मेयरले खेलाडीलाई डेढ घण्टा कुराएपछि नेपालगन्ज म्याराथन विवादमा
प्रमुख अतिथिलाई कुर्नुपरेपछि खेलाडीले कीर्तिमान बनाउन सकेनन्।
नेपालगन्ज : नवौ संस्करणको नेपालगन्ज म्याराथनमा नयाँ कीर्तिमान बनाउने खेलाडीलाई आयोजकले लन्डन म्याराथनमा सहभागी गराउने अफर गरेको थियो। राम्रो गरे दुई जनासम्म खेलाडी लैजाने भन्दै प्रचार गरिएको थियो। धावकहरूका अनुसार नेपालगन्जको वीपी चोकबाट रत्नराजमार्गको चिल्लो कालोपत्रे रुटमा कोहलपुर चौराहादेखि उत्तरमा चार किलोमिटर बानियाभारसम्मको ४२.१९५ किलोमिटरको दूरी नेपालमै म्याराथनको सबैभन्दा राम्रो रुट हो।
खेलाडीमा उत्साह पनि थियो। लन्डन जानका लागि आयोजकले खेलाडीलाई कम्तीमा पनि दुई घण्टा २० मिनेटमा म्याराथन पूरा गर्नुपर्ने सर्कुलर गरेको थियो। एपीएफ क्लबका गोपीचन्द्र पार्कीले २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा म्याराथन पूरा गर्दै उपाधि जिते। जबकी पार्की छैठौ संस्करणका पनि विजेता हुन्। उनले साविक विजेता आर्मीका खड्गबहादुर खड्काभन्दा छिटो दौड पूरा त गरे। तर, उनले आफ्नै कीर्तिमान तोड्न सकेनन्। तीन वर्ष अघि उनले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा यो दूरी पूरा गरेका थिए।
पार्की मात्रै होइन, कुनै पनि खेलाडीले आयोजकले राखेकोजस्तो कीर्तिमान बनाउन सकेनन्। ‘६ : ३० बजे हामीलाई डाकिएको थियो। ८ बजे म्याराथन सुरु भयो। ७ बजे नै म्याराथन सुरु हुँदा २ घण्टा १८ वा १९ सेकेन्डमा मैले दूरी पूरा गर्न सक्थें। फर्कने बेलामा धेरै गर्मी भयो’, विजेता पार्कीले गुनासो गरे, ‘हामी वार्मअप गरेर बसिसकेका थियौं। कुरेर बस्दाबस्दा हाम्रो उर्जा नै सकियो। त्यसैले लक्ष्य अनुसार दौड्न सकेनौं। आयोजकको ठूलो कमजोरी रह्यो।’
आर्मीका खड्कबहादुर खड्काले आफ्नो विगतको कीर्तिमान भंग गरे। तर, दोस्रोमा चित्त बुझाउनु पर्यो। खड्काले २ घण्टा २२ मिनेट एक सेकेन्डमा दूरी पार गरेका थिए। गत वर्ष उनले २ घण्टा २० मिनेट २८ सेकेन्डमा दूरी पार गरेका थिए।
नवौं म्याराथनमा तेस्रो भएका एपीएफका किरणसिंह बोगटी पनि सातौ संस्करणका च्याम्पियन हुन्। बोगटीले २ घण्टा २५ मिनेट ४३ सेकेन्डमा दुरी पार गरेका थिए। जबकी उनले विजेता हुँदा २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गरेका थिए। उनले ब्यक्तिगत कीर्तिमान भने सुधार गरेका छन्। ‘सुरुमा त अधिकांश खेलाडी २ घण्टा १८ सेकेन्डकै रेञ्जमा दौडेका थिए। म पनि त्यही लयमा थिएँ। फर्कने बेलामा गर्मी भयो। लक्ष्य अनुसार दौडन कसैले पनि सकेनन्। तेस्रो हुने पक्कापक्की जस्तो देखेपछि मैले पनि जोडबल गरिनँ।’
एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता पाएको नेपालगन्ज म्याराथनका लागि शनिबार बिहान ६ : ३० बजे नै खेलाडीलाई वीपी चोकमा डाकिएको थियो। खेलाडी पनि पुगेका थिए। ७ : ५९ मा मात्र म्याराथन आरम्भ भयो। अर्थात खेलाडीलाई डेढ घण्टा सडकमा उभ्याएर दौड सुरु भयो। विजेताले म्याराथन पूरा गर्दा पनि झन्डै १० : ३० बजिसकेको थियो।
नेपालगन्जमा गर्मी चर्किसकेको थियो। धावक बोगटी बढी गर्मी हुने स्थानमा चाँडै म्याराथन सुरु गर्नुपर्ने बताउँछन्। उनले माल्दिभ्समा आफूले बिहान ३ बजे र ४ बजे नै म्याराथनमा दौडेको अनुभव सुनाए। ‘नेपालगन्जको मौसम अनुसार त बिहान कम्तीमा पनि ६ : ३० बजे नै म्याराथन सुरु भइसक्नु पर्ने हो। यसपटक निकै ढिलो सुरु भयो’, उनले भने।
नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङले खेलाडीलाई कुराएर ढिलो म्याराथन सुरु भएको स्वीकारे। ‘हामी प्राविधिकहरू त बिहान ४ बजे नै वीपी चोक पुगिसकेका थियौं। ६ : ३० बजे खेलाडीलाई बोलाएर वार्मअप गराएर ७ बजे सुरु गर्ने तयारी थियो। प्रमुख अतिथिलाई कुर्दाकुर्दै ढिलो सुरु भयो। कुनै पनि खेलाडीले कीर्तिमान बनाउन सकेनन्’, उनले यथार्थ दर्शाउँदै भने, ‘वार्मअप गरेका खेलाडीले समयमै दौडन नपाउँदा नतिजामा केही तलमाथि त हुन्छ नै।’
प्रमुख अतिथि नेपालगन्ज उप-महानगरपालिका मेयर प्रशान्त विष्ट थिए। ढिलोगरी मेयर विष्ट र अभिनेता राजेश हमालले कार्यक्रम उद्घाटन गरेका हुन्। यद्यपी अभिनेता हमाल भने समयमै पुगेका थिए।
उनले अन्तर्राष्ट्रिय रूपमा त खेलाडीलाई एक मिनेट पनि कुराउन नमिल्ने जिकिर गरे। अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा यसरी एक डेढ घण्टा कुराएर म्याराथन सुरु गर्दा मुद्दा नै दायर हुने गरेको र क्षतिपूर्ति दाबी गरेको खेलाडीहरू बताउँछन्।