घृणा फैलाउने अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्तिहरू रोक्न आग्रह गरेको छ। आयोगले बिहीबार वक्तव्य जारी गर्दै मुलुकको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकारको मूल्य मान्यताविपरीत घृणा पैदा गर्ने अभिव्यक्ति सार्वजनिक भइरहेको भन्दै चिन्ता व्यक्त गरेको हो।
एमाले निकट युवा संघ र व्यापारी दुर्गा प्रसाईंद्वारा बिहीवार भएका प्रदर्शनका क्रममा एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको पाइएको आयोगले जनाएको छ।
‘यस प्रकारका घृणायुक्त गतिविधिहरू नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मूल्य, मान्यताविपरीत भएको आयोगको ठहर छ, विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना विमति र विरोधका कार्यक्रमहरू गर्दा संविधान, कानुन र मानवअधिकारका मूल्य मान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् यस प्रकारका पोस्टर तथा श्रव्यदृश्य सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाचन गर्न आयोग प्रदर्शनरत पक्षलाई आग्रह गर्दछ।’ यस्तै आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न सरकारलाई आग्रह गरेको छ।