चुनावअघि गठबन्धन गर्नु राजनीतिक भ्रष्टाचार हो : महामन्त्री थापा
गुल्मी : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावअघि गठबन्धन गर्नु राजनीतिक भ्रष्टाचार भएको बताएका छन्।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले निर्वाचन अगावै गठबन्धन गरेर चुनावमा होमिनु राजनीतिक भ्रष्टाचार भएको बताएका हुन्।
'देशमा नागरिकले आचारण र नेतृत्व बदल्न चाहेका छन्। त्यो सपना नेपाली कांग्रेसले पूरा गर्छ। संविधानले प्रत्याभूति गर्नेगरी नेपाली जनतालाई राज्यले निःशुल्क स्वास्थ्य र शिक्षा दिलाउनु पर्छ', महामन्त्री थापाले भने।
महामन्त्री थापाले सहकारी लघुवित्त र बैंकको २० लाख ऋण मिनाहाको माग गर्दै राजसंस्था खोज्दै केही सडकमा आएको बताए। राजसंस्था स्थापनाको माग राख्दै सडकमा आउनेहरू एक्लै कांग्रेस पार्टीसँग चुनाव लड्न उनले आग्रह गरे।
२०४८ सालमा बहुमत पाएको कांग्रेसले मध्यावधि निर्वाचन लगेर गल्ती गरिसकेको उनको भनाइ थियो। पार्टीमा भएका कमी कमजोरी औंल्याउँदै कांग्रेसले अब त्यस्तो गल्ती नगर्ने बताए।
अब केन्द्रबाट पार्टी चल्ने प्रथा अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले निर्वाचनको समयमा उम्मेदवार छनोट गर्दा केन्द्रबाट नभई स्थानीय स्तरबाट छान्ने व्यवस्था बनाइनुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस !