अन्नपूर्ण आरोहणको उचाइ

प्रकृति

अन्नपूर्ण आरोहणको उचाइ

चर्चा कम भएका तर धेरै कहानी जोडिएका छन्, अन्नपूर्ण हिमालसँग। जसले नेपालको पर्वतारोहणको ऐतिहासिकता, रोमाञ्चकता र साहसलाई प्रतिविम्बित गर्छ। यो संसारको दसौं अग्लो हिमालका रूपमा परिचित छ।

चर्चा कम भएका तर धेरै कहानी जोडिएका छन्, अन्नपूर्ण हिमालसँग। नेपालको हिमाल आरोहणमा अन्नपूर्ण हिमालबारे रोचक कहानी र तथ्यहरू भेटिन्छन्। जसले नेपालको पर्वतारोहणको ऐतिहासिकता, रोमाञ्चकता र साहसलाई प्रतिविम्बित गर्छ। यो संसारको दसौं अग्लो हिमालका रूपमा परिचित छ। आरोहणमा प्राविधिक कठिनाइ र उच्च मृत्यु दरका कारण यो आरोहणका लागि सबैभन्दा खतरनाक पर्वतमध्ये एक मानिन्छ।

नेपाली हिमालयमा आरोहण अभियानको रेकर्ड रहेको हिमालय डाटाबेसका अनुसार सन् २०२० सम्ममा १ सय ७५ व्यक्तिले अन्नपूर्णको सफल आरोहण गरेका छन्। यद्यपि, सबैले आफ्नो आरोहण हिमालय डाटाबेसमा रिपोर्ट गर्दैनन्। त्यसैले सफल आरोहणहरूको वास्तविक संख्या बढी हुन सक्छ।

मृत्युको सन्दर्भमा सोही तथ्यांकअनुसार, २०२० सम्म अन्नपूर्ण प्रथममा ७२ जनाको ज्यान गएको छ। यही तथ्यांकले यो हिमालको आरोहण कति जोखिमपूर्ण छ भन्ने प्रमाणित गर्छ। कतिले यसलाई लासहरूको हिमाल भन्ने गरेका छन्। यस्तो कहालिलाग्दो यात्रामा अहिले पनि आरोहीहरू निस्किरहेका छन्। मानव अस्तित्व गुमाएर भए पनि कीर्तिमानी राख्ने रहर उनीहरूमा कत्ति पनि कम देखिएको छैन।

अन्नपूर्ण हिमाल आरोहणको ७२ वर्षे इतिहासमा पहिलोपटक सरसफाइ गरिएको छ। सफाइबाट नेपाली सेनाको टोलीले ३ हजार ६ सय किलो फोहोर निकालेको हो। वसन्त सिजनमा पाँच आरोहण दलका १६ महिलासहित ५४ जनाले आरोहण अनुमति लिएका छन्। यसबाट १ करोड ४ लाख २६ हजार ४ सय १० रुपैयाँ रोयल्टी जम्मा भएको छ। जोखिमपूर्ण आरोहणको सफलतापछि प्राप्त हुने आनन्दले होला, आरोहीहरूलाई जोखिमभन्दा त्यसपछिको सुखद सपनाले बर्सेनि तानिरहेको छ।

हिमाल होइन, हिमशृंखला

अन्नपूर्ण हिमाल मात्रै नभएर आफैंमा हिमशृंखला हो। विख्यात भूगोलविद् स्व. हर्क गुरुङको पुस्तक ‘विषय विविध’मा यसको संरचना र स्वरूपबारे बृहत् उल्लेख भएको पाइन्छ। पुस्तकमा प्रदेशका हिमालहरूको थालनी कालीगण्डकीको पूर्व अन्नपूर्णदेखि सुरु भएर काठमाडौंको उत्तर जुगल हिमालमा टुंगिएको उल्लेख छ। सर्वप्रथम कालीगण्डकी र मस्र्याङ्दीको बीचमा अन्नपूर्ण हिमालको लस्कर पोखराबाट प्रष्ट देखिन्छ। यो आफंैमा एक हिमशृंखला पनि हो। 

