबल छनोटबाटै घर फर्किएको थियो।

सन् २०१९ को एसिया क्षेत्र छनोटमा पनि नेपालले प्रभावशाली प्रदर्शन गर्न सकेन। यस पटक पनि नेपालले छनोट चरण पार गर्न सकेन। गत वर्ष अस्ट्रेलियामा भएको टीट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा पनि नेपालको प्रदर्शन सन्तोषजनक हुन सकेन। सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएपछि दोस्रो पटक विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो।

१८ टोली छनोट

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टीट्वेन्टी विश्वकपमा पहिलो पटक २० टोलीले प्रतिस्पर्धा गर्दै छन्। सन् २०२४ को जुन ४ देखि ३० सम्म आयोजना हुने विश्वकपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पहिलो पटक २० टोली पुर्‍याएको हो। 

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएपछि विश्वकप खेल्ने १८ टोलीको टुंगो लागिसकेको छ। वेस्ट इन्डिज र अमेरिका आयोजकका रूपमा स्वतः छनोट भएका छन्। सन् २०२२ को टीट्वेन्टी विश्वकपमा शीर्ष आठमा रहेका अस्ट्रेलिया, साबिक विजेता इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भएका छन्। 

टीट्वेन्टी विश्वकपपछिको वरीयताका आधारमा बंगलादेश र अफगानिस्तानले पनि अमेरिका र वेस्ट इन्डिजको टिकट सुरक्षित गरिसकेका छन्।

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत युरोप छनोटबाट आयरल्यान्ड र स्कटल्यान्ड, इस्ट एसिया प्यासिफिक छनोटबाट पपुवान्युगिनी र अमेरिकी छनोटबाट क्यानडाले टीट्वेन्टी विश्वकपमा स्थान पक्का गरिसकेका छन्। आगामी नोभेम्बर २२ देखि ३० सम्म नामिबियामा हुने अफ्रिकी क्षेत्र छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउने छन्।

झन्डै एक महिनासम्म सञ्चालन हुने टीट्वेन्टी विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। हरेक समूहमा पाँच टोली रहनेछन्। समूह चरणको खेलपछि हरेक समूहबाट दुई/दुई टोलीले सुपर आठमा स्थान बनाउने छन्। सुपर आठमा पुगेका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। सुपर आठको खेलपछि चार टोली सेमिफाइनलमा पुग्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.