फ्रान्सेली नागरिकको भीरबाट खसेर निधन
नुवाकोट : हिमाली भेगको पदयात्रामा रहेका एक जना फ्रान्सेली नागरिकको भीरबाट खसेर निधन भएको छ। हिमाली रसुवाको पदयात्रामा आएका फ्रान्सेली नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको खसेर निधन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
प्रहरीका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जिन जाने पदमार्गअन्तर्गत लाङ्टाङ गाउँको लुम्थाङमा खसेर मोल घाइते भएका थिए। गम्भीर घाइते भएका मोललाई हेलिकोप्टरमार्फत उद्धार गरि उपचारका लागि काठमाडौँ लगिएको थियो।
हवाईमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुवास वुढाथोकीको भनाई छ।
वृद्ध उमेरका पर्यटकलाई सावधानीपूर्वक यात्रा गराउन छुट्टै पथप्रर्दशक वा सहयोगी व्यक्ति व्यवस्था गर्न माग गरिएको छ। उनको लाङ्टाङमा नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए।