दुई उद्यमी सम्मानित

दुई उद्यमी सम्मानित
सुन्नुहोस्

सिन्धुपाल्चोक : परिवार धान्न मुस्किल परिरहेको अवस्थामा सानो लगानीबाट व्यवसाय सुरु गरेकी सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-८ कि परीमाया तामाङ अहिले सफल उद्यामी बनेकी छिन्। 

२०७३ सालमा एउटा सिलाई मेसिन खरिद गरी व्यवसाय सुरु गरेकी तामाङलाई अहिले काम गर्न भ्याइनभ्याई छ। ‘सुरुवाती चरणमा २०/२५ हजार रुपैयाँबाट सिलाई व्यवसाय सुरु गरेकी हुँ, त्यतिबेला मलाई परिवार चलाउन आर्थिक कारणले मुस्किल परिरहेको थियो’, उनले भनिन, ‘अहिले ग्राहकको काम गर्न भ्याइनभ्याई हुन्छ। २ सन्तानको पढाइ खर्च, घर खर्च कटाएर बचत पनि हुने गरेको छ।’

सानो लगानीबाट व्यवसाय सुरु गरेकी तामाङको व्यवसायीक दायरा बढेको छ। ‘घरेलु कार्यालयले सहुलियत रूपमा डिजिटल सिलाई मेसिन दिए पछि व्यवसायलाई थप सहज भयो’, अञ्जना टेलरिङ सेन्टर सञ्चालन गर्दै आएकी उनले भनिन्,‘अहिले व्यवसाय राम्रोसँग अगाडि बढेको छ।’ साना लगानीकर्तालाई राज्यले प्रोत्साहन गर्ने हो भने आत्मनिर्भर बन्न सकिने उनले बताइन्।

तामाङलाई घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले शनिबार नवौं उद्योग दिवसका अवसरमा सफल महिला उद्यमी-२०८० बाट सम्मान गरेको छ। उनीसँगै मेलम्ची नगरपालिका-१२ का कृष्णप्रसाद तिवारी सम्मानित भएका छन्। सिन्धु कृषि तथा पशु फर्म सञ्चालन गर्दै आएका तिवारी सफल पुरुष उद्यमी-२०८० बाट सम्मानित भएका हुन्।

दैनिक ६० लिटर दूध र ५० किलोभन्दा बढी तरकारी बिक्री गर्दै आएका उनले स्थानीय युवालाई रोजगारी समेत प्रदान गरेका छन्। ‘अहिले १० वटा भैंसी र तरकारी खेती गरिरहेको छु’, उनले भने, ‘योसँगै फर्मले स्थानीयको तरकारी र दूध संकलन गरी बजारीकरण पनि गरिरहेको छ।’ 

स्थानीय स्तरमै रोजगार र युवालाई उद्यमी बन्न आफू प्रयत्नशील रहेको उनले बताए। ‘साना उद्यमीको आवश्यकता अनुरूप सरकारले कार्यक्रम ल्याउने हो भने युवाहरू विदेशिनु पर्दैन’, उनले अनुभव सुनाए, ‘सानो लगानीबाटै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरणहरू प्रसस्तै छन् तर त्यस्ता उद्यम र उद्यमीहरूलाई सरकारले चासो दिएको देखिदैन।’ उद्यमीलाई प्रोत्सहान गर्न सरकारले कृषि, पशुक्षेत्रमा जनमुखी कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।

सो अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाका-५ का वडाध्यक्ष शिव श्रेष्ठले उद्योग व्यवसायका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले दिँदै आएको अनुदानहरूको सही सदुपयोग हुन नसकेको बताए। ‘साना व्यवसायलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले अनुदानको कार्यक्रमहरू ल्याएको छ’, उनले भने, ‘तर त्यस्ता कार्यक्रमहरूको सदुपयोग भन्दा बढी दुरुपयोग भएको पाइन्छ। त्यसलाई रोक्न प्रभावकारी अनुगमनको खाँचो छ।’

बजारिकरणको समस्याका कारण उद्यमी सफल हुन नसकेको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य उजारसिं तामाङले बजार व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई ध्यानाकर्षण गराए। ‘जबसम्म बजार व्यवस्थापन हुन सक्दैन साना उद्योगीहरू मारमा परिराख्छन्, त्यसका लागि स्थानीय सरकार जिम्मेवार हुन जरुरी छ’, उनले भने, ‘योसँगै साना व्यवसायीहरूले उद्योग सञ्चालन गर्दै कानुनी रूपमा धेरै झमेला बेहोर्नु परेको छ, यसतर्फ पनि ध्यान दिनुपर्दछ।’

नवौं उद्योग दिवसलाई सम्बोधन गर्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्लेले जिल्ला भरका उद्यमीलाई उद्योगी बनाउने र रोजगारको सृजना गर्न कार्यलय लागिपरेको बताए। ‘हामीले साना व्यवसायीहरूको विकासमा जोड दिँदै आएका छौं’, उनले भने, ‘उद्योगीहरूलाई प्रोत्साहन गर्न सहुलियत रूपमा आवश्यक सामग्री वितरण गर्नेदेखि उत्पादनलाई बढवा दिने योजना हामीले ल्याएका छौं।’ तर सानालाई नभई ठूलालाई हेरेर योजना बनाउने सरकारका प्रवृतिका कारण साना उद्यमीहरू मारमा परिरहेको उनले बताए।

कार्यक्रममा जिल्ला लघु उद्यम संघ, नागरिक समाज, उद्यमीहरूको सहभागिता थियो। सिन्धुपाल्चोकमा २० लाख रुपैयाँसम्म पुँजी रहेका ३ हजार ६ सय ४१ उद्योगहरू दर्ता भई सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। जसबाट ५ हजार भन्दा बढीले रोजगार पाइरहेको कार्यालयले तथ्यांक छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.