माछापुच्छ्रे्को छाया फेवातालमा परेको गीतले पोखरा र माछापुच्छ्रेको सम्बन्ध गाँसे पनि अन्नपूर्ण अर्को सुन्दरताको प्रतीक हो, पोखराका लागि। यो हिमाल कास्की जिल्लामा पर्छ। हिमशृंखला दृश्यावलोकनका लागि अन्य हिमालको भन्दा अन्नपूर्णकै रोमाञ्चक देखिन्छ। ‘अन्नपूर्ण’ संस्कृत भाषाको नाम हो जसको अर्थ ‘खाद्यान्नको भण्डार’ हुन्छ। यसलाई आधार मानेर स्थानीय स्तरमा ‘सहकालको देवता’ भनेर पनि यो हिमाललाई चिनिन्छ। यो हिमालको पूजा गर्दा सहकाल आउने विश्वास रहिआएको छ।

८ हजार ९१ मिटर उचाइ रहेको यो हिमाल संसारको सबैभन्दा उच्च पहाड हिमालयको एक खण्ड पनि हो। यहाँबाट सूर्योदयको दृश्य हेर्न पर्यटकहरू ज्यादै उत्साहित हुने गर्छन्। यो हिमशृंखला पश्चिमबाट पूर्वतर्फ लस्करै उभिएको छ। बीचबीचका हिमथुम्का र ग्लेसियरबाहेक नै अन्नपूर्ण दक्षिण (२३,६८३ फिट), अन्नपूर्ण प्रथम (२६,५४५ फिट), अन्नपूर्ण दोस्रो (२६,०४१ फिट), अन्नपूर्ण तेस्रो (२४,७८७ फिट), अन्नपूर्ण चौथो (२४,६८८ फिट) गरी पाँचवटा हिमाल छन्। यसैको समग्र रूपलाई हामीले अन्नपूर्ण हिमाल (८,०९१ मिटर) भनेर चिन्छौं।

अन्नपूर्ण हिमाल आरोहणपछि हर्जोगले आरोहणको जोखिम र आफ्नो कहानी उल्लेख गरेर अन्नपूर्ण पुस्तक नै लेखेका थिए। सन् १९५१ प्रकाशित पुस्तकले संसारभर नेपालका हिमालबारे चर्चा भयो।

अन्नपूर्ण हिमालको समग्र रूप र उचाइको प्रतिनिधित्व अन्नपूर्ण प्रथम (२६,५४५ फिट) ले गरेको छ। दक्षिण मोहोडाबाट प्रथम पटक आरोहण भएकाले सबै अन्नपूर्ण शृंखलाहरूको प्रतिनिधित्व गरेर अन्नपूर्ण प्रथम हिमालको नामबाट परिचित छ। यही हिमालका नामबाट धेरै व्यवसायका नामकरण गरिएका छन्। त्यसैले यो हिमालसँग व्यावसायिकताको सम्बन्ध पनि छ।

सगरमाथाभन्दा पहिले आरोहण

यो हिमालको आरोहण विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा पहिले भएको हो। सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्जोगको नेतृत्वमा लुइस लाचेनलसहितले आरोहण गरेका थिए। यसको ३ वर्षपछि मात्रै १९५३ मे २९ मा सगरमाथा आरोहण भएको थियो। यो हिमालको सफल आरोहणपछि तत्कालीन नेपालका श्री ३ महाराज मोहनशमशेरले हर्जोगलाई सम्मान गरेका थिए।

हिमाल आरोहणपछि उनले आरोहणको जोखिम र आफ्नो कहानी उल्लेख गरेर अन्नपूर्ण पुस्तक नै लेखेका थिए। यो सन् १९५१ प्रकाशित भएको थियो। उनको यो पुस्तकले संसारभर नेपालका हिमालबारे अध्ययन चर्चा भयो। फ्रेन्च अल्पाइन क्लबले नेपालका दुई हिमाल अन्नपूर्ण र धौलागिरिबारे अध्ययन गर्न हर्जोगसहितका आरोहण विशेषज्ञको टोली बनाएर पठाएको थियो। टोलीले धौलागिरिको जोखिम बढी देखेर अन्नपूर्णको उत्तरी मोहोडाबाट अध्ययन थाल्यो। तर पनि त्यहाँबाट असफल भएपछि दक्षिणी मोहोडाबाट अध्ययनसँगै आरोहण सफल भएको हर्जोगले पुस्तकमा उल्लेख गरेका छन्।

आरोहणको क्रममा पूरक अक्सिजन प्रयोग नगरी उनीहरूले पाएको यो उपलब्धिलाई अझ उल्लेखनीय बनायो। हर्जोगको यात्रा पुस्तक अन्नपूर्णलाई लामो समयदेखि पर्वतारोहण विधामा सबैभन्दा महत्त्वपूर्ण र प्रेरणादायी ग्रन्थका रूपमा लिइन्छ। यो हिमाललाई निकै जोखिमयुक्त सूचीमा राखिएको छ। आरोहण सफल भए पनि फर्किंदासम्म हिउँका कारण हर्जोगका अधिकांश औंला काट्नु परेको थियो। साथै निकै कष्ट र जोखिम व्यहोरेर जीवित फर्किएको कहानी रोचक ढंगले पुस्तकमा उल्लेख भएको छ।

नेपालकै ठूलो संरक्षण क्षेत्र

अन्नपूर्ण हिमालसँगै यस भेगको संरक्षण क्षेत्र पनि अर्को पर्यटकीय परिचय हो। अन्नपूर्ण संरक्षण क्षेत्र पश्चिम नेपालको गण्डकी प्रदेशका उत्तरी क्षेत्रहरूमा पर्ने नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो। यसको क्षेत्रफल ७ हजार ६ सय २९ वर्ग किलोमिटर छ। यस संरक्षण क्षेत्रअन्तर्गत आठ हजार मिटरभन्दा अग्ला हिमालहरू, संसारको सबैभन्दा गहिरो कालीगण्डकी नदीको खोच, नेपालको सबैभन्दा बढी तथा कम पानी पर्ने ठाउँहरू पर्छन्। यो नेपालको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थल पनि हो।

यो संरक्षण क्षेत्र कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा फैलिएको छ। स्थानीयको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट व्यवस्थापन र प्रवद्र्धन गरिएको संरक्षण क्षेत्र हो। यो क्षेत्रभित्र मुख्यगरी माछापुच्छ्रे र अन्नपूर्ण हिमाल, धौलागिरि, मनाङ र मुस्ताङ उपत्यकाहरू, गुरुङ र थकाली संस्कृतिहरू, विश्वमै प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्गलगायत छन्।

यस संरक्षण क्षेत्रले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अविस्मरणीय सुन्दर प्राकृतिक दृश्यहरूको दृश्यावलोकन गरेर आन्नद लिने तथा यहाँको पर्यटन उद्योगको विकासमा पनि ठूलै योगदान गरेको छ। यो संरक्षण क्षेत्र हिउँ चितुवा, कस्तुरी मृग, चिरु, तिब्बतीय गधा, तिब्बतीय खरायो, नाउरजस्ता विभिन्न जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ। मुक्तिनाथ र दामोदर कुण्डजस्ता प्रख्यात धार्मिक क्षेत्र तथा लोमाङथाङजस्ता सांस्कृतिक धरोहर पनि यही क्षेत्रअन्तर्गत नै अवस्थित छन्।

नेपालको प्रमुख ट्रेकिङस्थलको रूपमा यस क्षेत्रको विकासले स्थानीय स्तरमा रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जन सुधारमा पनि टेवा पुगेको छ। हिमशृंखला, हिमाल, पदमार्ग र संरक्षण क्षेत्रसमेत समेटिएको अन्नपूर्ण क्षेत्र नेपालकै नमुना र मनोरम पर्यटकीय क्षेत्रका रूपमा परिचित छ। यस क्षेत्रमा हिमाल आरोहण, पदयात्रा र संरक्षण क्षेत्रको अवलोकनको एकसाथ गर्न सकिने हुनाले विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रमा छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.